रुपन्देही, ६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित गौतम बुद्ध माध्यमिक विद्यालयको शिक्षक–अभिभावक संघको सदस्य पदमा विनोद बिसी निर्वाचित हुनुभएको छ ।
विद्यालयको शिक्षक–अभिभावक संघमा पहिलोपटक लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै बिसी सदस्यमा निर्वाचित हुनुभएको हो ।
बिसी सिर्जनशील संस्था नेपालका कार्यसमिति सदस्य हुनुका साथै संस्थाअन्तर्गत सञ्चालित बाल आश्रममा स्वयंसेवकका रूपमा सक्रिय हुनुहुन्छ । उहाँले लामो समयदेखि बेवारिसे तथा सडक बालबालिकाको संरक्षण, हेरचाह, शिक्षा तथा अधिकारका क्षेत्रमा अभिभावकीय भूमिकामा रहेर काम गर्दै आउनुभएको छ ।
बिसीलाई यस स्थानसम्म पुग्नका लागि सिर्जनशील संस्था नेपालका संस्थापक अध्यक्ष, सम्पूर्ण कर्मचारी तथा कार्यसमिति सदस्यहरूको निरन्तर सहयोग, हौसला र मार्गदर्शन महत्वपूर्ण रहेको संस्थाले जनाएको छ । संस्थाले बिसीको सामाजिक क्षेत्रमा सक्रियता, नेतृत्व क्षमता र समुदायप्रतिको योगदानलाई प्रोत्साहन गर्दै आएको बताइएको छ ।
बिसीले आफ्नो नयाँ जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै विद्यालय, अभिभावक, विद्यार्थी तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले बालबालिकाको शिक्षा, संरक्षण, अधिकार र समावेशी वातावरण निर्माणमा आफ्नो भूमिकालाई केन्द्रित गर्ने बताउनुभयो ।
सिर्जनशील संस्था नेपालका संस्थापक अध्यक्ष, कर्मचारी तथा कार्यसमितिले बिसीलाई बधाई दिँदै उहाँको कार्यकाल सफल र उपलब्धीमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । बिसी निर्वाचित भएपछि विद्यालयमा समावेशी प्रतिनिधित्व र विविध समुदायको सहभागीताका दृष्टिले महत्वपूर्ण उपलब्धीका रूपमा लिइएको छ ।










