काठमाडौंका सुकुम्बासी बस्तीमा सरकारी डोजर चलिरहँदा पोखराका सुकुम्बासी आन्दोलनमा उत्रिएका छन्।
काठमाडौंमा सुकुम्बासीको उचित व्यवस्थापन नगरी अत्यधिक बल प्रयोग गरेर डोजर चलाइएको भन्दै विरोधस्वरूप पोखराका सुकुम्बासी सडकमा निस्किएका हुन्।
उनीहरूले अब आन्दोलन जारी राख्ने उद्घोष गरेका छन्।
पोखरा महानगरले पनि पृथ्वीचोक लगायतका स्थानका सरकारी तथा सार्वजनिक जमिनमा बसोबास गरिरहेका व्यक्ति तथा संस्थालाई ३५ दिनभित्र हट्न वैशाख ४ गते सूचना निकालेको थियो।
त्यसको विरुद्ध आन्दोलनमा उत्रिएको सुकुम्बासी अगुवाहरूले बताएका छन्।
उनीहरूले काठमाडौं लगायत देशभर सुकुम्बासी बस्तीमा डर, त्रास र आतंक फैलाएको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन्।
सडकका विरोध जुलुसपछि भएको कोणसभामा भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीका सल्लाहकार अर्जुन कार्कीले सरकारले भुटानी शरणार्थी र तिब्बती शरणार्थीको सुरक्षा गरे पनि यही देशका नागरिक सुकुम्बासीको सुरक्षा नगरेको बताए।
सुकुम्बासी बस्तीमा डोजर चलाउनुअघि नागरिकता खारेज गरेर देखाउन पनि उनले चेतावनी दिए।
‘भुटानी र तिब्बती शरणार्थीको सुरक्षा गर्ने यो देशले हामी सुकुम्बासीको नगर्ने हो भने हाम्रो नागरिकता खारेज गर्नुपर्छ, कि यो देशले हाम्रो सुरक्षा गर्नुपर्छ,’ उनले भने।








