भैरहवा । शंकर रानाको उत्कृष्ट बलिङमा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएको छ । खुकुरीले न्यु होराइजन स्पोटर्स क्बलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ५० ओभरमा ३२ ओभर १ बल खेल्दै सबै विकेटको नोक्सानीमा १ सय ८ रनको समान्य योगफल खडा गर्यो । जसमा निश्चल ज्ञवालीले ३०, विप्रसन केसीले २२, महेश भरले २१ र निर्मल गुरुङले १० रन जोडे । लुम्बिनी खुकुरीका शंकर रानाले ७ ओभर १ बलमा ३१ रन खर्चेर महत्वपूर्ण ५ विकेट हात पारे । यस्तै, अजय चौहानले ३ र दुर्गेश गुप्ताले १ विकेट लिन सफल भए ।
जवाफी ब्याटिङ गरेको खुकुरीले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर १ सय १२ रन बनाउँदै जित हात पार्यो । उसको जितमा समीर अली मुसलमानले ५३, सेजाद धोवीले २० र शंकर रानाले १५ रनको योगदान गरे । न्यु होराइजनका निर्मल गुरुङले ३, विप्रसन केसीले २ र अमर मिश्राले १ विकेट लिए । खेलमा शंकर राना प्लेयर अफ द म्याच भई १ हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।







