भैरहवा, चैत । स्वदेशी लगानी र नेपाली आतिथ्य संस्कृतिमा आधारित होटल पौवा प्रालिले आफ्नो १०औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ।
कम्पनीले चैत २६, २७ र २८ गते देशभरका आफ्ना सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना गर्ने जनाएको छ। उत्सवमा नेपाली रैथाने परिकार, विशेष आतिथ्य र सांस्कृतिक प्रस्तुतीमार्फत ग्राहकलाई फरक अनुभव प्रदान गरिने बताइएको छ।
होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार उत्सवमा सहभागी गराउन देशभरबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको छ। भैरहवा शाखाका महाप्रबन्धक निशान खरेलले उत्सवमा आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा व्यक्त गर्नुभयो।
रुपन्देहीको सालझण्डीबाट सात कोठाको सानो संरचनाबाट सुरु भएको होटल पौवा हाल देशका विभिन्न स्थानमा २० शाखासम्म विस्तार भएको छ। नेपाली भाषा, संस्कृति र रैथाने खानाको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको कम्पनीले आतिथ्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा चैत २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गरिनेछ। ‘बितायौं बालापन’ अवधारणामा हुने उक्त सम्मेलनमा लगानीकर्ता तथा सरोकारवालासँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गरिने कम्पनीले जनाएको छ।
कम्पनीले ‘मिसन १००’ लक्ष्यसहित सेवा विस्तार, गुणस्तर अभिवृद्धि, प्रविधि प्रयोग र मानव संसाधन विकासमा जोड दिने रणनीति अघि सारेको छ। हाल कम्पनीमा करिब एक हजार कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ।
यसैबीच, नयाँ वर्ष २०८३ को स्वागतमा चैत ३० गते देशका अधिकांश शाखामा ‘शुभकामना साँझ–२०८३’ आयोजना गरिनेछ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ।
होटल पौवाले विभिन्न चाडपर्वमा विशेष कार्यक्रम गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान दिँदै आएको जनाएको छ।






