मैले देखेको मनाङ

भौगोलिक विकटता भए पनि पर्यटन व्यवसायको प्रवल सम्भावना रहेको जिल्ला हो मनाङ । यार्सागुम्बा, पर्यटन र हाइड्रोपावरले मनाङको अर्थतन्त्रलाई सुधार गरेको छ ।
विष्णु भट्टराई

पाँच दिनको मनाङ यात्रापछि भैरहवा फर्किएको थिएँ । धेरैले मनाङ (तिलिचो) यात्राको बारेमा सोध्नुहुन्थ्यो । ठीकै भयो, रमाइलो भयो, हिउँ खेल्न पाइयो, दुःख पनि पाइयो भन्ने सामान्य जवाफ दिन्थे । हुन त केही मिनेटको बसाइमा धेरै कुराहरु बताउन सम्भव पनि थिएन । केहीलाई मोटामोटी रुपमा यात्राको बारेमा बताएको भए पनि इतिवृत्तान्त सबैलाई बताउन सम्भव पनि थिएन । मनमनै भने अथाह संस्मरणहरु थिए । हिमपातका कारण तिलिचो बेसक्यापबाटै फर्किनुपरेको नमीठो अनुभव थियो । फर्किएको दिन भैरहवामा पानी परिरहेको थियो । लामो यात्राको थकाइ थियो, आराम गरें । अर्काे दिनबाट अफिस गए ।

केही साथीहरुले यात्राको बारेमा लेख्न प्रेरित गरिरहनुभएको थियो । खासै जाँगर चलेको थिएन । फर्किएको एक हप्तापछि भने त्यहाँको सम्झनाको लागि भए पनि मनमा खेलेका अनुभूतिहरु लेखौं कि भन्ने लाग्यो । फेरी गइएला, नगइएला दिमागका कुराहरु समयमै शब्दमा उतार्यो भने पछिका लागि राम्रै होला जस्तो लाग्यो । एकमनले छोटकरीमै लेखेर टुगांइदिउ जस्तो लाग्यो । अर्काेमनले होइन विस्तृत रुपमै लेखौं जस्तो लाग्यो ।

पछि मोटामोटी कुराहरु त सम्झिएला तर, वास्तविक यात्राको अनुभव त सानैसानै घटनाहरुमा हुन्छन् भन्ने लाग्यो । लेख्न सुरु गरें । लेख्दै गर्दा भैरहवाबाट सुरु भएको पहिलो दिनको यात्रा पाल्पाको रामपुरदेखि, तनहुँको डुम्रे हुँदै लमजुङको सदरमुकाम बेसीसहर पुगेर मनाङको सदरमुकाम चामेसम्म पुग्यो । दोस्रो दिन खाङ्सार हँुदै सवारी र पैदलयात्रा गर्दै तिलिचो बेसक्याम्प पुग्दाका संस्मरणहरु लेखें । सानासाना कुराहरु समेट्दा दुई हजार शब्दभन्दा बढी भएछ । धेरै लामो लेख्दा पाठकलाई पढ्न झ्याउ लाग्ला भनेर जादाँ र आउँदाको समेटेर दुई भागमा लेख्ने विचार गरे । पहिलो भाग लेखेर सम्पादक कुलमणि ज्ञवाली दाइलाई पठाए । उहाँले ‘यात्रा हिमालपारीको’ शीर्षक राख्नुभएछ । सह–सम्पादक रबिन्द्रप्रताप गुप्ताले शुद्धाशुद्धी हेर्नुभयो । गौतमबुद्ध सन्देश दैनिकको अनलाइन संस्करण गौतमबुद्ध सन्देश डटकममा प्रकाशित भयो । पाठकहरुको प्रतिक्रिया राम्रै आयो । उहाँहरुले अर्काे भाग छिट्टै पढ्न पाइयोस् भन्ने प्रतिक्रिया दिनुभयो । अर्काे दिन दोस्रो भाग लेखें २ हजार ५ सय शब्द बढीको । जसमा बेसक्याम्पमा पुग्दा हिमपात परेका कारण तिलिचो ताल पुग्न नसकेका कुराहरु समेट्दै फर्किएर भैरहवा आइपुगेको कुराहरु लेखें । जसमा खाङ्सार बसाइ र फर्किएर भैरहवा आउँदासम्मका कुराहरु समेटिएका छन् । दुवै संस्करण गौतमबुद्ध सन्देश डटकममा प्रकाशित छन् ।

भैरहवादेखि खाङसारको रमाईलो

बेसक्याम्पबाटै फर्कदा मन खिन्न

नेपाललाई भौगोलिक बनावटका आधारमा तराई, पहाड र हिमाल गरी तीन भागमा विभाजन गरिएको छ । यिनीहरुका आफ्नै विशेषता छन् । प्राकृतिक सौन्दर्यका कारण पर्यटन क्षेत्रमा अपार सम्भावना बोकेको नेपालमा आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण र सम्भावनाहरु छन् । पशुपतिनाथ मन्दिर, बराह क्षेत्र, जनकपुर, मनकामना, बुद्ध जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, गोसाईंकुण्ड, पाथीभरा जस्ता धेरै धार्मिक क्षेत्रहरु छन् । हिमालयलाई प्राचीनकालदेखि नै अध्यात्मको केन्द्र मानिने भएकाले अध्यात्म पर्यटन विकासको उच्च सम्भावना रहेको छ । त्यस्तै काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटहरुको उल्लेख्य आवागमन हुने गरेको छ ।

नेपालमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरु पनि छन् । वन्यजन्तु आकर्षणहरूमा दुर्लभ एकसिंगे गैंडा, मायावी रोयल बंगाल टाइगर, हिउँ चितुवा, रेड पाण्डा र कस्तुरी मृग पाइन्छन्् । नेपालमा ८५० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । नेपाल साहसिक पर्यटनको लागि पनि उत्तिकै महत्वपूर्ण छ, यहाँ प्याराग्लाइडिङ, बन्जी जम्प जस्ता साहसिक पर्यटन सञ्चालनमा छन् ।

८ हजार मिटरभन्दा माथिका विश्वका १४ वटा अग्लो चुचुराहरूमध्ये, आठवटा नेपालमै पर्छन् । नेपालको सगरमाथा विश्वको अग्लो (सर्वोच्च) शिखर हो । यहाँका हिमश्रृं्खलाहरुमा साहसिक पदयात्राका लागि नेपाली मात्र होइन विदेशी पर्यटक, खोज अनुसन्धानकर्ताहरुको रोजाइमा पर्ने गरेको छ ।

हिमाली पदयात्राका लागि विशेष गरी माछापुच्छ्रे, सगरमाथा, मार्दी, अन्नुपूर्ण, तिलिचो बेसक्याम्पहरुमा मानिसहरु पुग्ने गरेका छन् । नेपालमा पर्यटकीय गन्तव्यहरु धेरै छन् । विशेषतः यो लेख मनाङ केन्द्रित छ ।

विषय प्रवेश

हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्छ । यस जिल्लाको कुल क्षेत्रफल २,२४६ वर्गकिलोकिटर रहेको छ । यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ ।

पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्छन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्छन् । अन्नपूर्ण र लमजुङ हिमाल कटेर अगाडि जानुपर्ने भएकोले यसलाई हिमालपारीको जिल्ला भनिएको हो । समुन्द्र सतह भन्दा करिब १६८० मिटरको नासोँ गाउँपालिकाको सुन्दर तालगाउँबाट सुरु भएको मनाङ जिल्लाको सबैभन्दा उच्च भूभागमा रहेको ८,१६३ मिटर अग्लो मनासलु हिमाल रहेको छ भने समुन्द्र सतहदेखि ४,९१९ मिटरमा अवस्थित विश्वको अग्लो हिमतालको रुपमा परिचित तिलिचो ताल समेत यसै जिल्लामा रहेको छ ।

यो जिल्लाको अधिकांश भाग चट्टानी पहाड र हिमालले घेरिएको छ । ५ हजार मिटरमाथि बाहै्र महिना हिउ जम्ने हुनाले वनस्पति पाइँदैन । यहाँको जंगलमा नेपालको राष्ट्रिय पंक्षी डाँफे पाइन्छ । विश्वको दशौं उत्कृष्ट पदमार्ग गन्तव्यको रुपमा परिचित थोराङला पास यसै जिल्लामा पर्छ ।

इतिहास

सन १७८१ मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकीकरण हुनुभन्दा अघि यो जिल्ला लमजुड राज्यकै एक अंगको रूपमा रहेको थियो । पछि यस जिल्लालाई पश्चिम ३ नम्बर गोश्वारा अन्तर्गत पोखरास्थित बडाहाकिममार्फत राखी प्रशासन सञ्चालन गरियो । वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा गण्डकी अञ्चल अन्तर्गत एउटा छुट्टै जिल्लाको रूपमा स्थापित भएको हो ।

मनाङ तिब्बती भाषाको ‘म्हनाङ’ शब्दबाट अपभं्रश भएर आएको मानिन्छ । तिब्बती भाषामा ‘म्ह’ को अर्थ सहायता र ‘नाङ’ को अर्थ देऊ भन्ने हुन्छ । विकट हिमाली भौगोलिक अवस्थितिमा रहेको हुँदा बाह्य सहायता बिना जनजीवन थप कष्टकर रहेको भन्ने सन्देश दिने अर्थमा नै यो जिल्लाको नामाकरण भएको बुझ्न सकिन्छ ।

मनाङको भूगोल अत्यन्त कठोर, चिसो र कृषियोग्य जमिन कम छ । यहाँका मानिसहरुको मुख्य जीविकापार्जनको स्रोत व्यापार, पशुपालन र पर्यटन हो । प्राचीनकालदेखि नै यहाँका बासिन्दा नेपाल–तिब्बत–भारत व्यापार मार्गमा सक्रिय रहेका थिए । उनीहरुले नुन, उन र अनाजको लेनदेन गर्थे । वि.सं. २०२२ सालतिर तिब्बत चीनद्वारा अधिग्रहण भएपछि व्यापार कम भयो । यसले मनाङे समुदायमा आर्थिक संकट निम्त्यायो । सोही बेलाका राजा महेन्द्रको शासनकालमा मनाङका व्यापारीहरुलाई विशेष व्यापारिक अनुमति (मनाङ स्पेशल ट्राभल परमिट) प्रदान गरिएको थियो । यसले उनीहरुलाई दक्षिण–पूर्व एसियाका विभिन्न देशहरुमा स्वतन्त्र रुपमा व्यापार विस्तारको अवसर दियो । यसबाट उनीहरुले सिंगापुर, हङकङ, मलेसिया, भारत, थाइल्याण्ड, भुटान, बर्मा लगायतका देशहरुमा सुन–गरगहना, होटल व्यवसाय, पर्यटन आदि क्षेत्रमा व्यापारिक सञ्जाल विस्तार गरे । मनाङेहरुलाई दिइएको व्यापारिक परमिट राज्यले भौगोलिक असुविधा र साँस्कृतिक विशेषता बुझेर गरेको समाधान थियो । यसले गर्दा मनाङेहरु नेपालकै धनाढ्य र प्रतिष्ठित व्यापारी वर्ग बने । अहिले पनि यहाँका स्थानीयहरु होटल व्यवसाय, पर्यटक गाईड, भरिया, घोडा तथा याक यातायात, हस्तकला तथा स्थानीय उत्पादन विक्रीमा सक्रिय छन् ।

सम्भावना

नेपालमा तराईदेखि एकैदिनको सडक यात्रामा हिमाल पुग्न सकिने धेरै स्थानहरु छन् । जसमध्ये मनाङ पनि एक हो । वातावरणीय अनुकुलताका हिसाबले नेपालमा यस्ता धेरै ठाउँहरु छन् । जसमा भौगोलिक रुपमा तराई, पहाड र हिमाली क्षेत्रमा पुग्न सकिन्छ । यहाँ पुग्दा ठाउँअनुसार भौगोलिक बनावट, वातावरणीय प्रभाव, स्थानीय संस्कृति, भाषा, रहनसहन लगायतका कुराहरुमा विविधता देख्न सकिन्छ ।

मनाङ अन्नपूर्ण परिक्रमा मार्गको महत्वपूर्ण केन्द्र हो । विश्वका साहसिक यात्रु तथा प्रकृति पर्यटकहरु यस ठाउँमा आउने गर्छन् । विशेष गरी असोज–कार्तिक, फागुन–चैत महिनालाई नेपालको हिमाली क्षेत्रमा पदयात्राका लागी राम्रो मानिन्छ । यो समयमा धेरै नेपाली तथा विदेशीहरु पदयात्राका लागी यहाँ पुग्छन् भने अन्य समयमा कम जाने गरेका छन् । हिउँ पर्ने समयमा भने व्यवसायीहरु कुरुवा राखेर काठमाडौ, पोखरा, अन्यत्र ठाउँमा जाने गरेका छन् । यो जिल्ला विशेष गरी पदयात्रा, अध्ययन, अनुसन्धानका लागि विशेष गन्तव्य बनेको छ । सडक निर्माणले मनाङलाई राष्ट्रिय व्यापार सञ्जालसँग जोडेको छ । सञ्चार सेवा तथा मोबाइल पहुँच सहज भएको छ । स्वास्थ्य चौकी तथा प्राथमिक विद्यालयहरुमा सुधार देखिएको छ । चरणभूमि अभाव, माटो कटान, जैविक विविकतामा ह्रास जस्ता समस्या देखिएका छन् ।

चुनौती

हिमाली जलवायु परिवर्तन, विदेशप्रतिको युवाहरुको आकर्षण र पर्यटनमा निर्भरता मनाङको वर्तमान चुनौतिका रुपमा देखा परेका छन् । भविष्यका लागि भने साँस्कृतिक पहिचान, स्थानीय अर्थतन्त्रको विविधिकरण र समुचित पर्यटन व्यवस्थापन हुनु महत्वपूर्ण छ । भौगोलिक रुपमा कृषियोग्य भूमि कम र हिउँदको कठोर मौसमका कारण जीवनमुखी अर्थतन्त्रमा निर्भर रहन कठिन देखिन्छ । तिब्बत–चीन सम्बन्ध परिवर्तनसँगै व्यापार मार्ग कमजोर बन्दा स्थानीयहरु वैकल्पिक आर्थिक आधार खोज्न थालेको पाउन सकिन्छ । परम्परागत वास्तु, पत्थरका घरहरु हराउँदै गएका छन् । पर्यटन व्यवसाय फस्टाउँदै जाँदा भने प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरले व्यवस्थापनमा चुनौति बढाएको देखिन्छ ।

समाधान

विशेषत : भौगोलिक विकटता भए पनि पर्यटन व्यवसायको प्रवल सम्भावना रहेको जिल्ला हो मनाङ । जिल्लाको फेदीदेखि नै अपार प्राकृतिक स्रोतको संगम देख्न सकिन्छ । होटल, लज, रेष्टुरेण्ट, गाइड तथा पोर्टर सेवा, घोडा र याक यातायात सेवा, हस्तकला तथा स्थानीय उत्पादन विक्रीबाट स्थानीयले राम्रो आम्दानी गर्दै आएका छन् । यार्सागुम्बा, पर्यटन र हाइड्रोपावरले मनाङको अर्थतन्त्रलाई सुधार गरेको छ । तर, तिनीहरु दीर्घकालीन भने होइनन् । यार्सागुम्बा अनिश्चित स्रोत हो, पर्यटन मौसमी छ र हाइड्रोपावर विकास भौगोलिक संवेदनशीलताको सीमाभित्र हुन्छ । मनाङको आर्थिक परिवर्तन बहुआयामिक छ । यसका लागि दिगो विकासका रणनप्तिहरु अपनाउनुपर्ने देखिन्छ । यार्सागुम्बा संकलनमा सामुदायिक वन उपभोक्ता समूह निर्मित कोटा प्राणाली, होमस्टे र साँस्कृतिक पर्यटन व्यवसाय, जलविद्युत आयोजनामा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पालन, स्थानीय सीप विकास र उद्यमशीलता तालिम जस्ता रणनीतिहरु अपनाउनुपर्ने देखिन्छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका