भैरहवा, वैशाख २५ । विश्व रेडक्रस दिवसको अवसरमा सी.वि. पब्लिक हाई स्कुल भैरहवा अन्तर्गतको सी.वि. पब्लिक जुनियर रेडक्रस सर्कलले शुक्रबार भैरहवामा ‘हेल्मेटको बेल्ट अनिवार्य लगाऔं’ भन्ने नारासहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत विद्यालय अगाडिको पूर्वपट्टिको लेनमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले सडकमा गुडिरहेका मोटरसाइकल चालकहरूको हेल्मेट प्रयोगको अवस्थाबारे तथ्याङ्क संकलन गर्नुका साथै बेल्ट नलगाएका चालकलाई सचेत गराएका थिए ।

कार्यक्रमका क्रममा कुल २ हजार ७ सय १७ जना मोटरसाइकल चालकको अवस्थाबारे अध्ययन गरिएको थियो । तीमध्ये ४ सय ८५ जनाले हेल्मेटको बेल्ट नलगाएको पाइएको थियो । यस्तै ७७ जना चालकले हेल्मेट नै नलगाएको भेटीएको संस्थाका संरक्षक उदयकुमार मल्लिकले जानकारी दिनुभयो । कक्षा ७, ८, ९ र १० का सबै विद्यार्थीहरुलाई चार चरणमा विभाजन गरी जिम्मेबारी प्रदान गरिएको थियो । तथ्याङ्क संकलनका लागी दुई विद्यार्थीले विपरित दिशाबाट आएका मोटरसाइकलको कूल संख्या गन्ने, दुई जना विद्यार्थीले चालकले हेल्मेटमा बेल्ट लगाएको÷नलगाएको संख्या गन्ने, आठ जनाले हेल्मेट नलगाएका चालकहरुको हेल्मेटकोे बेल्ट सही तरिकाले बाँध्न आग्रह गरेको मल्लिकले जानकारी दिए । साथै, सडक सुरक्षाबारे आवश्यक जानकारी दिँदै सबैले हेल्मेटको बेल्ट अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले यात्रुहरूलाई निःशुल्क पानी समेत वितरण गरेका थिए ।

विद्यालयकी कक्षा १० की छात्रा विनिता वि.के.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रतिमा कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष दिपक क्षेत्री न्यौपाने, प्याप्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेल, नेपाल रेडक्रस सोसाईटी रुपन्देही सिद्धार्थनगर उपशाखाका कोषाध्यक्ष रामप्रसाद सापकोटा, विद्यालयका प्राचार्य तथा सि.वि. पब्लिक जुनियर तथा युवा रेक्रस सर्कलका संरक्षक उदय कुमार मलिक, सह प्राचार्य उजली कुमारी सुनार सोनी, शिक्षक नायक गोविन्द थापा मगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सि.वि. पब्लिक जुनियर रेडक्रस सर्कलकी अध्यक्ष तथा कक्षा ९ कि छात्रा समृद्धि मलिकले गर्नुभएको थियो । यो कार्यक्रमले विद्यार्थीमा सामाजिक उत्तरदायित्व तथा सडक सुरक्षाप्रति चेतना अभिवृद्धि हुने विश्वास रहेको प्राचार्य मल्लिकले बताउनुभयो ।








