भैरहवा, ३ भदौ । विगत १० वर्षमा नेपालमा भएका विभिन्न घटनाक्रमले आम जनजीवनसँगै देशकै समग्र अर्थतन्त्र प्रभावित बन्यो । विगत एक दशकलाई हेर्दा २०७२ साल वैशाखमा आएको महाविनाशकारी भुकम्पपछि मधेश आन्दोलन र भारतद्वारा लगाइएको अनौपचारिक नाकाबन्दीले करिब ३ वर्ष धक्का दियो । केही लयमा फर्किन लागेको अर्थतन्त्र २०७६ सालमा कोभिड–१९ का कारण झन प्रभावित बन्यो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडले विश्वलाई नै आक्रान्त बनायो । जसकारण नेपालमा लकडाउनको स्थिति भयो । समग्र जनजीवन प्रभावित बन्यो । विमान दुर्घटना, सवारी दुर्घटना, हत्या हिंसा, आन्दोलनसहितका केही प्राकृतिक विपत्तिले थप मर्माहत बनायो । भारत–पाकिस्तान सीमा झडप, रुस–युक्रेन, अफगानिस्तान, सिरिया, बंगलादेशलगायत विदेशी राष्ट्रहरुमा भएका घटनाहरुले नेपाललाई थप प्रभावित बनायो ।
माथि उल्लेखित घटनाहरुका कारण देशले धेरै धनजनको क्षति व्यहोर्नुप¥यो ।
२०७९ सालमा आम निर्वाचन भयो । संघ, प्रदेश र स्थानीय तहको निर्वाचनले केही आशा जगायो । केही नयाँ अनुहार निर्वाचित भए, अधिकांश पुरानै अनुहार दोहोरिए । तीन वर्षमा दुई प्रधानमन्त्री भए । स्थिर सरकार नबन्दा देशले सोचेअनुसार विकासको गति लिन सकेन । गत भदौ महिनामा अप्रत्याशित रुपमा भएको जेनजी समूहको आन्दोलनले झन अन्यौल सिर्जना गरेको व्यवसायीहरु बताउँछन् । आन्दोलनका कारण धेरै जनधनको क्षति व्यहोर्नुप¥यो । सरकारी/निजी भौतिक संरचना र व्यापारिक प्रतिष्ठानहरु जलाइएका छन् ।
अहिले देशमा पुर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको मध्यावधि निर्वाचन सम्पन्न गर्नु अहिलेको सरकारको मुख्य काम हो । अबको ६ महिनामा देशको अर्थतन्त्रमा ठूलै परिवर्तन आउँला भन्नु केवल झिनो आशा मात्र रहेको व्यवसायी बताउँछन् । यद्यपि, अन्तरिम सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिएर व्यवसायिक वातावरण बनाउनुपर्ने निजी क्षेत्रले माग गरेको छ । व्यवसायी र रोजगारदातालाई निरुत्साहित नबनाउन उनीहरूको आग्रह छ । अनाहकमा अकल्पनीय क्षति व्यहोर्नुपरेको तथ्यलाई मनन गरी नयाँ सरकारले व्यवसायीलाई निब्र्याजी कर्जा दिने व्यवस्था मिलाउनुपर्ने उनीहरू बताउँछन् ।
देशमा विभिन्न समयमा भएका घटनाका कारण आक्रान्त बनेका भैरहवाका व्यवसायीहरु विस्तारै उठ्नेमा आशा गर्छन् । देशकै दोस्रो भन्सार नाका बेलहियाको समीपमा रहेको यो ठाउँ व्यापारिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । भैरहवा र आसपास देशमै प्रतिष्ठित उद्योगधन्दाहरु रहेका छन् । सिमेन्ट, खाद्यान्न, स्टिल उद्योग, खाने तेल, गार्मेन्टलगायतका उद्योगहरु रहेका छन् । त्यस्तै साना तथा घरेलु, होटल, पर्यटन र कृषि उद्योगहरु पनि छन् । शिक्षा र स्वास्थ्यमा पनि भैरहवाले उल्लेख्य भूमिका खेलेको छ । भैरहवा सम्भावनाको खानी हो । यहाँ विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गौरवका आयोजना रहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा पर्यटनको दृष्टिले पनि महत्वपूर्ण छ । आन्तरिक र बाह्य गरी वार्षिक लाखौ पर्यटकहरु भैरहवा भएर नै गन्तव्य पुग्ने गरेका छन् । लगानीकर्ताहरुको आकर्षण केन्द्रको रुपमा रहेको छ ।
विगतका घटनाक्रमले थलिएका देशैभरका व्यवसायीहरुलाई सरकारले लयमा फर्काउनेतर्फ ध्यान दिनुपर्छ । उत्पादनमुखी कृषि र व्यापार नै अर्थतन्त्रको मेरुदण्ड हो । देशमा अस्थिर सरकार हुनु, भष्टाचार र बेरोजगारी समस्यालाई समाधान गर्नुपर्छ । आशा गरौ, समग्र रुपमा प्रचुर सम्भावना बोकेको रुपन्देहीको जिल्लाको सदरमुकाम भैरहवासँगै समग्र देशकै व्यापारिक क्षेत्र पुनः जुर्मुराउनेछ । निराश व्यवसायीहरु पुनः एकपटक विकासको आशा बोकेर व्यापारमा फर्किनेछन् । सरकारले व्यवसायीहरुलाई साथ दिनुपर्छ ।










