संसदले कुरिरहेको छ बासुदेव घिमिरेलाई

भैरहवा । राजनीति केवल पद र शक्ति प्राप्त गर्ने साधन होइन, जनविश्वासलाई कर्ममार्फत् पुष्टि गर्ने जिम्मेवारी पनि हो। यही कसौटीमा उभिँदा बासुदेव घिमिरे रुपन्देहीका मतदातामाझ भरोसाको नाम बनेका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमाले का उम्मेदवारका रूपमा अघि बढिरहेका घिमिरे अनुभव, इमानदारी र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण फरक पहिचान बनाएका नेता हुन्।
उनको राजनीतिक यात्राको निर्णायक मोड २०७४ सालमा आयो, जब उनी तिलोत्तमा नगरपालिका का मेयरमा निर्वाचित भए। त्यो समय तिलोत्तमा तीव्र शहरीकरणको दबाबमा थियो—सडक, ढल, शिक्षा, स्वास्थ्य र सुशासनका चुनौती एकैसाथ उभिएका थिए। घिमिरेको नेतृत्वमा नगरपालिकाले योजनाबद्ध विकासको बाटो समात्यो। पारदर्शी प्रशासन, पूर्वाधार विस्तार, हरित नगर अभियान र सेवाप्रवाहमा सुधारले तिलोत्तमा देशकै उत्कृष्ट नगरपालिकामध्ये एकका रूपमा चिनियो। विकास केवल कागजमा होइन, सडक, विद्यालय र स्वास्थ्य संस्थामा देखिन थाल्यो। जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने उदाहरण उनले व्यवहारमै प्रस्तुत गरे।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ५ बाट संसदमा विजयी भएपछि उनको जिम्मेवारी झन् व्यापक भयो। संघीय संसदमा पुगेपछि उनले राष्ट्रिय मुद्दासँगै जिल्लाका ज्वलन्त समस्याहरू निरन्तर उठाए। संसद केवल उपस्थितिका लागि होइन, प्रभावकारी आवाजका लागि हो भन्ने मान्यताका साथ उनले कृषि उत्पादनमा आत्मनिर्भरता, युवालाई स्वदेशमै रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा गुणस्तर वृद्धि तथा पूर्वाधार विकासका विषयमा स्पष्ट धारणा राखे।
विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको विषयमा उनले बारम्बार सरकारको ध्यानाकर्षण गराए। विमानस्थल सञ्चालनले लुम्बिनी प्रदेश मात्र होइन, सिंगो देशको पर्यटन, व्यापार र रोजगारीमा सकारात्मक प्रभाव पार्ने तथ्य उनले संसदमा प्रस्तुत गरे। विकासको ढोका खोल्ने संरचना निष्क्रिय रहँदा त्यसले अर्थतन्त्रमा पार्ने असरबारे उनको चिन्ता स्पष्ट देखिन्थ्यो।
कृषि क्षेत्रको आधुनिकीकरण, किसानलाई सहज ऋण, मल–बिउको उपलब्धता, सिँचाइ विस्तार जस्ता विषयमा उनले नीतिगत सुधारको आवश्यकता औंल्याए। शिक्षा क्षेत्रमा गुणस्तरीय सार्वजनिक विद्यालय, प्राविधिक शिक्षा विस्तार र स्वास्थ्य सेवामा पहुँच तथा पूर्वाधार सुदृढीकरणका विषयमा उनले निरन्तर आवाज उठाए। यी सबै मुद्दा केवल भाषणका विषय होइनन्; उनको स्थानीय तहको अनुभवले प्रमाणित गर्छ—उनी योजना बनाउने मात्र होइन, कार्यान्वयन गर्ने क्षमता राख्छन्।
आज देश आर्थिक चुनौती, वैदेशिक निर्भरता र युवापलायनको समस्यासँग जुधिरहेको छ। यस्तो बेला स्पष्ट दृष्टि, अनुभव र कामको इतिहास भएका प्रतिनिधिको आवश्यकता झन् बढेको छ। घिमिरेको विगत हेर्दा उनी लोकप्रिय मात्र होइन, परिणाममुखी नेता हुन् भन्ने प्रमाणित हुन्छ। स्थानीय तहमा सफल नेतृत्व, संघीय संसदमा सक्रिय भूमिका र विकासप्रतिको दृढ प्रतिबद्धता—यी तीन आधारले उनलाई विशेष बनाउँछन्।
संसद बहस, नीति निर्माण र जनआवाजको थलो हो। त्यहाँ काम गर्ने, तथ्य राख्ने र परिणाम खोज्ने प्रतिनिधिको खाँचो सधैं रहन्छ। रुपन्देहीको समृद्धि, लुम्बिनी प्रदेशको उन्नति र देशको विकासका लागि अनुभवी र प्रतिबद्ध नेतृत्व आवश्यक छ। संसद केवल उपस्थिति जनाउने ठाउँ होइन, नीति निर्माण गर्ने र सरकारलाई उत्तरदायी बनाउने थलो हो। घिमिरेले विगतमा देखाएको सक्रियता प्रमाण हो—उनी मौन बस्ने सांसद होइनन्, प्रश्न गर्ने र समाधान खोज्ने प्रतिनिधि हुन्। विकासका मुद्दामा तथ्यसहित बोल्ने, जिल्लाका समस्या राष्ट्रिय बहसमा पु¥याउने र सरकारलाई जिम्मेवार बनाउन दबाब सिर्जना गर्ने उनको शैलीले संसदलाई प्रभावकारी बनाउँछ।
रुपन्देहीजस्तो सम्भावनायुक्त जिल्लालाई बलियो आवाज चाहिन्छ। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय होस् वा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका सवाल—यी मुद्दा केवल स्थानीय सरोकार होइनन्, राष्ट्रिय प्राथमिकतासँग जोडिएका विषय हुन्। यस्ता एजेन्डा निरन्तर उठाइरहने, नथाक्ने र नडराउने प्रतिनिधि संसदमा हुनु जरुरी छ।
त्यसैले संसदमा बासुदेव घिमिरेको खाँचो केवल एक क्षेत्रका लागि होइन, नीति–निर्माणको गुणस्तर सुधारका लागि पनि हो। अनुभव, इमानदारी र परिणाममुखी सोच भएका प्रतिनिधि हुँदा मात्र संसद जनविश्वासको केन्द्र बन्छ। यही कारणले आज धेरै मतदाताले महसुस गरिरहेका छन्—संसदले उनलाई कुरिरहेको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका