भैरहवा, ५ चैत । प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापा ले दिएको राजीनामालाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसैक्रममा रुपन्देहीका नारायण प्रसाद कोइराला ले थापालाई आत्मसमीक्षा गर्न सुझाव दिएका छन् ।
कोइरालाले सार्वजनिक गरेको सन्देशमा निर्वाचन पराजय केवल व्यक्तिगत हार नभई जनविश्वासमा आएको गिरावटको संकेत भएको उल्लेख गरेका छन् । उनले बहुमत महाधिवेशनपछि बनेको नेतृत्वले जनताको भरोसा कायम राख्न नसकेको प्रश्न उठाउँदै अब नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।
उनले “निर्वाचन केवल जित–हारको खेल मात्र नभई जनताको विश्वासको परीक्षा पनि हो” भन्दै पार्टीभित्र देखिएको निराशा र कमजोर मनोबलप्रति चिन्ता व्यक्त गरेका छन् । साथै, उनले करिब २० लाख मतदाताको विश्वास गुम्नु साधारण विषय नभएको उल्लेख गर्दै यसले पार्टी र नेतृत्व दुवैलाई गम्भीर बनाएको बताएका छन् ।
कोइरालाले पार्टी परिवर्तन र नेतृत्वको निरन्तरताबारे पनि प्रश्न उठाएका छन् । विगतमा पटक–पटक नेतृत्वमा पुगेका व्यक्तिहरू फेरि चुनावी प्रतिस्पर्धामा उत्रिनु उपयुक्त हो वा होइन भन्ने बहस आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै, उनले बीपी कोइरालाको मार्गदर्शन र आदर्शबाट पार्टी टाढिएको हो कि भन्ने प्रश्न उठाउँदै अब नयाँ पुस्ताको विश्वास जित्ने आधार तयार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सर्लाही–४ बाट उम्मेदवार बनेका थापा रास्वपाका अमरेशकुमार सिंह सँग पराजित भएका थिए । त्यसपछि उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।
कोइरालाले लेखेका छन् : गगन थापा राजिनामा दिनु पर्ने कारण के ?
१. भर्खर विशेष महाधिवेशन भयो यसलाई तह लगाउने हो ?
२. युवाहरुको जन विश्वास तपाईँमा थियो अब के हुन्छ ?
३. निर्वाचन भनेको जनताको सुन्दर पक्ष होइन र ?
४. के तपाईँ वर्षौंपछि र हतास मानसिकता बोकेको नेता हो ?
५. यो चुनावमा तपाईँ मात्र हारेको हो ?
६. यस्तो परिस्थितिमा पनि करिब २० लाख मतदाताको विश्वास बिर्सनु भो ?
७. तपाईँ र पार्टीलाई हराउन हामी साथीहरू कसरी पछि परेका होइन ?
८. पटक पटक पार्टीबाट प्रधानमन्त्री भएका सभापति चुनावमा भाग्नै होइन् ?
९. बि.पि./गणेशमानले देखाएको बाटो यही हो र ?
१०. चुनावमा हार्नु के नेतृत्वको आधार हो र ? तपाईँ त युवाको विश्वासको आधार हुनुपर्ने होइन र ?
— नारायण प्रसाद कोइराला, रुपन्देही








