८ असोज, चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न प्रशासनले यो निर्णय लिएको हो।










