नागरिक सचेतक समाज सिद्धार्थनगर रुपन्देहीले यहि भदौ १० गते भोटेकोशी रसुवागढीमा आएको बाढीमा परी ज्यान गुमाउने नागरिकहरुको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको छ ।
भैरहवाको बुद्धचोकमा शनिवार साँझ बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो । १० गतेको बाढीमा परी अहिलेसम्म एक हजार तीन सय भन्दा बढीको मृत्यु भएको छ भने झण्डै पाँच हजार जना हराइरहेका छन् ।
रसुवा, नुवाकोट, धादिङ्गलगायतका जिल्लाका नदी किनारमा बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।
बाढीमा परी ज्यान गुमाउनेहरुको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सो अवसरमा समाजका संयोजक नारायण सापकोटाले बाढीमा परी बेपत्ता भएका नागरिकको खोजबिन तथा उद्धार गर्न र विस्थापित नागरिकलाई पुनस्र्थापित गर्न सरकारसँग माग गर्नुभयो ।
सो अवसरमा भैरहवा क्षेत्रका अगुवा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । बि.सं. २०६३ सालमा गठीत नागरिक सचेतक समाजको शनिवार नै पुनर्गठन पनि गरिएको छ । पुनर्गठित समितिमा संयोजक नारायण सापकोटा, सचिव कुलमणि ज्ञवाली, कोषाध्यक्ष शेषनारायण भण्डारी रहनु भएको छ भने सदस्यहरुमा डा.गितु गिरी, डा.दामोदर ढकाल, डिल्लीराज भट्टराई, कुलानन्द ज्ञवाली, भीष्म पन्थी, तारापति भण्डारी, लक्ष्मीप्रसाद शर्मालगायत रहनु भएको छ ।
राष्ट्र, राष्ट्रियता, नागरिक अधिकार र न्यायिक सर्वोच्चताको लागि नागरिक सचेतक समाजलाई सक्रिय बनाउन आगामी दिनमा कार्ययोजना बनाउने निर्णय पनि गरिएको छ ।










