भैरहवा, वैशाख ३१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगर नगर समितिद्वारा आयोजित कक्षा १, २ र ३ तहको अन्तरविद्यालय चित्रकला प्रतियोगितामा एआरडी न्यु मोर्डेल सेकेन्डरी स्कुलका छात्र अर्जित विश्वकर्माले प्रथम स्थान हासिल गरेका छन्।
प्रतियोगितामा सिद्धार्थ ज्ञान ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका छात्र मोहम्मद अरमान द्वितीय तथा टाइनी टडलर्स स्कलर्स एकेडेमी (युरोकिड्स) का युवान जैसवाल तृतीय भएका छन्।
त्यसैगरी, न्यू इरा सेकेन्डरी स्कुलकी मरियम मेहबिश र सनसाइन सेकेन्डरी स्कुलकी ऋद्धिमा कटवालले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा विद्यार्थीहरूले कला मार्फत आफ्नो सिर्जनशीलता, कल्पनाशक्ति र प्रतिभा प्रस्तुत गरेका थिए। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै आयोजकले उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।
कार्यक्रम बिहीबार सिद्धार्थनगर–३, खजहना स्थित टाइनी टडलर्स स्कलर्स एकेडेमी (युरोकिड्स) मा सम्पन्न भएको थियो।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा प्याब्सनका पदाधिकारी, विद्यालयका प्रतिनिधि तथा अभिभावकहरूको सहभागिता रहेको थियो।








