ललितपुर । नेपाल बालसाहित्य समाज (नेबासास) ले १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा विभिन्न अग्रज तथा अनुज स्रष्टालाई सम्मान एवं पुरस्कार प्रदान गर्नुका साथै १० वटा बालपुस्तक लोकार्पण गरेको छ।
आइतबार ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयमा आयोजित विशेष कार्यक्रममा नेबासासका पूर्वअध्यक्ष तथा नेपाली बालसाहित्यका इतिहासकार प्रमोद प्रधानलाई नेबासास जयपृथ्वीबहादुर सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी प्रा. डा. चूडामणि बन्धुलाई नेबासास तेजप्रतिभा बालनियात्रा/लोकवार्ता पुरस्कार, तेजप्रकाश श्रेष्ठलाई नेबासास मुकेश जनक बालविज्ञान पुरस्कार, प्रभात सापकोटालाई नेबासास चूडा–चरण बालजीवनी पुरस्कार, डा. जयन्ती रुपाखेतीलाई नेबासास ध्रुव–सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार तथा अमेरिकामा रहेका आभास अर्याललाई नेबासास विमला–मोहन प्रवासी बालस्रष्टा पुरस्कार प्रदान गरिएको थियो। यी प्रत्येक पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।
यसैगरी आयन्स जवालीलाई नेबासास जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार र बालगायक अमृत विकलाई नेबासास जयपृथ्वीबहादुर बालकला पुरस्कार प्रदान गरिएको थियो। यी दुवै पुरस्कारको राशि पाँच–पाँच हजार रुपैयाँ रहेको थियो।
कार्यक्रममा बालसाहित्यका विभिन्न विधाका १० वटा पुस्तकसमेत लोकार्पण गरिएको थियो। नेबासासका महासचिव डा. विष्णु केसीको सम्पादनमा तयार भएको बालसाहित्यका विधा : सिद्धान्त र परम्परा तथा उनकै लेखनका कमिलाको बानी, इन्द्रेणी र चन्द्रबहादुर पुस्तक लोकार्पण गरियो।
त्यस्तै नेबासासका अध्यक्ष विजयराज आचार्यको उपन्यास हितुवा, उनकै अनुवादमा प्रकाशित चिनियाँ बालउपन्यास जादुको छडी, कृष्ण बजगाईंका स्यालको सिङ र आँखा झिम्काउने पहाड, रबिन्द्र मानन्धरको लेखन तथा चित्राङ्कन रहेको अध्याय पुस्तक मन्त्रपुरकी माया र उर्मिला ढुंगाना सुवेदीको हजुरआमाको भान्छा कोठा पनि विमोचन गरिएको थियो।
पुरस्कार तथा सम्मानबाट सम्मानित एवं पुरस्कृत व्यक्तित्वका साथै लोकार्पित पुस्तकहरूमाथि सर्जक शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि रोल्पाका बालगायक तथा पुरस्कारप्राप्त स्रष्टा अमृत विक रहेका थिए भने अग्रज बालसाहित्य सर्जक, नेबासासका संस्थापक तथा संरक्षक रामकुमार पाँडे विशेष अतिथि रहेका थिए।
नेबासासका महासचिव डा. विष्णु केसीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नेबासासका अध्यक्ष विजयराज आचार्यले गरेका थिए। नेपाल बालसाहित्य समाजसँगै पाटन सङ्ग्रहालय र सिविन नेपाल कार्यक्रमका सहआयोजक रहेका थिए।










