भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर ज्ञवालीले राष्ट्रियता, स्वाधीनता र आत्मनिर्भरतालाई आफ्नो चुनावी एजेण्डाको केन्द्रमा राख्दै मतदातासँग ‘गुलाफ’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
घरदैलो तथा चुनावी कार्यक्रमका क्रममा बोल्दै ज्ञवालीले सरकारमा सहभागी भइसकेका दलहरूले आफूलाई “नयाँ” भन्न नमिल्ने तर्क गरे। “राष्ट्रघाती सन्धि–सम्झौता गर्ने, पटक–पटक सरकारमा बसेर पनि देशलाई आत्मनिर्भर बनाउन नसक्ने शक्तिहरू कसरी नयाँ हुन्छन् ? खाँटी नयाँ शक्ति त हामी हौं,” उनले भने।
उनले विशेषगरी एमसीसी सम्झौता र लिपुलेक–लिम्पियाधुरा मुद्दालाई उठाउँदै आफ्नो पार्टी सधैं राष्ट्रिय स्वाभिमानको पक्षमा उभिएको दाबी गरे। “एमसीसीको विरोध गर्दा हाम्रा दुई जना सहिद हुनुभयो, २२ जना साथीहरू अहिले पनि जेलमा छन्। राष्ट्रियता र सीमाको सवालमा लड्नेहरूलाई दमन गरिएको छ,” उनले आरोप लगाए।
ज्ञवालीले निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोडका रूपमा चित्रित गरे। “यो चुनाव केवल सांसद छान्ने प्रक्रिया होइन, देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने कि पुरानै शक्तिलाई दोहोर्याउने भन्ने जननिर्णय हो,” उनले भने।
उनले अन्य दलहरूलाई लक्षित गर्दै “वर्षौं सरकारमा बसेर पनि परीक्षामा असफल भएका शक्तिहरू फेरि पास हुने दाबी गर्दै हिँडिरहेका छन्” भन्दै टिप्पणी गरे। “जनताको मत लिएर जितेपछि आफ्नै स्वार्थ पूरा गर्ने र जनतालाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनको भनाइ थियो।
आत्मनिर्भर अर्थतन्त्रको सन्देश दिन आफ्नो पार्टीले श्रम–संस्कृतिलाई प्राथमिकता दिएको उनले बताए। “आलु, प्याज लगाएर आत्मनिर्भर बन्ने अभ्यास हामीले पार्टीभित्रैबाट सुरु गरेका छौं। श्रम नगरी देश बन्दैन भन्ने सन्देश दिन खोजिएको हो,” ज्ञवालीले भने।
उनले रुपन्देही–३ का मतदातासहित देशभरका नागरिकलाई एकपटक ‘गुलाफ’ चिन्ह रोजेर नयाँ विकल्पलाई अवसर दिन आग्रह गरे। “देशलाई समृद्ध, स्वाधीन र आत्मनिर्भर बनाउन नयाँ शक्तिलाई संसदमा पठाउनुहोस्,” उनले आह्वान गरे।






