भैरहवा, वैशाख २९ । चेम्बर अफ कमर्स, रुपन्देहीले नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गरेको भन्दै स्वागतयोग्य रहेको जनाएको छ।
चेम्बरका अध्यक्ष सचिन रोक्काद्वारा जारी धारणा पत्रमा वर्तमान आर्थिक मन्दी, घट्दो लगानी, उद्योग–व्यवसायमा देखिएको संकुचन तथा युवाशक्तिको पलायनको अवस्थाबीच प्रस्तुत नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उत्साहित बनाएको उल्लेख गरिएको छ।
चेम्बरले उच्च प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने, औद्योगिक ग्राम तथा विशेष आर्थिक क्षेत्र विस्तार गर्ने, नगरहरूलाई डिजिटल अर्थतन्त्रमा रूपान्तरण गर्ने, अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे सञ्चालन, कर प्रणाली सरलीकरण तथा युवालाई उत्पादनमूलक क्षेत्रमा जोड्ने सरकारी योजनालाई सकारात्मक रूपमा लिएको जनाएको छ।
त्यसै गरी, नेपाल लगानी शिखर सम्मेलन, नेपाललाई विश्व आध्यात्मिक केन्द्रका रूपमा प्रवर्द्धन गर्ने अवधारणा, महिला उद्यमशीलता विकास रणनीति, स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धन, आगामी दशकमा औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, हरित अर्थतन्त्र प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणका कार्यक्रमलाई पनि स्वागतयोग्य भनिएको छ।
चेम्बरले ‘लगानी एक्सप्रेस नीति’ अन्तर्गत ३० दिनभित्र उद्योग दर्ता अनुमति, डिजिटल सुरक्षामा लगानी, ‘देवभूमि नेपाल’ अभियान, धार्मिक पर्यटन र होमस्टे प्रवर्द्धन, रोजगारी प्रवर्द्धन दशक घोषणा तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकसँग कूटनीतिक पहल गर्नुपर्ने विषयलाई महत्वपूर्ण मानेको छ।
यस्तै, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्ग, डिजिटल सुशासन, स्वास्थ्य, शिक्षा, खेलकुद, ऊर्जा, वन, सरसफाइ र स्वच्छ खानेपानी जस्ता पूर्वाधार तथा सामाजिक क्षेत्रका कार्यक्रमहरूलाई पनि सकारात्मक रूपमा लिएको छ।
चेम्बर अफ कमर्स, रुपन्देहीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिन सरकारसँग आग्रह गरेको छ।








