भैरहवा । भैरहवामा जारी ‘भैरहवा दशैं महोत्सव–२०८३’ मा आज चर्चित डान्सर गंगु क्षेत्रीले प्रस्तुति दिने भएकी छन्। क्षेत्रीसँगै गायक अनिल दिवाना र सोनी डान्स ग्रुपको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।
लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा सिद्धार्थनगर–८, सुगरमिल रोड क्षेत्रमा सञ्चालन भइरहेको महोत्सवमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिसँगै भोजपुरी संगीत र नृत्यका कार्यक्रमसमेत समावेश छन्। खाद्य पदार्थ, कपडा तथा मनोरञ्जनसँग सम्बन्धित ५० भन्दा बढी स्टल राखिएका छन्।
दशैंको अवसरमा आयोजना गरिएको महोत्सवले भैरहवा तथा आसपासका क्षेत्रको व्यापारिक गतिविधि चलायमान बनाउनुका साथै नेपाली र भारतीय दर्शकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।
क्लबका अध्यक्ष तथा मेला मूल आयोजक समिति संयोजक नारायणप्रसाद कोइरालाका अनुसार महोत्सवबाट संकलित रकम सामाजिक सेवामा खर्च गरिनेछ। असोज २५ गतेदेखि सुरु भएको महोत्सव कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ।













