मष्तिष्कघात : समयमै अस्पताल पुगे निको हुन्छ

क्रिसमनमा पहिला जस्तै भए दुई बिरामी
गौतमबुद्ध सन्देश

भैरहवा । समयमै अस्पताल पुग्न सके मष्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई औषधीले नै पुनर्जीवन दिन्छ । मष्तिष्कघातकै कारण प्यारालाईसिस भएर जीवनभर दुःख पाउने अवस्था रहदैन । क्रिमसन अस्पताल मणिग्राममा मष्तिष्कघात भएका दुई बिरामी अहिले पुनर्जीवन पाएर घर फर्किएका छन् ।

तिलोत्तमा नगरपालिका वडा नं. ४ डिंगरनगरमा होटल व्यवसाय गर्दै आएका ४० बर्षिय दिलबहादुर हेम्जाली बिहान ९ बजेतिर घरमै साथीसँग फोनमा कुरा गर्दै थिए । बोल्दाबोल्दै मुखबाट ¥याल चुहिन थाल्यो, शरिर लल्याकलुलुक भयो । उनलाई साथीहरुले स्थानीय मेडिकल पसलमा पु¥याए । पसलेले क्रिमसन अस्पताल लैजान सुध्याए ।

एक घण्टाभित्रै क्रिमसन अस्पताल आइपुगेका हेम्जालीलाई डा.महेशराज घिमिरे, डा.समृद्ध मल्ललगायतको टीमले थम्बोलाइटिक एजेन्ट इन्जेक्शन दिएर उपचार शुरु गर्नुभयो । केहि दिन अस्पतालमै राखेर उपचारपछि हेम्जाली घर फर्किनुभएको छ ।

उहाँ अस्पताल आउँदा हात खुट्टा लुलो थियो, बोल्न पनि सक्नु हुन्थेन, उपचारमा संलग्न बरिष्ठ चिकित्सक डा.महेशराज घिमिरेले भन्नुभयो, -समयमै अस्पताल आएको हुनाले तुरुन्तै उपचार संभव भयो, ढीला भएको भए अहिलेको अवस्थामा ल्याउन सकिने थिएन ।’ डा. घिमिरेले ढीला अस्पताल आउने बिरामीलाई पूर्ववत् अवस्थामा आउन निकै कठीन हुने पनि जानकारी दिनुभयो ।

‘स्वास्थ्यमा सुधार आएको छ, औषधी भने खाइरहनु पर्छ,’-हेम्जालीले भन्नुभयो –‘अस्पताल समयमै पुग्न पर्ने रहेछ, नजिक भएकाले पनि होला मैले उपचार पाएँ ।’

नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पतालमै आएका बखत कपिलवस्तु नगरपालिका वडा नं. ७ धरमपानीका ४९ बर्षिय सलिम धुनियाँलाई मष्तिष्कघात भयो । ओपीडीमा डाक्टरको पर्खाईमा बस्दाबस्दै ढलेका धुनियाँलाई बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.लक्ष्मण दुवेले टेनेक्टेप्लेज औषधी प्रयोग गरी उपचार शुरु गर्नुभयो ।

मष्तिष्कघातबाट बोली लड्बडिएर दाहिनेतर्फको हात खुट्टा लुलो भएका धुनियाँ उपचार पछि स्वस्थ हुनुभएको छ । तीन दिनमै अस्पतालबाट घर फकिएका उहाँले पहिले जस्तै हिडडुल मात्र होइन, खेतीपातीको काम पनि गर्नुहुन्छ । उपचारपछि बोली पनि फर्कियो, हातखुट्टा पनि चले ।

मष्तिष्कघात हुनासाथ कम्तिमा सिटिस्क्यान र दक्ष चिकित्सक उपलब्ध रहेको अस्पतालमा ४ घण्टाभित्र पुग्न सके एकदमै राम्रो हुने डा.दुवे बताउनु हुन्छ । घरमै ढिलासुस्ती गर्ने वा सुविधायुक्त अस्पतालमा नजाँदा प्यारालाईसिस भएर बिरामीलाई जीवनभर उपचार र हेरचाह गर्नुपर्ने अवस्था आउने उहाँ बताउनुहुन्छ ।

के हो मष्तिष्कघात :

टाउको अर्थात मष्तिष्कको नशा फुटेर वा नशामा रगत बाक्लो जमेर जाम हुँदा मष्तिष्कघात हुन्छ । यसलाई चिकित्सकको भाषामा स्ट्रोक (Stroke) भनिन्छ ।

नशा फुटेर रगत जम्यो भने शल्यक्रियाबाट जमेको रगत निकाल्नुपर्छ । रगत बाक्लिएर नशा जाम भएमा रगत पातलो गराउने औषधीबाट उपचार गराउन सकिन्छ । यो अत्याधुनिक उपचार पद्धति हो । यसरी गरिने उपचारले बिरामीलाई दीर्घकालीन रुपमा प्यारालाईसिस हुनबाट बचाउँछ । यसको अनिवार्य शर्त मष्तिष्कघात भएको ४.३० घण्टाभित्र सिटिस्क्यान भएको अस्पताल र दक्ष चिकित्सकसमक्ष पुगिसक्नु पर्छ ।

मष्तिष्कघातका लक्षणहरु :

  • शरिरको सन्तुलन गुमाउने
  • आँखाको ज्योति कमजोर हुने
  • मुख बाँङ्गो हुने
  • बोली लर्बराउने
  • हात खुट्टा नचल्ने
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका