भैरहवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) सिद्धार्थनगर नगर समितिले विद्यालय आसपास सूर्तीजन्य, मादक तथा नशाजन्य पदार्थको बिक्री वितरण नियन्त्रण गर्न माग गर्दै विहिवार सिद्धार्थनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
नगरप्रमुख इस्तीयाक अह्मद खाँलाई बुझाइएको ज्ञापनपत्रमा विद्यालय वरपर खुला रूपमा पान, गुट्खा, सुर्तीजन्य पदार्थ, मदिरा, भेप, हुका लगायतका वस्तुको बिक्री वितरण बढ्दै गएको भन्दै यस्ता गतिविधिले विद्यार्थीको स्वास्थ्य, अनुशासन, नैतिक आचरण तथा भविष्यमा नकारात्मक असर पारिरहेको उल्लेख गरिएको छ । प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले यस विषयले अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनसमेत चिन्तित बनेको बताए । ज्ञापनपत्रमा विद्यालय पोसाकमै रहेका विद्यार्थीलाई समेत यस्ता वस्तु सहज रूपमा उपलब्ध भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।
प्याब्सनले विद्यालय वरपर कम्तीमा १०० मिटर क्षेत्रभित्र सूर्तीजन्य, मादक तथा नशाजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ । साथै नियम उल्लंघन गर्ने पसल तथा व्यवसायीमाथि कडा अनुगमन र कारबाही गर्नुपर्ने, नगर प्रहरी तथा सम्बन्धित निकायको सक्रिय समन्वयमा नियमित अनुगमन गर्नुपर्ने र विद्यालय, अभिभावक तथा समुदायसँग सहकार्य गरी जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने मागसमेत गरिएको छ ।
अध्यक्ष मल्लिकले भेप, हुका तथा नयाँ प्रकारका नशाजन्य वस्तुलाई स्पष्ट कानुनी दायरामा ल्याउन पनि आग्रह गर्दै यसअघि सिद्धार्थनगर नगरपालिकाले सुरु गरेको गुट्खा तथा सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रण अभियानलाई कडाइकाथ अगाडी बढाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्याप्सन सिद्धार्थनगरका कार्यसमिति, सल्लाहकार तथा विभिन्न शैक्षिक क्षेत्रका व्याक्तिहरुले विद्यार्थी तथा बालबालीकालाई सूर्तीजन्य, मादक तथा नशाजन्य पदार्थको बिक्रीले नराम्रो असर पारेको बताएका थिए । उनीहरुले यसलाई यथासक्य नियन्त्रण गर्न समेत आग्रह गरेका थिए ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुखले प्याब्सनको ज्ञापनपत्र बुझ्दै विद्यालय वरपर सूर्तीजन्य तथा नशाजन्य पदार्थ बिक्री नियन्त्रणका लागि नगरपालिका पहिलेदेखि नै सक्रिय रहेको बताएका छन् । उनले बीचमा केही समय अनुगमन कमजोर भए पनि अहिले पुनः कडाइका साथ अभियान अगाडि बढाइएको बताए । उनले प्याब्सनले उठाएको विषय विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको भन्दै यसलाई गम्भीर रूपमा लिइएको स्पष्ट पारे । उनले भने, “यसको लागि हामी पहिलेदेखि रोक लगाएका छौँ । बीचमा केही कारणले कार्यक्रम अलि कमजोर भयो । एक समय राम्रो अनुगमन भएको थियो, अहिले फेरि अनुगमनलाई तीव्र बनाएका छौँ । तपाईंहरूको माग मात्र होइन, यो जनताको पनि माग हो । विद्यार्थी भाइबहिनीहरूको भविष्यको विषय भएकाले यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्छौँ ।”
नगर प्रमुखले नगरपालिकाले यस विषयमा छलफल तथा बैठकसमेत गरिसकेको जानकारी दिँदै अब छिट्टै प्रभावकारी अनुगमन सुरु हुने बताए । उनले पान पसल तथा गुट्खा व्यवसायीहरूलाई पनि सामाजिक जिम्मेवारी बुझ्न आग्रह गरे । “केही व्यवसायीहरूले हाम्रो रोजगारी खोसियो भन्ने गुनासो गर्नुहुन्छ । तर विद्यार्थीहरू बर्बाद हुने, अभिभावक र शिक्षकलाई समस्या सिर्जना हुने तथा बालबालिकाको स्वास्थ्यमा खेलवाड हुने कामलाई प्रोत्साहन गर्न मिल्दैन,” उनले भने ।
नगर प्रमुखले राम्रो व्यवसायलाई नगरपालिकाले सहयोग गर्ने तर विद्यालय क्षेत्रलाई असर पर्ने गतिविधि सहन नसकिने स्पष्ट पारे । “नराम्रो चिजलाई प्रोत्साहन गर्नुहुँदैन । राम्रो काममा अवरोध भए भन्नुस्, नगरपालिका तपाईंहरूको साथमा छ,” उनले बताए ।
उनले आगामी आइतबार वा सोमबारदेखि नै विद्यालय वरपरको क्षेत्रमा अनुगमनलाई तीव्र बनाइने र त्यसको सकारात्मक नतिजा देखिने विश्वाससमेत व्यक्त गरे ।







