घाँसदान अभियानले पूरा गर्‍यो १७ औँ हप्ता

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाका युवाहरूले गौशालामा रहेका गाईगोरुको संरक्षण र आहार व्यवस्थापनका लागि सञ्चालन गरेको ‘घाँसदान अभियान’ले १७ औँ हप्ता पूरा गरेको छ। स्थानीय युवा रुपेश ढकालको पहलमा सुरु भएको अभियानले अहिले घाँस संकलन र आहार व्यवस्थापनमा मात्र सीमित नभई गौशालामा रहेका गाईगोरुका लागि सफा पिउने पानी, स्वास्थ्य उपचार तथा दीर्घकालीन पूर्वाधार निर्माणको अभियानका रूपमा विस्तार हुने तयारी गरेको छ।

कपिलवस्तुको कोठी खोला नजिकै रहेको गौशालामा रहेका गाईगोरुको अवस्था देखेपछि सैनामैनाका युवाहरू सहयोगका लागि जुटेका हुन् । उक्त गौशालामा उचित व्यवस्थापन र आवश्यक स्रोतसाधनको अभावका कारण गाईगोरुको आहार तथा पानी व्यवस्थापनमा समस्या देखिएको थियो। अहिले गौशालामा करिब ६० वटा गाई रहेका छन् ।

अभियानको सुरुआत गौशालामा रहेका गाईगोरुले पर्याप्त घाँस नपाएको अवस्थाबाट भएको थियो। गाईगोरुका लागि दैनिक आवश्यक पर्ने हरियो घाँसको अभाव देखिएपछि रुपेश ढकालको पहलमा युवाहरूले हरेक शनिबार ‘घाँसदान अभियान’ सञ्चालन गर्न थालेका हुन्। अभियानअन्तर्गत युवाहरू सैनामैनाका विभिन्न टोलमा पुगेर स्थानीयवासीले उपलब्ध गराएको घाँस संकलन गरी गौशालासम्म पुर्‍याउने गरेका छन् ।

स्थानीय दिदीबहिनीहरूले घरआँगन, खेतबारी तथा आसपासका स्थानमा उपलब्ध घाँस काटेर घरअगाडि वा संकलन गर्न सहज हुने स्थानमा राखिदिने गरेका छन् । त्यसपछि अभियानमा सहभागी युवाहरूले छोटा हात्ती तथा ट्र्याक्टरमा घाँस लोड गरी गौशालासम्म पुर्‍याउने गरेका छन् । यसरी घरघरबाट संकलन भएको सानो–सानो सहयोगले गौशालामा रहेका दर्जनौँ गाईको आहार व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको अभियानकर्ताहरूले बताएका छन् ।

अभियानको १७ औँ हप्तामा सैनामैनाका विभिन्न स्थानबाट घाँस संकलन गरिएको थियो । यस क्रममा सैनामैनास्थित पररोहा माध्यमिक विद्यालय परिसरबाट समेत घाँस संकलन गरिएको थियो। यस हप्ता मात्रै चार गाडी घाँस संकलन गरी गौशालासम्म पुर्‍याइएको अभियानले जनाएको छ।

गौशालामा पुगेका युवाहरूले घाँसको अभावसँगै गाईगोरुका लागि सफा पिउने पानीको समेत गम्भीर समस्या रहेको पाएपछि पानी व्यवस्थापनमा पनि पहल गरेका छन् । गौशालामा रहेको बोरिङ करिब दुई महिनादेखि बिग्रिएको अवस्थामा थियो। बोरिङ बिग्रिएपछि त्यसको मर्मत तथा वैकल्पिक पानी व्यवस्थापनमा कसैको प्रभावकारी ध्यान नपुग्दा गौशालामा रहेका गाईहरू फोहोर पानी पिउन बाध्य भएको अवस्था युवाहरूले प्रत्यक्ष देखेका थिए ।

सोही अवस्था देखेपछि युवाहरूले तत्काल पहल गरी सफा पिउने पानीको व्यवस्था गर्न सक्रियता देखाएका हुन्। युवाहरूको पहलमा पिताम्बर पोखरेलले सहयोग गर्दै गौशालामा नयाँ सबमर्सिबल मोटर जडान गरिदिनुभएको छ। नयाँ मोटर जडान भएपछि अहिले गौशालामा रहेका गाईहरूका लागि सफा पिउने पानीको व्यवस्था भएको अभियानकर्ताहरूले बताएका छन् ।

बोरिङ बिग्रिएर लामो समयदेखि गाईहरू फोहोर पानी पिउन बाध्य भएको अवस्थामा युवाहरूको सक्रियता र वस्तुगत सहयोगबाट पानीको समस्या समाधान हुनु अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अभियानकर्ताहरूका अनुसार गाईगोरुको संरक्षणका लागि घाँस उपलब्ध गराउनु मात्र पर्याप्त नहुने भएकाले स्वच्छ पानी, उचित बसोबास र नियमित स्वास्थ्य उपचारलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको छ ।

अभियानले आगामी दिनका लागि चार चरणको योजना समेत अघि सारेको छ। पहिलो चरणअन्तर्गत गौशालामा रहेका गाईगोरुलाई पर्याप्त घाँस र आवश्यक आहारको नियमित व्यवस्था गर्ने लक्ष्य राखिएको छ। हाल सञ्चालन भइरहेको घाँसदान अभियान यही चरणअन्तर्गत केन्द्रित रहेको छ।

दोस्रो चरणमा गाईगोरुका लागि सफा पिउने पानीको दिगो व्यवस्था गर्ने योजना रहेको छ। बिग्रिएको बोरिङका कारण उत्पन्न समस्या युवाहरूको पहलमा नयाँ सबमर्सिबल मोटर जडान गरेर तत्कालका लागि समाधान गरिएको भए पनि पानीको दीर्घकालीन व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानको लक्ष्य रहेको छ।

तेस्रो चरणअन्तर्गत गाईगोरुको संरक्षण तथा घाँस भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने योजना बनाइएको छ। वर्षायाममा पर्याप्त पाइने घाँसलाई उचित रूपमा भण्डारण गरी अन्य समयमा प्रयोग गर्न सकिने व्यवस्था मिलाउने तथा गाईगोरुका लागि सुरक्षित र व्यवस्थित संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

चौथो चरणमा गौशालामा रहेका गाईगोरुको नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गरिनेछ। भेटनरी डाक्टर तथा प्राविधिकहरूसँग समन्वय गरी गाईगोरुको स्वास्थ्य अवस्था नियमित रूपमा परीक्षण गर्ने, आवश्यक उपचार उपलब्ध गराउने तथा रोग लाग्न नदिन आवश्यक स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना रहेको अभियानकर्ताहरूले बताएका छन् ।

अभियानको अर्को विशेषता भनेको नगद सहयोग नलिइनु हो। अभियानकर्ताहरूले प्रत्यक्ष रूपमा गाईगोरुको हितमा प्रयोग हुने वस्तुगत सहयोगलाई मात्र प्राथमिकता दिएका छन् । घाँस, दाना, पानी व्यवस्थापनका सामग्री तथा गौशालामा आवश्यक पर्ने अन्य वस्तु सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अभियानसँग सहकार्य गर्न सक्नेछन् ।

अभियानका अभियन्ता रुपेश ढकालका अनुसार गौशालामा रहेका गाईगोरुको संरक्षण सबैको साझा दायित्व भएकाले समुदायको सानो–सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। वस्तुगत सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले ९८६६६१७०८८ नम्बरमा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो ।

हरेक शनिबार नियमित रूपमा सञ्चालन भइरहेको अभियानमा युवाहरूले आफ्नो समय र श्रम स्वेच्छाले लगानी गर्दै आएका छन् । कोही टोलटोलमा पुगेर घाँस संकलन गर्ने, कोही सवारीसाधनको व्यवस्था गर्ने, कोही घाँस लोड तथा अनलोड गर्ने र कोही गौशालासम्म पुर्‍याउने काममा खटिने गरेका छन् । स्थानीय समुदायले समेत घरआँगनमा उपलब्ध घाँस सहयोग गर्न थालेपछि अभियानले व्यापक सामाजिक सहभागिता पाउँदै गएको छ ।

१७ औँ हप्तासम्म निरन्तर अभियान सञ्चालन हुनु आफैँमा समुदायको सहकार्य र युवाहरूको प्रतिबद्धताको उदाहरण बनेको छ। घाँस अभावमा रहेका गाईगोरुका लागि आहारको व्यवस्था, दुई महिनादेखि बिग्रिएको बोरिङको समस्या समाधान गरी सफा पिउने पानीको व्यवस्था तथा आगामी दिनका लागि स्वास्थ्य र पूर्वाधार सुधारको योजना अघि सार्नुले अभियानलाई केवल एकदिने सामाजिक कार्यभन्दा फराकिलो बनाएको छ।

कुनै पनि सामाजिक समस्या समाधानका लागि सरकार वा सम्बन्धित निकायको मात्र प्रतीक्षा नगरी नागरिक र विशेषगरी युवाहरू स्वयं अग्रसर भए परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण सैनामैनाका युवाहरूले प्रस्तुत गरेका छन् । घरघरबाट एक मुठ्ठी घाँस, समुदायबाट प्राप्त वस्तुगत सहयोग र युवाहरूको श्रमले कपिलवस्तुको कोठी खोला नजिकै रहेको गौशालामा रहेका ६० वटा गाईको जीवन सहज बनाउन सहयोग पुर्‍याइरहेको छ।

‘घाँसदान अभियान’ अहिले केवल घाँस संकलन गर्ने अभियान मात्र नभई मानवीय संवेदना, सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा विकसित हुँदै गएको छ। आगामी दिनमा अभियानका चारवटै चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए गौशालामा रहेका गाईगोरुको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका