भैरहवा। रोटरी क्लब अफ भैरहवाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ, रुपन्देही र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवाको प्राविधिक सहयोगमा तिलोत्तमा नगरपालिका–१०, बेवरीस्थित श्री नमुना इङ्गलिस बोर्डिङ स्कुलमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा ७०० भन्दा बढीको आँखा परीक्षण तथा उपचार गरिएको थियो।
रोटरी क्लब अफ भैरहवाका अध्यक्ष रोटरियन कमल कोइरालाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमबहादुर बयम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन रोटरियन पवन पौडेलले गरेका थिए।
शिविरमा परीक्षण गरिएकामध्ये ४८ जनामा दृष्टिदोष (आँखाको कमजोरी) भेटिएको थियो। तीमध्ये १२ जना यसअघि नै उपचार प्रक्रियामा रहेका थिए। यस्तै, ३ जनामा आँखाको डेढोपन, १ जनामा रेटिनासम्बन्धी समस्या, २ जनामा आँखाको एलर्जी तथा सुक्खापन र १ जनामा आँसुको नली बन्द भएको समस्या देखिएको शिविरमा जानकारी दिइयो।
कार्यक्रममा अतिथिका रूपमा सहभागी वरिष्ठ नेत्र विशेषज्ञ डा. सञ्जीव अधिकारीले दृष्टिदोष देखिएका विद्यार्थीहरूको तीन दिनभित्र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान अन्तर्गत श्री रणअम्बिका शाह आँखा अस्पतालमा सहुलियत दरमा वा निःशुल्क उपचारको व्यवस्था गरिने जानकारी दिए। उद्घाटन सत्रमा उनले आँखा रोग, यसको हेरचाह तथा मानव जीवनमा आँखाको महत्वबारे पनि प्रकाश पारे।
प्रमुख अतिथि बयम्बुले रोटरी क्लबले निरन्तर मानवसेवामूलक कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमको समाजले उच्च मूल्यांकन गरेको बताए। उनले विद्यालयलाई शिविरका लागि छनोट गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सकारात्मक र जनहितका कार्यक्रम सञ्चालन हुने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूलाई स्वागत संयोजक रोटरियन पवन पौडेलले गरेका थिए भने सञ्चालन विद्यालयका शिक्षक नारायण कोइरालाले गरेका थिए।










