रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सियारी गाउँपालिका–२ मा मृतक बेलर कहारको नाममा रहेको जग्गा कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी कायम गरिएको आरोपमा  विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

आयोगका अनुसार बेलर कहारको हकवालाको अधिकार मेट्ने उद्देश्यले फर्जी कागजात तयार गरी उनका भाइ भनेर बुद्धिराम कहारलाई जग्गाधनी कायम गरिएको पाइएको हो ।

अनुसन्धानका क्रममा मालपोत कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी, सियारी गाउँपालिका–२ का तत्कालीन वडा अध्यक्ष रामकिशन थारू, तत्कालीन वडा सदस्य वृजनारायण यादव तथा बुद्धिराम कहारबीच आपसी मिलेमतो रहेको देखिएको आयोगले जनाएको छ ।

जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–२ को कार्यालयबाट बुद्धिराम कहारलाई बेलर कहारको भाइ भनेर तयार गरिएको नाता प्रमाणित, सरजमिन मुचुल्का, चार किल्ला प्रमाणित र सिफारिससम्बन्धी कागजात फर्जी ठहर गर्दै बदर गरिसकेको थियो ।

आयोगका अनुसार बेलर कहारको नाममा रहेको २ बिघा ५ कठ्ठा जग्गा उनकी हक खाने छोरी सन्जु कहारको नाममा हक हस्तान्तरण नगरी बुद्धिराम कहारको नाममा कायम गराउन गलत विवरणसहित सरजमिन मुचुल्का तयार गरिएको थियो ।

त्यसका आधारमा सरकारी अभिलेखमा झुट्टा विवरण थपघट तथा हेरफेर गरी नामसारी दर्ता, श्रेस्ता र पूर्जा जारी गरिएको पुष्टि भएपछि संलग्न प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका