पाँच महिनामा ३ करोड बढी राजस्व, ३८९ दुर्घटनामा ४१ जनाको ज्यान गयो

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो पाँच महिनाको अवधिमा ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत मंसिर १ गतेदेखि चैत मसान्तसम्ममा ३ करोड १० लाख २८ हजार रुपैयाँ राजस्व उठाइएको हो ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार उक्त अवधिमा १४ हजार ६ सय ३९ वटा सवारीसाधनमाथि कारवाही गर्दा सो राजस्व संकलन भएको हो ।

त्यस्तै, सोही अवधिमा जिल्लाभर ३८९ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४१ जनाको ज्यान गएको छ भने ७१ जना गम्भीर घाइते भएका छन् । कार्कीका अनुसार तीव्र गति, मादक तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, चालकको लापरवाही र सडक संरचनाका कमजोरीहरू दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन् । विशेषगरी दुईपांग्रे सवारी (मोटरसाइकल/स्कुटर) दुर्घटनाको संख्या बढी रहेको बताइएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यालयले विभिन्न पहलहरू अघि बढाएको जनाएको छ । बजार क्षेत्रका सडकखण्डहरूमा ट्राफिक कोन तथा डिभाइडर राखिएको छ भने सिद्धार्थनगर नगरपालिका अन्तर्गत मुख्य बजार क्षेत्र र वडा नम्बर १ स्थित बेलहियामा ‘नो पार्किङ’ क्षेत्र निर्धारण गरी कडाइका साथ कार्यान्वयन गरिएको छ ।

यसैगरी, स्वरूप परिवर्तन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिई चार वटा सवारी थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ भने २३ वटा मोटरसाइकलका साइलेंसर परिवर्तन गराइएको छ ।

ट्राफिक सचेतना अभिवृद्धिका लागि विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गर्नुका साथै विद्यालय र सवारी चालक लक्षित गरी ७५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका