भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बदलिँदो प्रविधिसँगै ढुवानी व्यवसायलाई पनि समयसापेक्ष र ‘स्मार्ट’ बनाउन आग्रह गर्नुभएको छ । ढुवानी व्यवसायी संघ लुम्बिनीको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खाँले मुलुकको आर्थिक गतिविधि र आपूर्ति प्रणालीमा ढुवानी व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले संसार स्मार्ट बन्दै गइरहेको अवस्थामा ढुवानी व्यवसायले पनि आधुनिक प्रविधि र प्रणाली अवलम्बन गर्नुपर्ने बताउँदै व्यवसायीका समस्या समाधानका लागि स्थानीय तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधव नेपालले ढुवानी व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन पार्किङसहितको ‘ढुवानी ग्राम’ आवश्यक रहेको बताउनुभयो। उहाँले त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । ढुवानी व्यवसायी संघ लुम्बिनीका अध्यक्ष माधवप्रसाद आचार्यले मुलुकको आर्थिक गतिविधि तथा विकासमा ढुवानी व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। व्यवसायलाई समयसापेक्ष, भरपर्दो र विश्वसनीय बनाउने उद्देश्यले संघ अघि बढिरहेको उहाँको भनाइ थियो । आर्थिक मन्दी, बजारमा आएको संकुचन तथा व्यापार–व्यवसायमा आएको गिरावटका कारण ढुवानी व्यवसायीसमेत प्रभावित भएको अध्यक्ष आचार्यले बताउनुभयो।
कार्यक्रममा सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली, नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष मधुप्रसाद पन्थी, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव कृष्णप्रसाद घिमिरे, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डेलगायतले ढुवानी व्यवसायका समस्या, पूर्वाधार र व्यवस्थापनबारे धारणा राख्नुभयो । भन्सार क्षेत्रमा ढुवानीका सवारीसाधन व्यवस्थित रूपमा राख्ने व्यवस्था गर्नुपर्ने, लुम्बिनी क्षेत्रमा ट्रक पार्किङको उचित व्यवस्थापन गर्नुपर्ने तथा ढुवानी व्यवसायीका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने सहभागीको माग थियो।
पश्चिमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष यमबहादुर जिसीले रसुवामा आएको बाढीबाट ढुवानीका सवारीसाधनमा ठूलो क्षति पुगेको बताउनुभयो । लुम्बिनी ट्रक यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष विष्णु खरेलले नेपाल सरकारले तोकेको भन्दा बढी भाडादर व्यवसायीले नखोजेको बताउनुभयो। लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझीले संस्था स्थापना गरेर मात्र नहुने भन्दै ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । रुपन्देही नागरिक समाजका वरिष्ठ उपाध्यक्ष विकास रायमाझीले व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले मालबाहक सवारीसाधन मुलुकको आपूर्ति व्यवस्थाको महत्वपूर्ण आधार भएको बताउनुभयो।
ढुवानी व्यवसायी संघ लुम्बिनीका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष विक्रम पन्थीको स्वागत तथा एलिना आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
अध्यक्षमा माधव आचार्य
त्यसै गरी, शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले माधव प्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । प्रमुख निर्वाचन अधिकृत जगत बहादुर रायमाझीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा भेषराज बस्याल, प्रथम उपाध्यक्षमा राम नारायण ठाकुर (मुन्ना), द्वितीय उपाध्यक्षमा विशाल रायमाझी, महासचिवमा बिनोद कुमार अर्याल, सचिवमा रिषि बाबु कुवँर र कोषाध्यक्षमा दिपक रेग्मी निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यमा हरि बहादुर थापा क्षेत्री, पुर्ण बहादुर के.सी., दिपक गौतम र जिवन श्रेष्ठ प्रधान निर्वाचित हुनुभएको छ । संघको सल्लाहकारमा रामकाजी श्रेष्ठ र विक्रम पन्थी चयन हुनुभएको छ ।











