भैरहवा । रुपन्देहीको सिदार्थनगर नगरपालिका वार्ड नम्बर–९ अन्तर्गत पर्ने नयाँ कोलोनीका स्थानीयले रात्रीकालिन सुरक्षा गस्ती सुरु गरेका छन् ।
गत भदौ महिनामा जेनजी आन्दोलन पछि भएको अप्रत्यासीत घटनाका कारण सुरक्षा चुनौती बढेको भन्दै उनीहरुले रात्रीकालीन सुरक्षा गस्ती सुरु गरेको स्थानीयले बताए । आन्दोलनपछि भएको क्रूर दंगा र जेल तोडफोड गरी धेरै कैदी बन्दीहरु जेलबाट भागेको कारण समाजमा खतरा उत्पन्न भएको उनीहरु बताउँदछन् ।
१ सय ५० बढी घरधुरी रहेको यस टोलमा प्रत्येक रात १० युवाको समूह बनाएर टर्न प्रणालीमा लाठी, सिटिया र टर्च लाइट सहित गस्ती सञ्चालन गरेको स्थानीय गंगाधर भण्डारीले बताए । चोरी, डकैती र अन्य अपराधबाट आफ्नो क्षेत्रलाई बचाउन यो प्रयास गरिएको उनले बताए ।
यसै टोलमा केही पूर्णराति खुल्ने बार र क्याफे रहेको र जहाँबाट केही युवाहरू मदिरा सेवन गरी अस्वभाविक रुपमा बाइक दौडाउने, मादक पदार्थ सेवन गर्ने युवाहरू कुनामा लुकी लुकी भेटिने गरेकोले पनि समस्या बढ्दो रहेको स्थानीय शोभाकान्त नेपालले बताए । यस्ता नकारात्मक गतिविधि रोक्न स्थानीय बासिन्दाहरू स्वयंसेवी भएर सक्रिय रुपमा शान्तिसुरक्षा गर्न खटेको उनले बताए ।
नजिकीदै गरेको चाडपर्वमा सबैलाई सुरक्षित र शान्त निद्रा सुनिश्चित गर्न सहयोग पुग्ने उनीहरुको विश्वास छ । ‘आन्दोलनकै क्रममा प्रहरीमाथि भएको हमलाले प्रहरी जवानहरूमा थकान र मनोबल घटाएको थियो, यस अभियानले प्रहरीहरूलाई फेरि हौसला दिने काम गरेको छ ।’ ‘प्रहरी बलको रात्रिकालीन गस्तीको संख्या कम भएकाले सुरक्षा चुनौती अझै बढेको छ । स्थानीय पहलले जिल्ला प्रशासनलाई सुरक्षा थप कडा बनाउन गस्ती वाहन र प्रहरी बल वृद्धि गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ । ’ – भण्डारी भन्छन् ।
यसरी नयाँ कॉलोनीका बासिन्दाहरूले स्वसहायता र सामुदायिक साझेदारीमा आधारित सुरक्षात्मक पहल गर्दै सुरक्षित र तनावमुक्त जीवनयापनका लागि उदाहरणीय कदम चालेका छन् ।
टोलको सुरक्षामा स्थानीयको रात्रीकालिन गस्ती
रुपन्देहीको सिदार्थनगर नगरपालिका वार्ड नम्बर–९ अन्तर्गत पर्ने नयाँ कोलोनीका स्थानीयले रात्रीकालिन सुरक्षा गस्ती सुरु गरेका छन् ।

गौतमबुद्ध सन्देश








