समाजसेवा, नेतृत्व विकास र आपसी भाइचारा अभिवृद्धिलाई प्राथमिकता दिँदै लायन्स क्लब अफ भैरहवा लिगेसीले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । क्लबका संस्थापक सचिवसमेत रहनुभएका नारायणप्रसाद कोइराला हाल लायन्स वर्ष २०२६/२७ का लागि अध्यक्ष हुनुहुन्छ । आफ्नो कार्यकालमा वातावरण संरक्षण, स्वास्थ्य, रक्तदान, युवा सचेतना तथा विपद् प्रभावितलाई सहयोगलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको उहाँ बताउँनुहुन्छ । नेतृत्वलाई चुनौतीभन्दा अवसरका रूपमा लिने कोइराला टिमवर्क र सकारात्मक सोचलाई संस्थागत सफलताको आधार मान्नुहुन्छ । उहाँलाई यसै विषयमा रहेर पाँच प्रश्न सोधेका छौ । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः
१. लायन्स क्लब अफ भैरहवा लिगेसीमा आबद्ध हुनुको उद्देश्य के हो ?
लायन्स क्लब अफ भैरहवा लिगेसी लायन्स इन्टरनेसनलसँग आबद्ध सामाजिक संस्था हो । हरेक सामाजिक संघसंस्थाको मूल उद्देश्य समाजसेवा गर्नु हो । लायन्स क्लब विश्वकै ठूलो सामाजिक संस्थामध्ये एक हो, जसले विपद्का बेला तत्काल उद्धार तथा सहयोगका साथै समाजसेवाका विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । यसले समाजसेवाका विभिन्न आठवटा विधालाई आफ्नो लक्ष्य बनाएर निरन्तर सेवा गरिरहेको छ ।
म लायन्स क्लव अफ भैरहवा लिगेसीमा आबद्ध हुनुका मुख्य कारण पनि समाजसेवा, नेतृत्व विकास र आपसी भाइचारा अभिवृद्धि गर्नु नै हो । मानवसेवासँगै पशुचौपायाको संरक्षण, वातावरण संरक्षणलगायतका क्षेत्रमा समेत योगदान पुर्याउने उद्देश्यले क्लबमा आबद्ध भएको हुँ ।
२. तपाईंको कार्यकाल कसरी अगाडि बढिरहेको छ ?
म लायन्स क्लब अफ भैरहवा लिगेसीको संस्थापक सचिवसमेत हुँ । हाल लायन्स वर्ष २०२६/२७ का लागि अध्यक्षको जिम्मेवारीमा छु । मेरो अध्यक्षीय कार्यकाल जुलाई १ देखि सुरु भएको हो र करिब दुई महिना पूरा भएको छ । छोटो अवधिमै विभिन्न महत्वपूर्ण सामाजिक गतिविधि सञ्चालन गर्न सफल भएका छौँ ।
वातावरण संरक्षणअन्तर्गत तिनाउ माध्यमिक विद्यालय, बेथरी, दुईमुहान मर्चवार र पड्सरीमा विभिन्न जातका फलफूल तथा अन्य रुखका करिब १४७ बिरुवा रोपेका छौँ । बिरुवा रोपेर मात्र छाडेका छैनौँ, तिनको नियमित रेखदेख, गोडमेल र संरक्षणमा पनि ध्यान दिएका छौँ । क्लबको स्थापना दिवसका अवसरमा तिलोत्तमास्थित दृष्टिविहीन तथा अनाथ आश्रमलाई करिब ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थियौँ । एरिया–५ ले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनायौँ । भीम अस्पतालमा उपचाररत बिरामीलाई फलफूल तथा जुस वितरणलगायतका कार्यक्रम पनि सञ्चालन गर्यौ । युवामा देखिएका सामाजिक, मानसिक, साइबर तथा लागुऔषधसम्बन्धी समस्याबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नमुना ई.बो. स्कुलमा युवाकेन्द्रित कार्यक्रमसमेत सम्पन्न गरेका छौँ । पछिल्लो समय रसुवालगायतका क्षेत्रमा आएको प्राकृतिक विपत्तिका पीडितका लागि पनि सहयोग रकम हस्तान्तरण गरेका छौँ ।
आगामी दिनमा क्लबको आर्थिक तथा संस्थागत क्षमता अभिवृद्धि गर्दै समाजसेवाका थप क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
३. सामाजिक संस्थाको नेतृत्व गर्न कत्तिको जटिल हुँदो रहेछ ?
मैले नेतृत्वलाई जटिलताभन्दा पनि अवसरका रूपमा लिएको छु । लायन्समा आबद्ध भएको करिब पाँच वर्षमै एउटा क्लबको नेतृत्व गर्ने अवसर पाउनु मेरा लागि महत्वपूर्ण उपलब्धि हो । अवश्य पनि संस्थागत रूपमा केही चुनौती र जटिलता आउँछन् । तर ती चुनौतीलाई सकारात्मक सोचका साथ समाधान गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । सकारात्मक सोचले जटिल परिस्थितिलाई सहज बनाउन र समस्याको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्छ ।
४. टिमवर्कलाई कसरी लिनुभएको छ ?
टिमवर्क आफैँमा अत्यन्त महत्वपूर्ण कुरा हो । कुनै पनि ठूलो काम एक्लैले सम्भव हुँदैन । सबैको सहकार्य, समन्वय र सहभागिताबाट ठूला काम पनि सहज रूपमा सम्पन्न गर्न सकिन्छ ।
म पनि टिमवर्कमा विश्वास गर्ने व्यक्ति हु। त्यसैले क्लबका प्रत्येक सदस्यलाई कुनै न कुनै जिम्मेवारी दिने र योजना निर्माण गर्नुअघि सबैसँग छलफल गर्ने गरेको छु । अहिलेसम्म क्लबका कुनै पनि गतिविधि टिमभन्दा बाहिर गएर एक्लै गर्ने प्रयास गरेको छैन । यसकै परिणामस्वरूप क्लबका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन् र सदस्यहरूको निरन्तर सहयोग प्राप्त भएको छ । यसका लागि क्लबका सम्पूर्ण सदस्यप्रति म आभारी छु ।
५. क्लब तथा संघ–संस्थामा किन आबद्ध हुनुपर्छ ?
मानिस सामाजिक प्राणी भएकाले समाजमा घुलमिल भएर बस्न चाहन्छ। संघसंस्थामा आबद्ध हुनुको एउटा महत्वपूर्ण कारण यही हो । विभिन्न संघसंस्थामा जोडिँदा एकअर्काको सुख–दुःखमा साथ र सहयोग गर्ने वातावरण बन्छ । त्यसका साथै विभिन्न भाषा, भेषभूषा, संस्कृति, चाडपर्व तथा परम्पराबारे बुझ्ने र अनुभव गर्ने अवसर प्राप्त हुन्छ । यसले अरूको संस्कृति र परम्प्रतिप्रति सम्मान तथा आपसी भाइचारा बढाउन मद्दत गर्छ ।
लायन्सको कुरा गर्दा यसको दायरा अझ व्यापक छ । यसले विश्व समुदायसँगको सम्बन्ध र सामीप्यता बढाउने अवसर दिन्छ । ‘विश्व नै एक परिवार हो’ भन्ने भावना विकास हुन्छ । हाम्रो देशमा विपत्ति पर्दा अन्य देशका लायन्स सदस्यबाट सहयोग प्राप्त हुन सक्छ भने विदेशमा विपत्ति पर्दा हामीले पनि सहयोग गर्न सक्छौँ । मानवीय सेवा, आपसी सहयोग, भाइचारा र विश्वव्यापी सम्बन्ध विस्तारका लागि पनि संघसंस्थामा आबद्ध हुनु आवश्यक छ भन्ने मेरो विश्वास छ ।
प्रस्तुतीः विष्णु भट्टराई










