भैरहवा । सिद्धार्थनगर नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोर वर्गीकरण अनिवार्य गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका घर, होटल, पसल, संघ–संस्था तथा विद्यालयबाट निस्कने फोहोरलाई तोकिएको मापदण्डअनुसार छुट्याएर मात्रै संकलन गरिने जनाएको छ।
नगरपालिकाद्वारा प्रकाशित सूचनाअनुसार २०८२ चैत १७ गतेसम्म सबै नगरवासीले आफ्नो स्थानबाट निस्कने फोहोर अनिवार्य रूपमा वर्गीकरण गर्नुपर्नेछ। उक्त मितिसम्म फोहोर वर्गीकरण नगर्ने स्थानबाट निस्कने फोहोर २०८२ चैत १८ गतेदेखि नगरपालिकाले नउठाउने निर्णय गरिएको छ।
नगरपालिकाले फोहोरलाई मुख्यतः तीन प्रकारमा वर्गीकरण गर्न आग्रह गरेको छ। पहिलो, कुहिने जैविक फोहोर अन्तर्गत घरायसी फोहोर, खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी, फलफूलका बोक्रा, सागसब्जी, पातपातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष जस्ता सजिलै कुहिने वस्तु पर्दछन्। दोस्रो, नकुहिने (अजैविक) फोहोर अन्तर्गत प्लास्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतिय सामग्रीका अवशेष लगायत सजिलै नगल्ने वस्तुहरू समावेश छन्। तेस्रो, पुनः प्रयोग गर्न मिल्ने फोहोर अन्तर्गत सिसा, काँच, धातु, टिन जस्ता वस्तुहरूलाई छुट्टै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।
नगरपालिकाले वर्गीकरण नगरी फोहोर सडक पेटी वा सार्वजनिक स्थानमा फाल्ने कार्य गरेको पाइएमा कानूनअनुसार न्यूनतम ५ हजार रुपैयाँदेखि माथिसम्म जरिवाना गरिने चेतावनी पनि दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत जनक थापा द्वारा जारी सूचनामा चैत १८ गतेपछि वर्गीकरण नभएको फोहोर संकलन नहुने भएकाले सबै नगरवासी, होटल तथा पसल व्यवसायी, विद्यालय र विभिन्न संघसंस्थालाई फोहोर वर्गीकरणमा सहयोग गर्न अनुरोध गरिएको छ।








