भैरहवा । भैरहवाका मदिरा व्यवसायीहरुले कर सम्बन्धी प्रशिक्षण लिएका छन् । मदिरा व्यवसायी संघ भैरहवाको आयोजना तथा आन्तरिक राजश्व कार्यालय भैरहवाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आ.व. २०८२/८३ मा परिवर्तीत करका दर, छुट सुविधा तथा व्यवसायीका समस्या र समाधानको विषयमा अन्तरक्रिया गरिएको थियो ।
आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत सरोज मरासीनीले व्यवसायीहरुलाई अन्तःशुल्क कारोबार सम्बन्धी व्यवस्थाका विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक मरासीनीले व्यवसायीले इजाजतपत्र दर्ता, नविकरण तथा सञ्चालन सम्बन्धी भएका कानुनी व्यवस्था र लाग्ने दस्तुरका विषयमा जानकारी दिएका थिए । प्रत्येक वर्षको साउन महिनाभित्र इजाजत पत्र नविकरण गर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।
कार्यक्रममा व्यवसायीहरुले अवैध कारोवारीका कारण समस्या परेको, चेन विजनेशका कारण मूल्यमा एकरुपता नभएको लगायतका गुनासो राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी तथा आन्तरिक राजश्व कार्यालय भैरहवाका कार्यालय प्रमुख प्रेमराज पोख्रेलले व्यवसायीको जिज्ञासाको जवाफ दिदै अवैध कारोवार रोक्नका लागी प्रभावकारी अनुगमन गर्ने, व्यवसायमा देखिएका केही समस्याका विषयमा विभाग सँग समन्वय गर्ने बताए । व्यवसायीहरुले कानुननले तोके अनुसार व्यवसाय सञ्चालन गर्ने तथा कारोवारलाई चुस्त दुरुस्त राख्नुपर्ने बताए ।
मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले संघको वार्षिक कार्ययोजना बमोजिम कार्यक्रमको आयोजना गरिएको बताए । कार्याक्रममा संघका संस्थापक अध्यक्ष केसवराज ज्ञवाली, बरिष्ठ सल्लाहकार खिमबहादुर खत्री, प्रदेश सदस्य किशोर पन्थी, बरिष्ठ उपाध्यक्ष भागीरथ पाण्डे लगायतको उपस्थिती रहेको थियो । महासचिव यादव पोख्रेलको सञ्चालन तथा विष्णु गौतमको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।









