जेन जी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिले पीडा थपिरहेका बखत यस बर्षको दशैं शुरु भएको छ । तर आमरुपमा दशैंको उत्साह छैन । सरकारी संरचनाहरु ध्वस्त छन्, निजी घर, व्यवसाय पनि ध्वस्त छन् । राजनीतिक उथलपुथल भएको छ । दुई दिनमा यति ठूलो परिवर्तन भएपनि जनतामा उत्साह छैन । यद्यपि दशैं मान्न गाउँ फर्किनेको संख्या भने बढेको छ । तर दशैंको समयमा पहिरोले राजमार्गहरु अबरुद्ध छन्, हवाई टिकट पनि अभाव छ । ट्राफिक प्रहरीले चेकिङ्गका नाममा अनावश्यक दुःख दिने, पैसा असुल्ने गरेको छ । सर्वसाधारणले दशैंमा झन् बढी सास्ती भोगिरहेका छन् । यस्तोमा सरकारी निकायले बिशेष ध्यान दिन जरुरी छ । सर्वसाधारणलाई सहज यात्राको वातावरण सिर्जना गर्नुपर्छ ।
कोभिड महामारीपछि देश आर्थिक रुपमा थला परेको छ । उद्योग व्यवसाय धरासायी छ । भ्रष्टाचार बढेको, आम रुपमा बितृष्णा फैलिएको परिस्थितिमा सुशासन र परिवर्तनको माग गर्दै जेन जी आन्दोलन भयो । आन्दोलनका नाममा विध्वंस नै हुन पुग्यो । बिगतमा यति ठूलो क्षति कुनै पनि आन्दोलनमा भएको थिएन । यस्तो परिस्थितिमा दशैं मनाउनु परेको छ । हरेक शोकलाई शक्तिमा बदल्नुपर्ने, हिजोका सबै पीडा आज भुल्नुपर्ने हामी नेपालीको क्षमता रहेको छ । तसर्थ धुलो र खरानी टक्टक्याएर दशैं मनाउनै पर्छ । तर दशैं मनाउन घर फर्किंदा पहिरोले बाटोमै अलपत्र पर्नु, हवाई टिकट नपाएर दुःख पाउनु, जसोतसो यात्रा गर्दा प्रहरी चेकिङ्गको नाममा सास्ती खेप्नु दुःखको कुरा हो । चरम विकृति र वितृष्णाले वाक्क आम जनतालाई यति ठूलो राजनीतिक परिवर्तनको दुई साता नबित्दै उस्तै प्रवृत्ति दोहोरिनु हुँदैन । अहिले निराशालाई आशामा बदल्न सेवाग्राहीलाई छिटो छरितो सेवा दिने, सुशासन कायम गर्ने, कमभन्दा कम नाफा लिएर उपभोग्य वस्तु उपलब्ध गराउने काम हुनुपर्छ । सरकारी निकाय र निजी क्षेत्रले सर्वसाधारणलाई दशैंको उत्साह ल्याउन आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सक्नुपर्छ । यसपटकको दशैं बिगतको भन्दा अझ बढी मितब्ययी, कम खर्चिलो गर्नुपर्ने छ । घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने उखानलाई चरितार्थ गर्ने बेला पनि हो यो । देश ध्वस्त भैरहेका बेला नागरिकको कर्तब्य पनि हो ।









