भैरहवा । यस क्षेत्रको ऐतिहासिक क्रिकेट प्रतियोगीता ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ आगामी वैशाख ८ गतेदेखि १५ गतेसम्म भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालन हुने भएको छ । आयोजक संस्था लुम्बिनी खुकुरी क्लवले आइतबार प्रत्रकार सम्मेलन मार्फत प्रतियोगीताको बारेमा जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिने कार्यक्रम संयोजक नन्दन श्रेष्ठले बताए । प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, ‘म्यान अफ द सिरिज’ लाई १५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ प्रदान गरिने संयोजक श्रेष्ठले बताए । प्रतियोगितामा भारतका नौतनवा, गोरखपुर र कोल्हईबाट टोलीहरू सहभागी हुनेछन् भने नेपालतर्फ रुपन्देही बाहिरका २ र जिल्लाभित्रका ११ टोलीले प्रतिस्पर्धा गर्ने उनले बताए ।
बि.सं. २०२७ मा स्थापित लुम्बिनी खुकुरी क्लबले स्थापना कालदेखि नै खेलकुद तथा सामाजिक सचेतनासँग सम्बन्धित गतिविधि सञ्चालन गर्दै आएको छ । क्लबका अध्यक्ष महेश थापाका अनुसार विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पु¥याएको क्लबले यस प्रतियोगिता आयोजना मार्फत पनि खेलकुद विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष उज्जवल पोखरेलले खेलकुद क्षेत्रलाई वडा कार्यालयले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको बताए ।
प्रतियोगितामा करिब ११ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजक सिद्धार्थनगर नगरपालिका वडा नं १ को कार्यालय रहेको छ । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्मा, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक नन्दन श्रेष्ठको स्वागत मन्तव्य तथा सचिव ओजस शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘खुकुरी टी–ट्वान्टी कप’ बैशाख ८ गतेदेखि
प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टोलीको सहभागिता रहनेछ ।








