भैरहवा। रुपन्देही क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोद कुमार यादवले मर्चवार क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर नीति निर्माणदेखि भौतिक पूर्वाधार विस्तारसम्मका विस्तृत योजनाहरु सार्वजनिक गर्नुभएको छ।
घरदैलो कार्यक्रमका क्रममा यादवले मर्चवारलाई कृषि उर्बर क्षेत्रका रूपमा घोषणा गरी सिँचाइ विस्तार, कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना, शीत भण्डार र बिउबिजन केन्द्र सञ्चालन तथा तरेनीमा भन्सार नाका खोल्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले निर्वाचित भइसकेपछि मर्चवारका प्रत्येक घरमा शुद्ध खानेपानीको धारा जडान गर्ने घोषणा गर्नुभएको छ। “२०७४ मा निर्वाचित हुँदा मर्चवारलाई खपडामुक्त बनायौं, अब शुद्ध खानेपानी विस्तार हाम्रो प्राथमिकता हो,” यादवले भन्नुभयो।
विगतका कामको समीक्षा
यादवले अघिल्लो कार्यकालमा संसदमा ग्रामीण क्षेत्र, किसान, स्वास्थ्य, शिक्षा, बिजुली र सडक जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो। तीनै तहका सरकारसँग समन्वय गर्दै सडक स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच विस्तार, सीपमूलक तालिम, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार लगायतका कार्यक्रम सञ्चालन गरिएको उहाँको दाबी छ।
यस्ता छन् प्रमोदका प्रमुख योजनाहरु
पूर्वाधार र सडक
- लुम्बिनी–मर्चवारी र मर्चवारी–भैरहवा सडक स्तरोन्नति
- मर्चवार रिंगरोड निर्माण (तुनिहवा–बगौली–सेमरा–करौता हुँदै रोहिणीहवा–भगैयासम्म)
- भैरहवा विमानस्थलदेखि बेथरी–छपिया–बनघुसरी सडक स्तरोन्नति
- छपियादेखि लुम्बिनी जोड्ने सडक सुधार
- सम्मरीमाई चकियाघाट–लुम्बिनी सांस्कृतिक १२ जोड्न दानव नदीमा पक्की पुल निर्माण
- डुबान क्षेत्र पहिचान गरी तटबन्ध व्यवस्थापन
कृषि र सिँचाइ
- मर्चवार लिफ्ट सिँचाइ आयोजना व्यवस्थित गरी खेत सिंचित गर्ने
- कृषि हाटबजार व्यवस्थापन र किसानको उत्पादन सिधै खरिदको व्यवस्था
- सम्मरीमाईमा निर्माणाधीन शीत भण्डार सम्पन्न गर्ने
- सुविधासम्पन्न बिउबिजन केन्द्र सञ्चालन
- मर्चवारलाई ‘अन्न भण्डार’ केन्द्रका रूपमा स्थापित गर्न संघीय विशेष कार्यक्रम ल्याउने
स्वास्थ्य र शिक्षा
- सुविधासम्पन्न अस्पताल सञ्चालन
- प्रत्येक पालिकामा १५ शैयाको अस्पताल
- कोटहीमाई मझगावास्थित डिग्री कलेज व्यवस्थित गर्ने
- कृषि प्राविधिक शिक्षालय सञ्चालन
पर्यटन र खेलकुद
- मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई, केवटलिया समईमाईलाई धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास
- ग्रामीण पर्यटन कार्यक्रममार्फत युवालाई सक्रिय बनाउने
- स्थायी अन्तर्राष्ट्रिय कुस्ती स्पोर्ट्स एकेडेमी स्थापना
- तीनै पालिकाको पायक पर्ने खेलमैदान निर्माण
- फुटबल, भलिबल र क्रिकेट अभ्यास कार्यक्रम सञ्चालन
सेवा र सुरक्षा
- घरघरमा शुद्ध खानेपानी संस्थानको धारा जडान
- चोकचोकमा सार्वजनिक शौचालय
- प्रत्येक गाउँपालिकामा दमकलको व्यवस्था
- तरेनी (सम्मरीमाई) मा छोटी भन्सार सञ्चालन
यादवले ‘जेनजीको जोस र जेनवाईको होश’ लाई साथमा लिएर समृद्ध मर्चवार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “नीति निर्माणदेखि विकास निर्माणसम्म मर्चवारको आवाज संसदमा पुर्याउने छु,” उहाँले भन्नुभयो।






