स्पा र मसाज सेन्टरमा छैन अनुगमन, अनैतिक गतिविधि मौलाउँंदै

स्पा तथा मसाज सेन्टरहरूमा अमर्यादित र अनैतिक गतिविधि हुने गरेको स्थानीयको गुनासो बढ्न थालेको छ ।
शंकर पाण्डे

भैरहवा ।

केही हप्ता अघि सिद्धार्थनगर नगरपालिका–५ मा सञ्चालित रेडरोज स्पा एण्ड वेलनेस सेन्टर हटाउन वडाबासीको एक ठूलो समूह पुग्यो । स्पाका कारण उक्त ठाउँमा सामाजिक मर्यादाविपरीत रेडलाइट एरियामा जस्तै गतिविधि भएकाले टोल नै बदनाम भएको भन्दै स्थानीयले उक्त स्पालाई त्यहाँबाट हटाउन माग गर्दै वडा कार्यालयमा समेत उजुरी गरे ।

पछिल्लो समय भैरहवा क्षेत्रमा च्याउ जस्तै खुलेका स्पा तथा मसाज सेन्टरहरूमा अमर्यादित र अनैतिक गतिविधि हुने गरेको स्थानीयको गुनासो बढ्न थालेको छ । सम्बन्धित सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा निश्चित मापदण्ड बिनै स्पा सेन्टरहरु जथाभावी खुलेका र त्यहाँ यौनजन्य अनैतिक गतिविधि समेत हुने गर्दा सामाजिक मर्यादामा खलल पुगेको एक स्थानीयले गुनासो गरे । सिद्धार्थ नगरपालिकामा आधिकारिक रुपमा आठवटा स्पा दर्ता भएको अभिलेख छ । तर, बजारमा सयवटा भन्दा बढी स्पा सञ्चालनमा छन् । एकातिर बिना दर्ता, अर्कोतिर स्पा सेन्टरमा कार्यरत महिलाहरूले मसाजसम्बन्धी तालिम लिएको कुनै आधिकारिक प्रमाणपत्र नभएको, स्पा सञ्चालकले महिला कर्मचारीलाई न्यून तलब दिने र ग्राहकसँग अनैतिक यौनजन्य गतिविधि गर्न प्रोत्साहन गर्ने गरेको प्रश्नहरू उठ्न थालेकाले प्रहरी प्रशासनबाट नियमित प्रभावकारी अनुगमनको खाँचो देखिएको नगरपालिकाकै जनप्रतिनिधिहरुको भनाइ छ ।

‘देवकोटाचोकदेखि आँखा अस्पताल आसपासको क्षेत्रमा स्पा सेन्टरका अमर्यादित गतिविधिले परिवारका सदस्य र आफन्तसँग हिंड्नै लाजमर्दो भएको छ,’ एक स्थानीयले भने–‘च्याउ जस्तै खुलेका स्पा सेन्टरले सामाजिक मूल्य मान्यतामा खलल पुर्याउनुका साथै स्पा व्यवसायमा अनैतिक क्रियाकलापको चर्चाले त्यहाँ कार्यरत महिलाहरूको प्रतिष्ठा र सुरक्षामा नकारात्मक प्रभाव पारेको छ ।’ स्पा सञ्चालनमा सामाजिक सरोकारवालाहरूको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको र अनुमति बिना नै स्पा सञ्चालन गरेको पाइएकोले दर्ता प्रक्रियामा लैजाने र नियमानुसार दर्ता नगरी मापदण्ड विपरीत सञ्चालन भएका स्पा÷मसाज सेन्टरहरुलाई कारवाहीको दायरामा ल्याउने अभियानमा लागेको सिद्धार्थनगरको उप–प्रमुख उमा अधिकारी भनाइ छ । महिलाहरुले रोजगार पाएता पनि कार्यरत महिलाहरूको सुरक्षाका लागि प्रभावकारी नीतिहरूको अभाव रहको उनले स्वीकार गरिन् । स्पा र मसाज व्यवसायमा कार्यरत महिलाको सुरक्षाका लागि स्पष्ट ऐन र कानूनी प्रावधानहरू आवश्यक रहेको उनले औंल्याइन् ।

अनैतिक क्रियाकलाप रोक्न कडा कानुनी व्यवस्था लागू गर्नुपर्ने र सम्बन्धित प्रशासनिक निकायहरूले नियमित रूपमा स्पा सेन्टरहरूको अनुगमन र निरीक्षण गरी मापदण्ड विपरीतका क्रियाकलाप रोक्नुपर्ने उनले बताइन् । ‘स्पा र मसाज सेन्टरहरु स्थानीय तहमा सञ्चालन हुने तर, दर्ता र नवीकरण इजाजत अधिकार स्थानीय तहमा नहुने भएकाले तहगत सरकार बीच अन्योल थपिएको उनले बताइन् । ‘स्थानीय तहलाई दर्ता, नवीकरणको पनि अधिकार नहुँदा हदैसम्मको विकृति मौलाएको छ, यसलाई रोकेर मर्यादित व्यवसाय बनाउन ऐन कानूनमै परिमार्जन जरुरी छ’–उपप्रमुख अधिकारीले भनिन् । सिद्धार्थ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पनि स्पष्ट ऐन कानूनको अभाव र अनुगमन अभावमा विकृति मौलाएको स्वीकार गर्छन् । स्पा र मसाज सेन्टर स्वास्थ्यसँग सम्बन्धित व्यवसाय जस्ता देखिने तर यिनलाई नियमन कुन तहको सरकारले गर्ने भन्ने कानूनी अस्पष्टता रहेको उनले बताए । ‘तीन तहका सरकारलाई संविधानले दिएका अधिकार र कार्यक्षेत्र कतिपय विषयमा प्रष्ट हुन सकेका छैनन् । यस्तै अस्पष्टताको फाइदा उठाएर कतिपय व्यवसायमा बेथिति र विकृति मौलाउँदा पनि नियमन र अनुगमनमा समस्या छ’–उनले भने ।

स्पा सेन्टरकी सञ्चालक निर्मला श्रेष्ठले भने आफूहरुले कानून अनुसार व्यवसाय दर्ता गरेर, सरकारलाई कर तिरेर व्यवसाय सञ्चालन गरिरहेको दावी गरिन् । रुपन्देही प्रहरी प्रमुख प्रदीप बहादुर खत्रीले आफू भर्खर जिल्लामा आएकाले स्पा र मसाज सेन्टर कसरी चलेका छन् भन्ने बारेमा बुझ्न बाँकी रहेको बताए । स्पा र मसाज सेन्टरहरु कानूनले तोकेभन्दा बाहिर गएर सञ्चालन भएको पाइए कानूनी दायरामा ल्याएर कारवाही गर्ने खत्रीले प्रष्ट पारे । ‘सामाजिक मर्यादामा खलल पुग्ने र कानूनको बर्खिलाप हुने गरी सञ्चालन हुन हामी दिदैनौं’–खत्रीले भने । कानूनका ज्ञाता खिमलाल देवकोटाले संविधानअनुसार संघीय कानूनसंग नबाझिने गरी प्रदेश र स्थानीय सरकारले कानून बनाएर आफ्नो अधिकार क्षेत्रका पेशा व्यवसाय नियमन गर्नुपर्ने बताउंछन् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका