अनेसासको ८४औँ शृङ्खला सम्पन्न, सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले टोकियोमा विशेष कार्यक्रम आयोजना गरी आफ्नो ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न गरेको छ। अनेसासकी बोर्ड अफ ट्रस्टी सदस्य, अग्रज साहित्यकार तथा सितार वादक सुष्मा शाह ओमाताको ८४औँ वर्ष प्रवेश र संस्थाको ८४औँ शृङ्खलाको दुर्लभ संयोग पारेर आयोजित कार्यक्रममा उनलाई ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान–२०८३’ प्रदान गरिएको छ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा विस्तारमा सुष्मा ओमाताले पुर्‍याउँदै आएको अनवरत योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको अनेसास जापानले जनाएको छ।

संस्थाका सदस्य विश्वबन्धु भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम पानसमा बत्ती बालेर नेपाली राष्ट्रिय गानसँगै उद्घाटन गरिएको थियो। सुष्मा ओमाताको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै माधव पौडेलले स्वस्तिवाचन गर्नुभएको थियो।

अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता तथा संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास, टोकियोका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले सुष्मा ओमातालाई ‘जिउँदो इतिहास’ का रूपमा उल्लेख गर्दै उनको सम्मानमा समर्पित कार्यक्रमको प्रशंसा गर्नुभयो।

एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले सुष्मा ओमातालाई प्रदान गरिएको सम्मान सम्पूर्ण जापानवासी नेपाली समुदायको सम्मान भएको बताउँदै अनेसास जापानप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमकी प्रमुख वक्ता यशोदा बस्नेतले ओमाताको व्यक्तित्व र योगदानका विविध आयाममाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा सुष्मा ओमाताको जीवनका विभिन्न पाटा र अनुभूतिबारे समाजसेवी सालिकराम भण्डारी, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ तथा इन्दिरा सुजुकीले आफ्ना अनुभव र धारणा प्रस्तुत गर्दै उनको दीर्घायुको कामना गर्नुभएको थियो। शरद पोख्रेलले ‘सुष्मा शाह ओमाता : कला र साहित्यको शताब्दीनजिकको यात्रा’ शीर्षकमा ओमाताको जीवनी प्रस्तुत गर्नुभएको थियो।

जापानमा बिताएको पाँच दशकभन्दा लामो जीवनयात्राको अनुभव सुनाउँदै सम्मानित स्रष्टा ओमाताले आफ्ना सङ्घर्ष र सफलताका प्रसङ्ग प्रस्तुत गर्नुभएको थियो। उहाँले विभिन्न प्रेरणादायी तथा रोचक घटनाक्रम साझा गर्दै आफूलाई प्रदान गरिएको प्रेम र सम्मानका लागि अनेसास जापानप्रति आभार व्यक्त गर्नुभयो।

प्रमुख अतिथि डा. कुमार बस्नेतले नेपाली भाषा, साहित्य र संस्कृतिप्रति सुष्मा ओमाताको गहिरो प्रेम र समर्पणको मुक्तकण्ठले प्रशंसा गर्दै उनको थप सक्रियता तथा सुस्वास्थ्यको कामना गर्नुभयो।

कार्यक्रममा करिब १२० जनाभन्दा बढीको सहभागिता रहेको थियो। करिब दुई दर्जन स्रष्टाले आफ्ना रचना वाचन गर्नुका साथै शुभकामना मन्तव्यसमेत राख्नुभएको थियो। रचना वाचन तथा मन्तव्य प्रस्तुत गर्नेहरूमा प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, अरुण पौडेल, श्रवण सत्याल, बैकुण्ठ भट्ट, धिषण निरौला, ग्रिष्मा पौड्याल, सुजाता शर्मा, शिवराज राई, सविना रेग्मी, हेमन्त गिरी, मिनराज बास्तोला, मञ्जु गिरी, लक्ष्मी राई, गंगा गगन, निरज पाण्डे र समुन्द्र पौडेललगायत रहनुभएको थियो।

अनेसास जापानका पूर्वअध्यक्ष बेलुकाजी थापाले नेपालबाट लेखेर पठाउनुभएको सुष्मा ओमाताको सम्मानमा समर्पित कविता पनि कार्यक्रममा वाचन गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति कार्यक्रम संयोजक दीपा घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो। संस्थाका महासचिव मनोज मौसम केसीले पहिलो सत्र र सचिव यमलाल कँडेलले दोस्रो सत्र सञ्चालन गर्नुभएको थियो। सचिव विनिशा सापकोटाको आवाजमा सुष्मा ओमाताको जीवनी समेटिएको श्रव्य–दृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा धौलागिरी भजन समूहले सुष्मा ओमाताको सम्मानमा भजन–कीर्तन प्रस्तुत गरेको थियो। सभापति तथा अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीले उपस्थित सम्पूर्णप्रति आभार व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका