भैरहवा । हज तथा उमराहका लागि साउदी अरब पुगेका रुपन्देहीका नेपाली मुस्लिम तीर्थालुहरू खाडी क्षेत्रमा बढेको युद्ध तनावका कारण स्वदेश फर्किन नपाएर अलपत्र परेका छन् ।
खाडीको युद्धले उडान अवरुद्ध हुँदा साउदी अरबको मदिना शहरमा बसिरहेका उनीहरुले उद्धारको माग गरेका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ निवासी ताहिर अलीसहित ३६ जना नेपाली मुस्लिम तीर्थालु हज तथा उमराहका लागि साउदी अरब पुगेका थिए । १५ दिने प्याकेजमा गएका उनीहरुको ३ मार्च २०२६ मा फर्कने तालिका थियो । इरान र अमेरिकाबीच बढेको तनावका कारण उडान रोकिएपछि उनीहरु अलपत्र परेका हुन् ।
“नेपालबाट उमराह–हजका लागि आएका हामी ३६ जना तीर्थालु ३ मार्चमा फर्किने तयारीमा थियौँ। तर खाडी क्षेत्रमा युद्ध सुरु भएपछि हाम्रो उडान रोकियो। अहिले हामी मदिना शरीफमा अलपत्र परेका छौँ,” ताहिरले भने । उनका अनुसार तीर्थालुहरू त्यहाँस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहे पनि हालसम्म उद्धारका लागि ठोस पहल भएको छैन ।
नेपालबाट गएका अन्य दुई समूहका करिब २० जना तीर्थालु पनि सोही क्षेत्रमा रोकिएको उनले जानकारी दिएका छन् । अलपत्र परेका तीर्थालुहरूले नेपाल सरकारसँग यथाशीघ्र उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । युद्धका कारण उडान अवरुद्ध हुँदा बसोबास तथा दैनिक व्यवस्थापनमा कठिनाइ भएको उनीहरूको भनाइ छ ।






