भैरहवा । ७७ औं चिनियाँ राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज, लुम्बिनीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन नागरिकस्तरबाट हुने यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. सागर न्यौपानेले नेपाल र चीनबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा झोङ ह्वा मोनास्ट्रीका यान वु सी तथा कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक गु रुलको विशेष उपस्थिति रहेको थियो ।
नेपाल–चीन मैत्री समाजका अध्यक्ष मनिष कुमार जोशीले दुई देशबीचको सम्बन्ध केवल कूटनीतिक तहमा सीमित नरही जनस्तर, संस्कृति, शिक्षा, पर्यटन तथा आर्थिक क्षेत्रमा समेत विस्तार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले चिनियाँ राष्ट्रिय दिवसका अवसरमा चीन तथा चिनियाँ जनताप्रति शुभकामना व्यक्त गर्दै नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।
नेपाल–चीन मैत्री समाज, लुम्बिनीका अध्यक्ष मनिष कुमार जोशीको अध्यक्षता, उपाध्यक्ष खिमबहादुर खत्रीको स्वागत, सचिव दीपक गलामीको संचालन तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा समाजको कार्यालय परिसर, पुगताभूमि जेतवन विहार, भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।













