“एप्पल“ को स्पेलिङ राम्ररी भन्न नसकेकोले सानो भुन्टेले बाबाको झापु पायो । सानी भुन्टीले ““कलम““ लेख्न सकिन, उसकी ममीले बेस्सरी ठटाइन । “ गुरु“ लेख्न नसकेको झोकमा शिक्षक बेलारामले झण्डै बिचरो नत्थुको नाथ्रो नफुटालेका । यस्ता दृष्टान्त बग्रेल्ती छन हाम्रो घर , विद्यालय समाजमा ।लेख्न पढ्न नजानेकै भरमा शिक्षकको डर त्रास र अभिभावकको आतङ्क खपि नसक्नु भएको छ बालबालिकाको निम्ति ।
शिक्षा जीवनको आधारहो ।यसमा दुबिधा छैन । तर बालबालिकालाई अति छिटो शिक्षित बनाउनु परेको छ हामीलाई । घोटाउनु सम्म घोटाएर डिस्टिङ्सनको नतिजातर्फ मात्र छ हाम्रो प्रवृत्ति । शिक्षा व्यवहारिक कसीमा खरो उत्रनु पर्नेतर्फ हाम्रो ध्यान छैन ।बालबालिकामा निरासा , हतास मनोवृत्ति छाएको छ । नाकको सिगान र आची सफा गर्न नसक्ने बच्चाबच्चीको बाल मस्तिष्कलाई तहसनहस पार्नेतर्फ केन्द्रित छ हाम्रो दिनचर्या ।
युरोप अमेरिकामा बालबालिकालाई ७/८ वर्षको भएपछि अक्षरको दुनियाँमा प्रबेश गराइन्छ ।हाँस्दैखेल्दै उनीहरु अक्षर सिक्छन् शब्द बनाउछन् त्यसको अर्थ बुझ्छन् र रमाउँछन् । व्यागको भारी बोकाउने चलन छैन ।गृहकार्य सिमितमात्रामा दिइन्छ ।पढ्न लेख्न नजानेकै कारणले शारीरिक मानसिक यातना दिने भन्ने कल्पनै हुन्न त्यहाँ।
अभिभावकको बढ्दो अपेक्षा
हिजोआज प्रायः अभिभावकहरू आफ्नो काममा अधिक व्यस्त छन् ।व्यस्त अभिभावकले आफ्ना बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा दिन निजि विद्यालयमा भर्ना गरेका हुन्छन् बालबालिकालाई । उनीहरू विद्यालय माथि सतप्रतिशत निर्भर भएको जस्तो देखिन्छ ।विद्यालयले उनीहरूको त्यो अपेक्षालाई पुरा गर्न सम्पूर्ण संयन्त्र प्रयोग गरेको जस्तो देखिन्छ । शिक्षकहरू विद्यालय प्रशासनको उक्त अपेक्षा पुरा गर्न पुरै दत्तचित्त देखिन्छन् ।
समस्या यहीँ छ
हरेक शिक्षक आफ्नो ड्युटी अब्बल साबित गर्न चाहन्छ किनकी विद्यालय प्रशासनले अभिभावकको मनोविज्ञानलाई ध्यानमा राखेर शिक्षकबाट अब्बल नतिजाको अपेक्षा गरेको हुन्छ । यता शिक्षकले अनेक पृष्ठभुमिबाट आएका बालबालिकाहरूको सामना गर्नु परेको हुन्छ अर्थात् सबैलाई एउटै डालोमा राखेर अध्यापन गर्न परेको हुन्छ । शिक्षक ठान्दछ ।मैले ठिक पढाएँ । मेरो ड्युटी पुरा भयो ।यता बच्चाले स–साना शब्द बुझिरहेका हुदैनन् । जब बच्चाले बुझ्दैनन् । शिक्षक आक्रामक बन्छ । नबुझ्ने विद्यार्थीले ध्यान पढाईमा केन्द्रीत गर्ने कुरै भएन ।उसमा थप मानसिक दवाव सिर्जना हुन्छ ।उनीहरूमा विचलन आउन सुरु हुन्छ ।पढ्नुपर्ने कर्तव्यको साटो पढिदिनुपर्ने नकारात्मक बाध्यताले ग्रस्त हुन्छन् ।
पढाइमा मन नलगाउने बालबालिकालाई के गर्ने ?
त्यस्ता विद्यार्थीलाई सजिला भन्दा सजिला प्रश्न सोध्ने गर्यो भने नतिजा परिणाममुखी हुन्छ ।त्यस्ता प्रश्नको सही उत्तरको लागि उसलाई शिक्षकले सक्दो प्रशसा गर्न कन्जुस्याइ नगर्ने ।जसबाट उसलाई हौसला प्राप्त हुन्छ र बिस्तारै पढाईतिर अभिरुची राख्न थाल्छ । पढाईमा कमजोर भए पनि तिमीले मिहिनेत ग–यौ भने राम्रो गर्न सक्छौ भनेर तारिफ गर्ने ।उसलाई कक्षाकोठामा नेतृत्व जिम्मेवारी सुम्पने ।अभिभावकले पनि ऊ प्रति स–साना जिम्मेबारी सुम्पने ।सानो सफलताको लागि धेरै प्रशंसा गर्न नचुक्ने ।
खेलमा पढाइका कुरा जोड्ने
शिक्षक पनि विद्यार्थीसङ्ग खेलमा जोडिएको राम्रो । त्यसरी उनीहरूसङ्गै खेल्दा केही मधुर शब्दावलीहरू प्रयोग गर्न नचुक्ने । खेल्दा रिसाउने झर्कने गाली गर्न पटक्कै हुदैन कतिपय अवस्थामा त कमजोर विद्यार्थीलाई खेललाई पढाइसङ्ग तालमेल मिलाउन सकिन्छ । व्यवहारिक ज्ञान र अनुशासनका धेरै कुराहरू उसले सिक्ने अवसर पाउँछ ।पढाइमा ध्यान केन्द्रीत नगर्ने बालबालिकालाई ब्याटमिन्टन टेबुलटेनिस, भलिबल कृकेट जस्ता खेलले कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।
फास्टफुडबाट शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर
अचेल खाजाको सजिलो विकल्प बनेको छ तैयारी खाना अर्थात् फास्ट्फुड । जसलाई जङ्कफुड पनि भनिन्छ । व्यस्तताको कारणले होस् वा अल्छीपनाको कारणले बालबालिकालाई केही पैसा दिएर विद्यालय पठाउने चलन छ ।यो सरासर बालबालिकाप्रतिको हेलचेक्र्याइ हो ।यसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने त छदैछ मानसिकरुपमा पनि कमजोर बनाउने कुरामा दुईमत छैन ।हुन त फास्टफुडको बारेमा सबैको एउटै मत छ – यो स्वास्थ्यको दृष्टिले अत्यन्त हानिकारक छ ।यो कुरा जान्दाजान्दै पनि यसलाई निरन्तरता दिनु अवश्यमेव विडम्बनाको कुरा हो ।यस प्रवृत्तिलाई सच्च्याउनै पर्छ ।घरमा तयार पारेको खाजा स्वास्थ्यको दृष्टिले राम्रो त हुदै हो त्यसमा ममताभाव पनि लुकेको हुन्छ ।यस्तो खानामा भोक मार्ने तागत पनि रहेको हुन्छ । बालबालिकाको स्मरण शक्ति पनि उल्लेख्य रूपमा बढ्छ ।
अभिभावक चनाखो हुनुपर्ने
अभिभावक समयसमयमा विद्यालयमा जाने ।शिक्षकहरूसङ्ग भेटघाट गरी आफ्ना बालबालिकाको पठनपाठन र गतिबिधिबारे जानकारी लिने गर्नुपर्छ ।उनीहरूका पढ्ने लेख्ने किताव ,कापी नियमित चेक गर्ने बानी बसाल्नुपर्छ । किताब कापीको अवस्था , पढाइ लेखाइको अवस्थाको बारेमा अद्यावधिक हुनुपर्छ । अनुशासनको अवस्थाप्रति त झनै सचेत बन्नुपर्छ ।
गाली होइन उसको जिम्मेबारी महसुस गराऔँ
पढाइमा कमजोर भएकै कारण गाली गर्नुको सट्टा उसलाई पढ्ने लेख्ने तौर तरिका सिकाउने गरौ ।गाली जसलाई पनि अप्रिय हुन्छ ।गाली गरेर उनिहरूलाई हतास र दुरुत्साहित पार्नुको साटो उनीहरूसङ्ग केही समय बिताउने गरौँ ।उसको कमजोरी कहाँनेर छ ।पत्ता लगाउने काम गरौ ।समस्या छिटै सुल्झन्छ ।
समान महत्व र व्यवहार आवश्यक
बालबालिका सबैलाई स्नेहपूर्ण व्यवहार गर्नुपर्छ ।सबै जात वर्ण लिङ्ग धर्ममा आबद्ध बालबालिकालाई एक समान व्यवहार गर्नुपर्छ । देरै सचेत अभिभावकका बालबालिकालाई अधिक ध्यान दिने र कम सचेत अभिभावकका बालबालिकालाई ज्कम ध्यान दिने गर्नु हुदैन । कमजोर बालबालिकाको पठनपाठन सुधार्न आधारभूत सिकाइमा जोड दिनुपर्छ ।भय त्रासको हथकण्डा अपनाउनु हुदैन ।
अन्तमा शिक्षाभनेको सुगा रटाइबाट प्राप्त हुने चिज होइन । शिक्षक अभिभावकका , व्यवहार, जीवनशैली , प्रयोगात्मक अभ्यसले ले नै शिक्षाको वास्तविक उपस्थिति दर्शाउँछ । पुस्तक एउटा शिक्षालाई सघाउने जानकारीमूलक दस्तावेज हो । शिक्षक त्यसका सहजकर्ता हुन् । शिक्षकले जीवनको बाटो फराकिलो पार्न ल्याकत राख्छन् भने शिक्षक गुरु बन्न सक्छन । त्यसको छत्रछायामा विद्यार्थी सुयोग्य शिष्य बन्न सक्छनं।शिक्षा व्यवहारिक कसीमा खरो उत्रन सक्नुपर्छ ।युग सापेक्ष शिक्षामा जोड दिनु आजको आवश्यकता हो । पाट्यपुस्तकमा आधारित शिक्षाको अतिरिक्त जीवनोपयोगी शिक्षा प्रदान गर्नु असल शिक्षकको कर्तव्य हो ।
सिद्धार्थनगर–७, भैरहवा
शिक्षालाई यसरी बुझौ कि !
शिक्षाभनेको सुगा रटाइबाट प्राप्त हुने चिज होइन । शिक्षक अभिभावकका , व्यवहार, जीवनशैली , प्रयोगात्मक अभ्यसले ले नै शिक्षाको वास्तविक उपस्थिति दर्शाउँछ । पुस्तक एउटा शिक्षालाई सघाउने जानकारीमूलक दस्तावेज हो । शिक्षक त्यसका सहजकर्ता हुन् ।

कमल पोख्रेल “ निश्छल “








