पाल्पा, साउन २७ ।
पाल्पा बगनासकाली–३ आर्यभन्ज्याङका १८ वर्षीय रोहित गहतराजले आफ्नै बलबुतामा चारपाङ्ग्रे गाडी निर्माण गरेका छन्। स्थानीय बजारमा सजिलै पाइने सामान र विभिन्न पार्टपुर्जाको प्रयोग गरेर उनले तयार पारेको गाडीले अहिले गाउँमा सबैको ध्यान खिचेको छ।
भर्खरै मात्र कक्षा १० (एसईई) उत्तीर्ण गरेका रोहितलाई सानैदेखि मेसिन र आविष्कारप्रति गहिरो रुचि थियो। स्कुलमा पढ्दै गर्दा पनि उनले साना–साना मोडेल, मेसिनको परिक्षण र इलेक्ट्रोनिक सामानसँग खेल्दै समय बिताउँथे। उनले भने, “म सानैदेखि केही नयाँ बनाउन चाहन्थें। गाडी बनाउने सपना लामो समयदेखि थियो, अहिले त्यो पूरा भएको छ।” यो गाडी बनाउन रोहितले करिब १ लाख रुपैयाँ खर्च गरेका छन्।
उनले इन्जिन, टायर, गियर बक्स, चेसिसलगायत विभिन्न पार्टपुर्जा स्थानीय बजार र पुराना सवारीसाधनबाट संकलन गरेका हुन्। गाडीमा अगाडि दुई जना बस्न सक्ने र पछाडि सामान राख्न मिल्ने सुविधा छ। परीक्षणका क्रममा गाडी सहजै गाउँको उकालो–ओरालोमा दौडिएको छ।
रोहितका अनुसार यो यात्रामा धेरै चुनौतीहरू पनि आए। प्राविधिक समस्या समाधान गर्न इन्टरनेट र स्थानीय मिस्त्रीको सहयोग लिनुपरेको थियो। तर, परिवारको साथ र प्रोत्साहन उनका लागि सबैभन्दा ठूलो ऊर्जा भएको उनले बताए।
उनको आमा भन्नुहुन्छ “हाम्रो छोराले आफ्नै देशमै केही गर्न सक्छ भन्ने देखायो। विदेश जानु मात्र बाटो होइन भन्ने उदाहरण हो यो।” भविष्यमा अझ परिष्कृत मोडेल बनाउन र व्यवसायिक रूपमा उत्पादन गर्न चाहने रोहित अहिले प्राविधिक ज्ञान अझ बढाउन चाहन्छन्।
उनले भने, “यदि सहयोग र साथ पाएँ भने अझ राम्रो, दिगो र आधुनिक गाडी बनाउन सक्छु।”









