कपिलवस्तुको शिवराज नगरपालिकास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०८१/०८२ को कारोबारमा अनियमितता भएको उजुरीपछि अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, चन्द्रौटा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट अमित पाण्डेय, अस्पतालको फार्मेसीका कर्मचारी रुक्सना खातुन, नेपाल बैंक लि. चन्द्रौटाका क्यासियर कमल प्रसाद भण्डारी र नेपाल बैंकको मणिग्राम शाखाका कार्यालय सहयोगी तथा तत्कालिन चन्द्रौटा शाखामा कार्यरत बिक्रम केसी पक्राउ परेका हुन् । उनीहरुले अस्पतालको ३८ लाख ११ हजार ७ सय ७० रुपैयाँ हिनामिना गरिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्री गरी संकलन भएको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्नुपर्ने भए पनि विभिन्न मितिका १२९ वटा नक्कली बैंक भौचर बनाएका थिए ।
पक्राउ परेकाहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिपेन्द्रकुमार सिंहले जानकारी दिए । सरकारी अस्पतालको आम्दानी व्यवस्थापनमा संलग्न कर्मचारी र बैंक कर्मचारीबीच मिलेमतो भएको आशंकामा अनुसन्धान भइरहेको सिंहले बताए ।
शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले अस्पतालको रकम हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।








