बासुदेव पोख्रेल
गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३, थोर्गामा जन्मिएका पवन परियार यतिबेला नेपाली सांगीतिक क्षेत्रमा एरेन्जरका रूपमा सक्रिय र चर्चित बन्दै गएका छन्। सामान्य गाउँघरको परिवेशमा हुर्किएका परियारको संगीतप्रतिको मोह भने बाल्यकालदेखि नै गहिरो थियो।
सानै उमेरदेखि रेडियो सुन्ने, गीतहरू गुनगुनाउने र ती धुनहरूलाई आफ्नै शैलीमा दोहोर्याउने उनको बानी नै पछि संगीत यात्राको आधार बन्यो। गाउँमा उपलब्ध सीमित साधन–स्रोतकै बीच उनले रेडियोबाट सिक्दै आफूलाई तयार पारे। विस्तारै उनी आफैं रेडियोमा गीत गाउने अवसरसम्म पुगे, जसले उनको आत्मविश्वास अझ बढायो।
सुरुआती चरणमा गायकको रूपमा पहिचान बनाएका परियारले “घर त मेरो गुल्मी चारपाला”, “परदेशीको बाटो कुरेर” लगायत दर्जनौं गीतहरूमा आफ्नो स्वर दिएका छन्। उनका गीतहरूमा गाउँघरको माटो, परदेशी पीडा र लोकजीवनको भाव झल्किने भएकाले श्रोतामाझ लोकप्रिय बन्दै गएका छन्।
संघर्षपूर्ण यात्राबीच उनले आफ्ना एल्बमहरू सार्वजनिक गर्दै संगीतलाई निरन्तरता दिए। समयसँगै उनले आफूलाई एरेन्जिङ क्षेत्रमा केन्द्रित गर्न थाले। अहिले उनी चर्चित गीतहरूको एरेन्जमा व्यस्त छन् र यही क्षेत्रबाट विशेष चर्चा कमाइरहेका छन्।
उनले एरेन्ज गरेका “जवानीले पोल्यो”, “समय खराब छ”, “एक्लो यो नेउली”, “कालीगंगा सालैजो” जस्ता गीतहरू बजारमा हिट मानिएका छन्। विशेषगरी लोक तथा आधुनिक गीतहरूमा उनको एरेन्जले नयाँ स्वाद थप्ने गरेको छ।
त्यसैगरी देउडा भाकामा आधारित “सिस्नोले पोल्यो” लगायतका गीतहरूमा पनि उनले उत्कृष्ट एरेन्ज प्रस्तुत गरेका छन्, जसले सुदूरपश्चिमको मौलिक लयलाई आधुनिक संगीतसँग जोड्न सफल भएको देखिन्छ।
पवन परियार भन्छन्, “रेडियो नै मेरो पहिलो गुरु हो। त्यहीँबाट सिकेर आज यो स्थानसम्म आइपुगेको हुँ।” उनी आफ्नो सफलताको श्रेय निरन्तर अभ्यास, लगन र दर्शक–श्रोताको मायालाई दिन्छन्।
गाउँबाट सुरु भएको उनको यात्रा अहिले डिजिटल युगको संगीत बजारसम्म आइपुगेको छ। विभिन्न स्टुडियोहरूमा दिनरात खटिँदै उनी नयाँ–नयाँ प्रोजेक्टमा संलग्न छन्। नेपाली संगीत क्षेत्रमा एरेन्जरको भूमिका दिनानुदिन महत्वपूर्ण बन्दै गइरहेका बेला पवन परियार जस्ता प्रतिभाशाली युवाहरूको सक्रियताले यो क्षेत्र अझ सशक्त बन्दै गएको छ।
आगामी दिनमा अझै उत्कृष्ट सिर्जनाहरू दिने लक्ष्यसहित अघि बढिरहेका परियारले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने सपना पनि देखेका छन्। संघर्ष, मेहनत र निरन्तरताले भरिएको उनको यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बन्न सक्ने देखिन्छ।






