देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न नसक्दा अहिले जनशक्ति अभाव बढ्दै गएको छ । रोजगारीमा भौतारिएर युवा शक्ति खाडी, युरोप, अमेरिकातिर जाने क्रम रोकिन सकेको छैन । रोजगारी होस् या अध्ययन, दिनहुँ विदेश जानेको लर्को देखिन्छ । एसईई उत्तीर्ण हुनासाथ युवायुवतीहरु राहदानी बनाउने, भाषा अध्ययन गर्न प्रशिक्षण केन्द्रहरु धाउने र अध्ययन प्रकृया शुरु गर्ने लहर गाउँसम्म पुगेको छ । अहिले गाउँ रित्तिएका छन् । टोल सुनसान, बस्तीहरु रित्ता, खेतबारी बाँझो हुँदै गएका छन् । विकास गाउँ पुग्दै गर्दा गाउँका मान्छेहरु रोजगारीको खोजीमा शहर या विदेश पलायन भैसकेका छन् । मुलतः रोजगारी त्यसपछि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सुविधाको खोजीमा गाउँ छाड्ने प्रवृत्ति बढेको छ । गाउँ वस्तीमा रोजगारी वा शिक्षाको लागि बाहिर जान नसक्ने पाको उमेरका मानिस मात्र भेटिन्छन् । गाउँमा मलामी समेत नपाउने अवस्था छ । शहरी क्षेत्रमा पनि जनसंख्या घट्दो छ । उच्च शिक्षाको नाममा विदेश गएर उतै पलायन हुनेहरु बढेका छन् ।
हिमाली, पहाडी मात्र होइन, तराईका ग्रामीण क्षेत्र पनि सुनसान बन्दै गैरहेका छन् । कृषि, पशुपालन जस्ता पेशामा युवा पुस्तालाई आकर्षण गर्न नसक्ने, रोजगारीका अन्य क्षेत्रमा अवसर नहुने हुँदा रोजगारीका लागि विदेशिनु बाध्यता जस्तै बनेको छ । नयाँ उद्योग धन्दा खुल्ने, कृषि र पशुपालन व्यवसायीकरण हुने, पर्यटन उद्योग फस्टाउने हो भने मात्रै देशमा रोजगारीका अवसर सिर्जना हुन्छन् । तर पछिल्लो बर्षमा कोरोना महामारीले आर्थिक क्षेत्र चरम संकटमा परेको छ । उद्योग ब्यवसाय धरासायी बनिरहेको छ । चलिरहेका उद्योगहरु बन्द भैरहेका छन् । फाट्टफुट्ट खुलेका उद्योगले बेरोजगारी घटाउन सक्ने अवस्था देखिदैन । बर्षेनी चार–पाँच लाख युवायुवतीले एसईई दिन्छन् । उनीहरुलाई रोजगारी नपाउँदा बिदेश जानुपर्ने अवस्था उत्पन्न हुन्छ । तसर्थ सरकारले कृषि र पशुपालन क्षेत्रलाई ब्यवसायिक बनाउनै पर्छ । कृषि पेशाबाटै मनग्गे आम्दानी लिन सक्ने वातावरण बनाउन उत्पादन र उत्पादकत्व बढाउने, उत्पादित वस्तुहरुको उचित मूल्य पाउने वातावरण बनाउने, पर्यटन, जलश्रोत जस्ता संभावना भएका क्षेत्रहरुलाई उच्च प्राथमिकता दिएर विकास गर्ने तर्फ ध्यान दिनुपर्छ । अहिले तीनै तहका सरकारको उद्देश्य कृषि र पशुपालनलाई व्यवसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने भन्ने छ । तर नारामा मात्र सीमित हुँदा अवस्थामा परिवर्तन आउन सकेको पाइदैन । –सम्पादकीय









