भैरहवा । सिद्धार्थनगर सिटी अस्पताल ले आर्थिक रूपमा विपन्न तथा स्वास्थ्य सेवामा पहुँच कम भएका बिरामीलाई लक्षित गर्दै ‘सुलभ उपचार कार्यक्रम’ सुरु गरेको छ।
अस्पतालले बुधबारदेखि लागू गरेको उक्त कार्यक्रम अन्तर्गत अब बिरामीहरूले सरकारी अस्पताल सरह वा सोभन्दा पनि सस्तो दरमा उपचार सेवा पाउने भएका छन्।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार कुनै पनि नागरिक केवल पैसाको अभावका कारण उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विभिन्न सेवामा ५० देखि ६० प्रतिशतसम्म छुट व्यवस्था गरिएको हो।
यस कार्यक्रममार्फत बिरामीलाई सस्तो, सहज तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै समयमै स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य लिइएको अस्पतालले जनाएको छ।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार विशेषज्ञ डाक्टर सेवा, बेड चार्ज, आईसीयू तथा एनआईसीयू सेवा, सीटी स्क्यान, एक्स–रे, ल्याब तथा अन्य उपचार सेवामा सहुलियत दर लागू गरिएको छ।
विशेष गरी असहाय, गरिब तथा स्वास्थ्य सेवामा कम पहुँच भएका वर्गलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालनमा ल्याइएको अस्पतालले स्पष्ट पारेको छ।
सिद्धार्थनगर सिटी अस्पताल ले यसअघि पनि न्युनतम शुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको र अबको कार्यक्रमले अझ व्यापक रूपमा सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ।





