भैरहवा–दशैंको घटस्थापनादेखि भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ सञ्चालन हुने भएको छ । लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा आउदो असोज २५ गतेदेखि कात्तिक ६ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
महोत्सवबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक सँस्था लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण प्रसाद कोइरालाले भैरहवा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यहाँ दशैं महोत्सव आयोजना गर्न लागिएको बताए ।

‘सँस्कृति र परम्पराको जर्गेनापनि गर्ने र नगरलाई आर्थिक चलायमान बनाउनका लागि यो महोत्सवलाई उत्सवको रुपमा सञ्चालन गर्न लागिएको हो’ कोइरालाले भने, ‘महोत्सवबाट संकलित रकम क्लवको कोषमा राखेर सामाजिक सेवाका निम्ती खर्च गरिने छ ।’
भैरहवा भारतसँग सीमा जोडिएको क्षेत्र हुनुका साथै लुम्बिनीको प्रवेशद्वारका रूपमा समेत परिचित छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै भैरहवाको अन्तर्राष्ट्रिय पहिचान र सम्भावना थप विस्तार भएको आयोजकको भनाइ छ ।
भारतको दशहरा तथा नेपालीहरूको बडादशैंका अवसरमा भारतीय तथा स्वदेशी पर्यटकको उल्लेख्य आवागमन हुने भएकाले त्यसलाई मध्यनजर गर्दै महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।
महोत्सवले भैरहवा तथा आसपासका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको प्रचार–प्रसारसँगै स्थानीय व्यापार–व्यवसायलाई समेत टेवा पु¥याउने अपेक्षा गरिएको आयोजक सँस्था लायन्स क्लब अफ भैरहवा लिगेसीका सँस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता बढाई स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको उनले जनाए ।
२०८० सालमा पनि भैरहवामा पहिलोपटक सिद्धार्थनगर सांस्कृतिक मेला (महोत्सव) आयोजना गरी सफलता हासिल गरिएकदाबी आयोजकको छ । त्यसैको निरन्तरताका रूपमा यस वर्षको महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कलाकार, भोजपुरी तथा स्थानीय कलाकारहरूको सहभागिता रहने जनाइएको छ ।
भैरहवा, बुटवल, परासी, सैनामैना, लुमिबनी, तौलिहवा, शुद्धोधन, कञ्चन र भारतको सिमावर्ती नौतनवासम्मका बासीन्दालाई महोत्सवमा आकर्षित गर्ने खालका कार्यक्रम समावेश रहेको र खाद्य, कपडा र मनोरञ्जनसँग सम्बन्धित ५० भन्दा धेरै स्टल रहने जनाइएको छ ।
लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले महोत्सवको सफलताकालागि लुम्बिनी प्रेस क्लवकोपनि साथ रहने बताए ।













