काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन् । उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै छन् । उनीहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन् ।
आफ्नै पोसाकमा सजिएका उनीहरु असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन् । उनीहरुले गरिरहेको काम काठमाडौँ उपत्यकाबासीका लागि नौलो थियो । पुरुषहरु कोसी (आरी) बनाउँदै त महिलाहरु कपडामा बुट्टा सिलाउँदै थिए।
बिहीबारदेखि यहाँ सुरु भएको राष्ट्रिय ललितलकला प्रदर्शनी, २०८२ का अवसरमा ललितकलाकै इतिहासमा पहिलो पटक राउटेहरु यसरी कला सिर्जनामा सहभागी भएका हुन्। उनीहरुले यहाँ प्रत्यक्ष रुपमा कला कार्यशाला नै गर्नु अर्को नयाँ थियो ।
प्रदर्शनीमा कला हेर्न आइपुगेका कला पारखीहरु राउटेको प्रस्तुति देख्दा सेल्फीमा रमाएका दृश्य हेर्न लायक थियो । उनीहरुले राउटेले गरेका काम श्रव्यदृश्यमा कैद गर्न भ्याए। मुङ्ग्रोको सहयोगमा बसिलो प्रयोग गरेर उहाँहरुले हस्तकला कोसी बनाए । ‘सानो छिनु ल्याइएन, त्यसैले चिल्लो बनाउन पाएन, बसिलोले काठमा आकार बनाउँदै छु’, दीपक शाहीले जवाफ दिए।
उनका अनुसार डाडु, पन्यूँ, कोसी, ढकल, सन्दुक, पिर्का राउटेका मुख्य हस्त–शिल्पकला हो । प्रदर्शनीमा उनीहरुका हस्तकलासमेत राखिएको छ । यो पनि ललितकलाको इतिहासमै पहिलो पटक सरकारी तहबाट राउटेको कला प्रदर्शनीमा समावेश भएको हो ।
त्यसमाथि हस्त शिल्पकलामा यसपटक उनीहरुले बनाएको कला प्रादेशिक पुरस्कार प्राप्त गर्न समेत सफल भएको छ । उनीहरुले ३० हजार राशिको पुरस्कार पाए । ‘हामी खुसी छम्, यहाँ आएम्, पैसा दिनुभयो, हामीले बनाएका सामान बिक्री भइरहेको छ’, दीपकले थपे।
उनीहरुको २० वटा कोसी बिक्रीका लागि भनेर यहाँ ल्याइएको थियो । सबै बिक्री भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए।
उनले भने, ‘नेपालको लोपोन्मुख समुदाय राउटेका हस्त शिल्पकलालाई हामीले राष्ट्रियस्तरमा जोड्न सफल भएका छौँ, कलामा पुनःजागरण भनेर हामीले काम गरिरहेका छोँ, यसरी रैथाने मौलिक कला जोगाउनु हाम्रो महत्वपूर्ण उद्देश्य थियो, एक हिसाबले सफल भएको महसुस गरेका छौँ ।’ उनले यसपालि तराईको डोम समुदायको कलासमेत समावेश गरिएको बताए ।
मुख्यगरी राउटेहरुसँग जोडिएको प्रादेशिक कला प्रदर्शनीले हो । गत फागुन ६ देखि १० गतेसम्म कर्णालीमा प्रादेशिक कला प्रदर्शनी आयोजना गरिएको थियो ।
राउटे समुदायको कला पनि छ भन्ने थाहा पाएपछि स्थानीयहरुको सहयोगमा उनीहरुको बस्तीमै गएर कला प्रदर्शनीमा सहभागी गराइएको थियो । ‘उहाँहरुले कर्णालीमा पनि प्रत्यक्ष कला कार्यशाला गर्नुभएको थियो । त्यही बेलादेखि उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्थ्यो, उहाँका सहयोगी लालबहादुर खत्रीसँगको समन्वयमा काठमाडौँमा कला सिर्जनाका लागि ल्याउन सफल भयौँ’, कर्णाली कला प्रदर्शनीका संयोजक, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामाले बताए ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले एउटा प्रयास गरेर रैथाने कलाहरुलाई उजागर गर्ने प्रयास गरेको र आगामी दिनमा यस्ता मौलिक कलाका साथै अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने बताए ।
सूर्यनारायणले काठमाडौँमा कला देखाउन पाएनन्
कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटे मुखिया सूर्यनारायण शाहीको कला प्रदर्शनी भएको थियो । उनले कला कार्यशालामा समेत आफ्नो कला देखाएका थिए । तर उनको केही समय अघि निधन भएकाले काठमाडौँमा उनले कला देखाउन पाएनन् । यद्यपि उनले बनाएको पिर्का र ढकनसहितको कोसी यहाँ देख्न सकिन्छ ।
प्रदर्शनीमा लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्यूँ राखिएको छ । । उनीहरुका कला प्रदर्शनीको मुख्य आकर्षण पनि रहेको प्रतिष्ठानका उपकुलपति तथा उक्त कला प्रदर्शनी संयोजक लालकाजी लामाले बताए ।
कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहने छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ मार्फत छानिएका कलाकृति समावेश गरी यहाँ राष्ट्रिय कला प्रदर्शनी सुरु गरेको हो ।
प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकलारमूर्तिकला, वास्तुकला, समसामयिकरआधुनिक चित्रकलारमूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् । जसमा मुख्यतः थारू, अवधि, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कलाको विशेष सहभागिता रहेको छ ।
नारायण ढुङ्गाना/रासस









