भैरहवा । नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. १ रुपौलियाका अजय चौधरी प्रायः क्रिसमन अस्पताल मणिग्रामको वार्ड या बिरामी कुर्ने ठाउँमा भेटिन्छन् । ‘खाली भयो भने वेडमा सुत्छु, नभए बिरामीका भेट्न आउने भिजिटरहरुका लागि बस्न राखिएका लोबेड जोडेर सुत्छु’ –क्रिमसन अस्पतालमा मृगौला डायलाइसिस गराइरहेका अजयले भने – ‘धन्न अस्पतालले बस्न रोकतोक गरेको छैन, यो अस्पताल मेरा लागि घर जस्तै भएको छ ।’

हुन पनि करिब ८ बर्षयता उनले क्रिमसन अस्पतालमै आश्रय लिइरहेका छन् । अजय अस्पतालमा भर्णा भएका बिरामी भने होइनन् । नेपाल सरकारको निःशुल्क डायलासिस कार्यक्रम अन्तर्गत उनले हप्ताको तीन दिन मृगौला डायलासिस गराउनु पर्छ । घर टाढा भएकाले आउ जाउ गर्नभन्दा अस्पताल परिसरमै सजिलो मानिरहेका छन् ।
‘डायलासिस निःशुल्क छ, पैसा तिर्नुपर्दैन, तर घरबाट आउन जान टाढा भएपछि यतै बस्ने गरेको छु’ – उनले सुनाए । होटलमा बस्ने पैसा नहुँदाको बाध्यतालाई बुझेर अस्पताल कर्मचारीहरुले पनि सहयोग गरेर उनलाई बस्न दिने गरेका छन् । खाना भने अस्पतालकै क्यान्टिन या आसपासका होटलमा खाने गरेका छन् ।
डायलाइसिस विभाग ईन्चार्जसमेत रहेकी अस्पतालकी नर्स मोनिका जिसी होटलमा बस्न सक्ने अवस्था नभएको र घर पनि टाढा भएकाले मानवीय हिसावले अजयलाई बस्न दिइएको बताउँछिन् । जिसी भन्छिन् – ‘नियमित आउँदा आउँदा उनी त हाम्रो परिवारजस्तै बनेका छन् ।’
क्रिमसन अस्पतालमा अजयले डायलाइसिस गर्न थालेको आठ बर्ष पुग्न थालेको छ । २०७४ साल असोज १९ गते काठमाण्डौंको किस्ट अस्पतालबाट रिफर लिएर आएका उनको यहाँ निरन्तर डायलाइसिस भैरहेको छ ।

उपचार निःशुल्क भएपछि उनले खाना खर्चको जोहो सरकारबाट पाउने मासिक ५ हजार रुपैयाँ र परिवारको सहयोगबाट निर्वाह गरिरहेका छन् । ‘सानो तिनो काम पाए गर्छु भनेर अस्पतालको क्यान्टिनमा पनि वेटरको काम गरेँ’ – अजयले भने, ‘अहिले भने कहिं काम गरेको छैन ।’
२९ बर्षिय अजयको दुवै मृगौलाले काम गर्न छाडेको ११ बर्ष पुग्यो । १७ बर्षको उमेरमा घरकै मोटरसाईकल ग्यारेजमा काम गर्दै गर्दा अचानक उनको शरिर सुन्निन थाल्यो । ‘६/७ महिनासम्म गाउँमै धामी झाँक्रीसँग उपचार गराईयो’ – उनले भने – ‘मृगौलामा समस्या रहेछ, दुई जना धामीले भूत लाग्यो, छौंडाले सतायो भन्दै झारफुक गर्दा के सन्चो हुन्थ्यो ।’
खुट्टा झनै सुन्निएपछि अजय दाइसँग कावासोतीको एक अस्पतालमा पुगे । त्यहाँको उपचारले पनि सन्चो नभएपछि भरतपुर गए । भरतपुरमा रगत र पिसाव परिक्षणबाट बल्ल मृगौलाको समस्या पत्ता लाग्यो । भरतपुरले काठमाण्डौंको वीर अस्पतालमा रिफर गरिदियो । त्यतिबेलै भूकम्प गएकाले थप उपचारका लागि उनी वीरमा जान सकेनन् । दुई महिनापछि मात्र त्यहाँ पुगेर उपचार तथा औषधी शुरु गरे ।

‘बीर अस्पतालको उपचार चलिरहेको थियो, तर म आर्थिक समस्याले घर फर्किएँ’, अजय भन्छन् – ‘एक बर्ष औषधी छुट्यो, घरमा सिरिसय भएपछि काठमाण्डौंको किस्ट अस्पतालमा गएर डायलाइसिस शुरु भयो ।’ त्यसयता भने नियमित डायलासिस भैरहेको छ । धामी, झाँक्रीको चक्करमा नपरेर समयमै अस्पताल पुगेको र नियमित उपचार गरेको भए शायद निको हुन्थ्यो कि ! अचेल उनलाई लाग्न थालेको छ ।
शुरुवातमा प्रायःजसो टाउको दुख्ने गरेको र चिकित्सकको परामर्श बिना नै धेरै सिटामोल प्रयोग गरेको कारणले पनि त्यसको असर मृगौलातिर देखियो कि भन्ने पनि अजयलाई आशंका छ । ‘जे हुनु भैगो, अब भने डायलाइसिस छुटाउँदिन’ – उनी भन्छन् ।
क्रिमसन अस्पतालमा ६ वटा मेशिनबाट दैनिक डायलाइसिस हुने गरेको छ । बिहान ७ बजेदेखि राती १२ बजेसम्म पनि गर्नुपर्छ, ईन्चार्ज जिसी भन्छिन् प्रायः सबै नियमित बिरामीको डायलाइसिस हुने गरेको छ, नयाँ बिरामी आए समय व्यवस्थापन गरेर मात्र गर्न सकिन्छ ।
नेपाल सरकारको निःशुल्क उपचार कार्यक्रम अन्तर्गत गत बर्ष मात्रै ५ हजार ३ सय ८० पटक डायलाइसिस गरिएको अस्पतालको डायलाइसिस विभागले जनाएको छ । ५ सय ९४ जना मृगौला रोगीले यो सेवा लिइरहेका छन् ।

नियमित डायलाइसिससँगै आहारविहारमा ख्याल गर्न सके मृगौला रोगी दीर्घजीवी हुने अस्पतालकी नर्स मोनिका जिसी बताउँछिन् । ‘प्रशस्त डाइट खानुप¥यो, जथाभावी खानुभएन, खानपान र जीवनशैली स्वस्थबद्र्धक भए डायलाइसिसबाट राम्रै हुन्छ, – जिसीको विश्वास छ ।’









