भैरहवा । नेकपा (एमाले) का नेता तथा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार खिमलाल भट्टराईले एमाले मुलुकको विकास र जनताको जीवनस्तर उकास्ने स्पष्ट भिजन र मिसनसहित अघि बढेको पार्टी भएको बताएका छन्।
चुनावी प्रचारप्रसारको क्रममा रहेका भट्टराईले मतदातासँग कुरा गर्दै एमाले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा रहँदासमेत जनताको पक्षमा काम गरेको दाबी गरे । उनका अनुसार कृषि, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाका क्षेत्रमा एमालेले उल्लेख्य सुधारका कार्यक्रम अघि बढाएको छ।
एमालेले गरेका कामहरूको सूची लामो छ, हामी घण्टौँसम्म उपलब्धि प्रस्तुत गर्न सक्छौँ, उनले भने, अन्य दलले भने त्यस्तो आत्मविश्वासका साथ आफ्ना कामबारे बोल्न सक्दैनन् ।
देशविरुद्ध हुने विभिन्न दाउपेच र षडयन्त्रप्रति सचेत रहँदै एमालेले राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता नगर्ने उनले स्पष्ट पारे। भट्टराईले सिंगापुरका ली क्वान यू र भारतको राजनीतिक स्थिरताको उदाहरण दिँदै विकासका लागि नेतृत्वको निरन्तरता आवश्यक हुने बताए।
बारम्बारको राजनीतिक अस्थिरताले देशको प्रगति अवरुद्ध भएको उल्लेख गर्दै उनले विपक्षी दलले एमालेको गति रोक्न ‘खुट्टा तान्ने’ राजनीति गरेको आरोप लगाए।
हामी विदेशीको सामुन्ने लम्पसार पर्दैनौँ। एमाले ठिङ्ग उभिएको पार्टी हो। जनताले मन पराए जितिन्छ, नत्र हारिन्छ, तर राष्ट्रियताको मुद्दामा कहिल्यै झुक्दैनौँ, उनले भने।
भट्टराईले आगामी निर्वाचनमा मतदाताले विकास, सुशासन र राष्ट्रियताको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।






