भैरहवा । ट्राफिक नियम नमान्ने लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयको गाडीलाई प्रहरीले चिट काटेको छ ।
मन्त्री पाण्डे चढ्ने लु१झ ७४५ नम्बरको स्कारपियोलाई जरिवाना गरिएको हो । उक्त स्कारपियो सिद्धार्थनगर नगरपालिका वडा नंं ८ बुद्धचोकमा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरिएको थियो । सो बिषय सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले चिट काटेको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रतिमा कार्कीले नो पार्किङमा लाग्ने जरिवाना अर्थात पाँच सय रुपैयाँको चिट काटिएको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले पार्किङ निषेधित क्षेत्रमा सवारी साधनहरु पार्किङ नगर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ ।
सन्तोष पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश सरकारमा छन् । सिद्धार्थनगरका स्थायी बासिन्दा पाण्डेय प्रदेश मुकामभन्दा बढी सिद्धार्थनगर क्षेत्रमै बस्ने गरेका छन् ।










