लघु कथा: स्वदेश

विजय सागर

चारैतिरबाट विदेशले घेरिएको एउटा सानो स्वदेश रहेछ । स्वदेश । हिमाल, पहाड, नदी नाला र सानो समतल मैदानले बनेको कृषिप्रधान सुन्दर देश रहेछ । तर स्वदेशका नदीनालाहरू स्वदेशकै अधिनस्थ रहेनछन् ।
कृषिप्रधान भए पनि विदेशमा कमाएर चामल, दाल, तेल लत्ता कपडा विदेशबाटै मगाएर खानु र लाउनु पर्ने त्यो स्वदेशमा समय अनुरूप अनेक शासन शैली फेरिएछन् । एक पटक एउटा बलिया शासक आएछन् । उनले घोषणा गरेछन्,
अब हाम्रा नदीनालाहरूमा पानी जहाज चल्नेछन् ।
अब हाम्रा समतल भूमिभरि रेलगाडी छक्‌छक् गर्नेछन् ।
अब हाम्रा घरघरका भान्साहरूमा ग्याँस पाइपहरू जडान गरिनेछन् ।
अब हाम्रा सब सडकहरूमा विजुलीका गाडीहरू गुड्नेछन् । स्वदेशभरि उद्योग, कलकारखाना प्रशस्तै खुल्नेछन् । खाद्यान्न, दलहन, तेलहन आदि स्वदेशमै उत्पादन हुनेछन् । स्वदेशमै रोजगार खुल्नेछन् ।
हामीले विदेशको कमाई स्वदेशमा खानु पर्ने छैन ।
बलिया शासकको भविष्यवाणी सत्य साबित भएछ । त्यो स्वदेशमा पानी जहाज, विजुली गाडी, रेलगाडी चल्न थालेछन् । घरघरमा ग्याँस पाइप जडान गरिएछन् । उद्योग, कलकारखाना खुलेछन् । खाद्यान्न, दलहन, तेलहन स्वदेशमै प्रशस्तै उत्पादन भएछन् । स्वदेशका बासिन्दाहरू कमाइ खान विदेश जानु परेनछ ।
मलाई त्यो महान स्वदेश घुम्ने रहर जाग्यो । महिनौ भयो त्यो महान स्वदेश, विश्व भूगोलको कुन भागमा पर्दछ एटलसमा खोजेको खोजै छु । पत्ता लगाउन सकिरहेको छैन ।
यहाँहरू कसैलाई ज्ञात छ कि ? कृपया जानकारी दिनु भए अनुगृहित हुने थिएं ।
२०७७ मार्ग १७ गते भैरहवा

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका