भैरहवा । उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भैरहवाको पाचौं बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट पुनः खिमबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायणप्रसाद भण्डारी, सचिवमा अनिलकुमार ज्ञवाली, कोषाध्यक्षमा शारदा खाती रहेका छन् । सदस्यहरुमा कृष्ण प्रसाद पोख्रेल, भीष्मा ज्ञवाली पोख्रेल, सिर्जना कार्की जोशी, रामप्रसाद भण्डारी र विशाल पहारी चयन हुनुभएको छ । त्यस्तै लेखा समिति संयोजकमा रामचन्द्र रेग्मी तथा सदस्यहरुमा तुल्सीराम पराजुली र सरीता पौडेल आचार्य चयन भएको निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले बताउनुभयो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष खत्रीले देशको विद्यमान अस्थिर राजनीतिका कारण समय समयमा हुने विभिन्न आन्दोलन, युवाहरुमा फैलिएको चरम निराशा र विदेश पलायनको समस्या, निजि क्षेत्रमा आएको निराशा, वित्तीय संस्थाहरुमा बढ्दो तरता, वित्तीय संस्थाहरु विरुद्ध भएका भड्काउपूर्ण प्रचारवाजी, केही सहकारी संस्थाहरुको कमजोर व्यवस्थापन र उच्च महत्वाकाङ्क्षाको परिमाणले निम्त्याएको समस्या र समग्र अर्थतन्त्रमा देखिएको मन्दी जस्ता कारणबाट सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको बताउनुभयो । यस्ता समस्याहरु समाधानका लागी सम्बन्धीत निकायहरुले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष खत्रीले सहकारीका शेयरसदस्यहरुले नियमित बचत गर्ने, आफुले उपभोग गरिरहेको कर्जाको ब्याज नियमित भुक्तान गर्ने, सांवा रकमको किस्ता समयमा फिर्ता गर्ने जस्ता आर्थिक अनुशासन पालना गरेमा ‘सबैको लाभ सबैको भलो’ हुने कुरा निर्विवाद रहेको बताउनुभयो । उहाले सदस्यहरुमा बचनबद्धता र दायित्वबोध हुनुपर्नेमा जोड दिनुभयो । सहकारीले समृद्ध र आत्मनिर्भर सदस्य, आर्थिक रुपले सक्षम एवं प्रतिष्पर्धि सहकारकिो परिकल्पना गरी सहकारी ऐन तथा नियमावली, सहकारी विभागका निर्देशन मापदण्ड र नीति नियमको पूर्ण पालना सहित नियमसम्मत तरिकाले सदस्यहरुको माग अनुसार शेयर सदस्य लक्षित विभिन्न आर्थिक तथा समाजिक कार्यहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
साधारणसभामा कोषाध्यक्ष शारदा खातीले प्रस्तुत गर्नुभएकोे आ.व २०८१/८२ को आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक रामचन्द्र रेग्मीले प्रस्तुत गर्नुभएकोे लेखा समितिको बार्षिक प्रतिवेदन सर्वसहमतिले अनुमोदन गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता तथा उच्च शिक्षा हासिल गर्ने शेयरदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो । खिमबहादुर खत्रीको अध्यक्षता तथा सचिव अनिलकुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।