भैरहवा, बैशाख २४ । रुपन्देहीको भलवारीमा अवस्थित ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुलमा २०८२ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरूबीच सञ्चालन भइरहेको बास्केटबल प्रतियोगिताको दोस्रो दिनका खेल सम्पन्न भएका छन्। दोस्रो दिन छात्र तथा छात्रा दुवैतर्फका लिग चरणका खेल सम्पन्न भएका छन्।
प्रतियोगितामा रुपन्देहीसहित छिमेकी जिल्लाका एसईई परीक्षामा सहभागी विद्यार्थीहरूको सहभागिता रहेको छ। छात्रतर्फ १० तथा छात्रातर्फ ५ टोली सहभागी छन्। छात्रतर्फ आयोजक विद्यालय बीजीएसआरका दुई टोलीसहित सिद्धार्थ बोर्डिङ, न्यू होराइजन, न्यू इन्भाइरोमेन्ट, दीप बोर्डिङ, शान्ति नमूना मावि, सगरमाथा बास्केटबल क्लब, सैनामैना बास्केटबल क्लब र एभरेस्ट बोर्डिङ सहभागी रहेका छन्। छात्रातर्फ एभरेस्ट बोर्डिङ, होराइजन, सिद्धार्थ तथा ब्रिटिस ग्रामर स्कुलका टोली सहभागी छन्।
बैशाख २३ गतेदेखि सुरु भएको तीनदिने प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनल तथा फाइनल खेल आयोजना गरिने विद्यालयले जनाएको छ। शुक्रबार जिल्ला बास्केटबल संघ रुपन्देहीका अध्यक्ष राजन श्रेष्ठ को प्रमुख आतिथ्यतामा सेमिफाइनल, फाइनल तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवर ले जानकारी दिए ।
मोफसलकै क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रूपमा परिचित यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ। विद्यालयले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ। साथै कक्षा ८, १० र १२ मा सतप्रतिशत नतिजा हासिल गर्दै आएको विद्यालयले जनाएको छ।








