अहिलेसम्म विश्वकै सबैभन्दा उचाईंमा रहेको मानिएको तिलिचो ताल अवलोकन गर्ने दिन थियो आज । बिहान ३ बजेको अलार्म सेट गरेर सुतेको भए पनि मोबाइलले जगाउनुपूर्व आफै जागें । समुद्री सतहदेखि ४१५० उचाईंमा रहेको तिलिचो बेसक्याम्पस्थित होटल मुन लेकको कोठा नम्बर १०२ बाट २०८२ कार्तिक ११ गते बिहान अँध्यारोमै बाहिर निस्कदा परिसर हिउँले सेताम्य थियो । हिउँमा जुत्ता भसक्क गडे, खुट्टा चिसो भयो । हिजोसाँझ ७ बजेदेखि पर्न थालेको फुसफुस हिउँ रोकिएको छैन । कोठा नम्बर १०४ का साथीहरु पनि उठिसकेका थिए । एकैठाउँ जम्मा भयौं, तर्कवितर्क सुरु भयो । मैले अघिल्लै दिन हिडौं भनेको सम्झाउँदै प्रकाश न्यौपानेलाई गाली पनि गरें । अघिल्लो दिन हिंडेको भए हाम्रो टोली लक्ष्यमा पुग्न सक्ने रहेछ भन्ने महसुस भयो । उज्यालो भएपछि जान सकिन्छ कि भन्ने एउटा झिनो आस चाहिं रह्यो ।
कार्तिक ९ मा भैरहवाबाट यो पंक्तिकारसहित लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, महासचिव प्रकाश, कोषाध्यक्ष बिष्णु प्रसाद भट्टराई, काशी नोबेल एकेडेमीका सह–प्राचार्य श्री रायमाझी, सन्तोष रायमाझी, मनोज खरेलसहित चालक शिशिर अर्याल जीपमा र अजय सुवेदी तथा विक्रम थापा मोटरसाईकलमा तिलिचो लक्ष्य लिएर हिडेका थियौं । अघिल्लो दिन चुचुराहरुमा मात्र देखिएको हिउँले आज भने जताततै ढपक्कै ढाकेको छ, बिसुन सुकाएझैं । झिसमिसेमै केही विदेशी पर्यटकहरु ताल पुग्न बेसक्याम्पबाट बिहानै उकालिए पनि नसकेर फर्किएका रहेछन् । काठमाडौंका आठ युवाहरुको टीम पनि बाईसघुम्ती पुगेर फर्किएछ । उज्यालो भएसँगै हामीबीच पनि फोटो–भिडियो खिच्ने, हिउँसँग खेल्ने, आफन्त साथीभाइलाई हिमपातको दृश्य देखाउने क्रम चल्यो । तिलिचो पुग्न सकिन्न भन्ने निश्चित जस्तै भएपछि विदेशी तथा आन्तरिक पर्यटकहरु बेसक्याम्पबाट फर्किन सुरु गरे ।


प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले फोन गरेर तालमा नजान, हिउँमा अरुले बाटो बनाइसकेपछि पछ्याएर सुरक्षित भएर फर्किन सल्लाह दिनुभयो । मनाङ ङिस्याङ गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष च्योल्पा गुरुङ्गको होटल मुन लेकमा एकसय पचास रुपैयाँमा आधा लिटर तातो पानी र चारसय पचास रुपैयाँमा सुप खायौं ।
हिउँ पर्छ भन्ने अनुमान नभएका कारण हाम्रो टोलीमा एकजनाबाहेक कसैले पनि वाटर प्रुफ कपडा वा रेनकोट लिएका थिएनौं । बेसक्याम्पका पसलमा प्लाष्टिकका रेनकोट पाइँदा रहेछन् । तर, बिहानैदेखि माग बढेकाले विक्री भएर सकिएछन् । मैले २५ किलोग्राम चामल राख्ने बोरा लिएँ, कैचीले एउटा भागमा काटेर टाउकोसम्म जोगाउने उपाय निकालें । बेसक्याम्पका व्यवसायी तथा घोडाका हेरालुले हिउँ बढ्दै जाँदा खाङसार पुग्न कठिन हुने भएकाले छिटो जानुस् भनेर त्रास देखाए । यतिञ्जेलसम्म बेस क्याम्पका होटल ८० प्रतिशत रित्तिइसकेका थिए । बिहान ८ः३० बजे हाम्रो टोली तिलिचो लक्ष्यलाई बिट मारेर त्यहाँबाट टोली हिड्यो । खाङसार फर्किने बाटो कतै उकालो, कतै ओरालोमा लर्किदै, पछारिदै र तेर्सो बाटोमा घोडा तथा पदयात्रीले बनाएको बाटो पछ्याउँदै दुई फिट हाराहारीको जमेको हिउँ एवं लगातार परिरहेको हिमपातमा हाम्रो यात्रा जारी रह्यो । जुत्ता, मोजा, पञ्जा, ज्याकेट सबै भिजे । हिमपातमा मोबाइल जोगाउँदै फोटो, भिडियो खिच्दै हिंड्दा रमाइलो लाग्यो । जता हेर्यो उतै सेताम्य हिउँ । अघिल्लो दिनका फुस्रा र काला पहाड आज चाँदीझैं हिउँले टल्किएका ।
हिमपातमा पदयात्रा सुरु गरेको एक घण्टापछि भने त्रास थपियो । पदयात्राको अलि अफ्ठेरो ठाउँ भनेको बेसक्याम्पदेखि एक घण्टा तल ढुंगा खस्ने क्षेत्रमा जमेको हिउँको पहिरोले मभन्दा १५ मिटर अगाडि रहेकी एक युवतीलाई बगायो । बाटो माथिबाट खसेको ढिस्कोसँगै ५०(६० मिटर तल खसेकी उनले के उपाय लगाइन् कुन्नी, जुत्ता, लठ्ठी र झोलासँगै अड्किइन् । आँखै अगाडि देखिएको त्यस घटनाले पदयात्रीबीच कोलाहल मच्चियो, भागदौड सुरु भयो । त्यहाँ नअड्किएको भए उनी मस्र्याङ्दी नदीको उद्गममा पुग्थिन्, उद्वार असम्भव हुन्थ्यो, हिउँमा कठ्याङ्ग्रिएर ज्यान जान्थ्यो । पदयात्रा, त्यो पनि हिउँ र हिमपातमा, धेरै कठिन हुँदो रहेछ । पदयात्रीहरु उनलाई उद्वार गर्न चिच्याए, कतिपय त रोएका पनि थिए । स्थानीय व्यवसायीलाई कुनै पदयात्रीले खबर गरे, २० मिनेटपछि स्थानीय घोडा व्यवसायी तथा उद्वारकर्मीहरु डोरी लिएर दौडिदै आए । करिब आधा घण्टापछि उनको सकुशल उद्धार भयो । उनी भीरमा अड्किएपछि निस्कनका लागि गरेको संघर्षको सानो भिडियो क्वालिटीको नभएपनि मैले तत्कालै पोष्ट गरिदिएँ, ताकि त्यसको जानकारी सबैतिर होस् र उद्वारको लागि पहल होस् ।


त्यो घटनापछि भने हामी लगायत सबै पदयात्रीमा डर त्रास बढ्यो । बाटो निकै जोखिमपूर्ण थियो । थोरै बितल परे ज्यान जाने । उकालोओरालोमा लर्किएर पछारिंदै यात्रा जारी राखियो । मैले भिडियो क्लीप पोष्ट गरेलगत्तै हिउँबाट जोगाउन मोबाइल झोलामा राखें । यात्रा जारी थियो, तारन्तार मोबाइल बजिरह्यो । झोलाबाट मोबाइल झिकेर फोन रिसिभ गर्न सकिने अवस्था थिएन । यात्रा जारी राख्यौं । भोक, प्यास सबै हरायो । कतिखेर खाङसार पुगिएला र ज्यान बच्ला भन्ने भयो । मनमा कुरा खेलिरहे । कतै यतै मरिने पो हो कि ! हिमाली क्षेत्रमा लेक लागेर, हिमपहिरोमा परेर, बाटो बिराएर मृत्यु भएका खबर पढिन्थ्यो, आफ्नै खबर अरुले पढ्ने हुन् कि ! घरमा हिसाबकिताब बुझाएरै हिंड्नुपर्ने रहेछ भन्ने पनि लाग्यो । मनले के के सोच्दोरहेछ । टी हाउस पुगेपछि त्रास अलि कम भयो, ओत लागेर एक दुईवटा फोन उठाएँ । कपडा निथ्रुक्क भिजेका थिए । कठ्याँग्रिएका खाली हातले लौरो समात्न पनि नमिल्ने, भिजेकै भए पनि पञ्जा लगाएँ । टीमका सबै साथीहरु आइपुगे, त्यहाँ खानपिनतिर हामी लागेनौ, रोकिएनौं, हिडिरह्यौं । त्यसपछिको यात्रा पनि सहज थिएन । ओरालोमा चिप्लनु सामान्य जस्तै थियो । लौरोले बचाउन निकै मद्दत गर्दोरहेछ । विदेशी पदयात्रीहरु भने दुवै हातले लौरो टेक्दा रहेछन्, नेपाली पदयात्रीका एउटा हातमा मात्र थियो । कतिपय बिना लौरो पनि हिंडिरहेका थिए । गाउँघरमा उकाली ओराली, घाँसदाउरा गरेका हामीहरु हिमाली क्षेत्रको पदयात्रालाई केहीझैं मानेका रहेनछौं, तयारी केही रहेनछ भन्ने कुरा हिमपातमा हिंड्दा मात्रै थाहा भयो । करिब साढे पाँचघण्टाको हिमपातमा हिउँमाथि हिडेर करिब डेढ बजेतिर खाङ्सार पुगियो । लगाएका सबै कपडा लुछु्रप्पै भिजेका थिए । चिसोले हातखुट्टा कठ्याग्रिएर झमझमाइरहेका, लर्किएर पछारिँदा दुःखेको जीउ, तैपनि अब त बाँचियो भन्ने लाग्यो । झोलाभित्रको मोबाइल हेर्दा ५५ वटा मिसकल, म्यासेन्जर, ह्वाट्सएपमा पनि उत्ति कल, म्यासेज थिए, चिन्ताले खास आफन्त र शुभचिन्तकले गरेका । हिमपात सुरुसँगै बिजुली पनि गएको हुँदा मोबाइल चार्ज गर्न सकिएन, सबैलाई कलब्याक गर्न पनि सकिएन ।
खाङ्सार झरेपछि पनि खाना खान मन लागेन । थाकेर गलेको, रुझेको बिरालो जस्तै भइएछ । पार्किङ्ग गरिएका सवारीसाधनहरु हिउँले ढाकिएका थिए । बाटोमा जमेको हिउँले गाडी निकालेर चलाउन सकिने अवस्था छैन । सबैका झोलाहरु एउटा भरियालाई बोकाएर चामे झर्ने योजना बन्यो । हिमपात निरन्तर थियो । प्रजिअ पौड्यालसँग निरन्तर संवाद भइरहेको थियो । उहाँले बिहान चामे झर्न सुझाउनुभएको थियो । तर, दिउँसो बाटो खुलाउन डोजर खाङ्सारतर्फ आइरहेको र आफू पनि त्यतै आउन लागेको जानकारी दिनुभयो । त्यो खबरले हाम्रो खुशीको सीमा रहेन । हिंड्ने जाँगर पनि चलेन ।
३७४० मिटर उचाईको खाङसार होम नामको रेष्टुरेण्टमा तातो सुप र पानी खायौं । साँझसम्म बाटोको हिउँ सोहोरिने भएकाले यहाँबाट चामेतिर जान सकिने आशा पलायो । शिशिरलाई गाडी स्टार्ट गर्न पठायौं । गाडी सजिलै स्टार्ट भएको जानकारीपछि लुछुप्प भिजेका कपडा गाडीमै गएर फेर्यौं । बाटो खुल्ने आशामा गाडीभित्रै हिटर चलाएर चारघण्टा बस्यौं । झोलामा रहेका ड्राइफ्रुट खायौं । भुटेका मकै खुब मीठो भयो । बाटो खुल्ने आशामा कुर्दाकुर्दा साँझ पर्याे, बाटो खुल्ने सम्भावना भएन । हामी भएभन्दा करिब पाँचसय मिटरको दुरीसम्म आइपुगेको डोजरले हिउँ सफा गर्न सकेन । प्रजिअ पौडेलले वडाध्यक्ष च्योल्पा गुरुङ्गलाई बाटो सफा गर्ने र अलपत्र पर्यटकको उद्वार तथा बसोबासको व्यवस्था मिलाउन अनुरोध गर्नुभएको रहेछ । बाटो खुलाउन नसके पनि समाजसेवी गुरुङ्गले हामीलाई बसोबासको व्यवस्था मिलाउने हुनुभयो । स्थानीयका गुम्बामा खानपिन र तिलिचो आधारभूत विद्यालयमा सुत्ने व्यवस्था भयो । गुम्बाभित्र आगो बालिएको थियो, अध्यक्ष स्वयंले डोकोमा दाउरा ल्याएर थपिदिनुभयो । कतिपय साथीहरुले भिजेका कपडा सुकाए । हामीले भने गाडीमा थन्क्याएका थियौं । स्वयंसेवकहरुले तातो पानी, कफी खुवाए । न्यूज २४ टेलिभिजनका लागि प्रकाश न्यौपानेलाई छोटो अनुभव बताएँ । कान्तिपुर टिभीका पत्रकार रामकृष्ण भण्डारीले पाँच मिनेट जति अन्तर्वार्ता गरौं भन्नुभएको थियो । लाइन नभएकाले अध्यारो थियो, मैले जाँगर चलाइन, पछिपछि गरौंला भनें । गुम्बामा दाल, भात, बन्दा र सोयाबीनको तरकारी पाक्यो । तात्तातै खान सुरु भयो । चौरीको घिउसमेत दिएपछि हामीले मीठो मानीमानी खायौं । नमीठो भए पनि थपीथपी खानुहोस् है भनेर स्वयंसेवकहरुले भनिरहे । सुपोमा सुकाइएका अकबरे खुर्सानीले पिरोको स्वाद लिइयो । त्यसअघि स्थानीय स्वयंसेवकहरुले रागाँको मासु खानुहुन्छ भनेर सोधेका थिए । हामीले शाकाहारी खान्छौं भनेपछि हाम्रो टोलीभन्दा अरुले खान्छौं भन्न सकेनन् । सबैले त्यसैमा चित्त बुझाए । हाम्रो टोलीलाई जिउ तताउनुहुन्छ ? भनेर स्वयंसेवकहरुले लोकल मदिरा पिउन प्रस्ताव गरेका थिए, हामीले धन्यवाद भन्यौं । स्थानीयका घरघरमा गएर ओढ्नका लागि अध्यक्ष गुरुङ्ग आफैले कम्बल, सिरक जुटाउनुभयो । सुत्ने बेलामा राती १० बजेतिर हाम्रो टोलीलाई नमस्ते होटलमा दुईवटा कोठा मिलाइदिनुभयो । अटसपटस भएर सुतियो । राती ११ बजेतिर प्रजिअ पौड्यालले हाम्रो अवस्था, खाने, बस्ने प्रबन्ध लगायतका विषयमा जानकारी लिनुभयो । त्यतिञ्जेलसम्म प्रजिअसहितको टोली माथिल्लो मनाङमा अलपत्र परेका सातसय पर्यटकलाई स्थानीय होमस्टे, सामूदायिक भवन र घरघरमा बस्ने प्रबन्ध मिलाउन खटिइरहेको रहेछ । सुत्ने बेलासम्म पनि हिमपात रोकिएको थिएन ।


बिहान ३ बजेदेखि नै निद्राले छाड्दा भर्खर हिमपात रोकिएको थियो । त्यसै त म कम सुत्ने मान्छे, अझ यो चिसो ठाउँ, कष्टकर यात्रा । मनभरी कुरा खेलिरहे । कसरी फर्किने ? तिलिचो पुग्ने लक्ष्य पुरा भएको छैन । मौसम विभागको चेतावनी हुँदाहुँदै किन गएको भनेर साथीहरुले फोन गर्छन् । श्रीमती गीताले हरेक दिन बिहान समाचार अपडेट हुन्छिन् । हामी हिंड्ने अघिल्लो दिन हिमपात हुन्छ रे, नजानु भनेकी थिइन् । मैले टीम छ जे त होला भनेर सम्झाएको थिएँ । हिमपात हुन सक्ने चेतावनीका बाबजुद हिमाली क्षेत्रको पदयात्रामा निस्कनु हाम्रै कमजोरी थियो । निकै हल्का रुपमा लिइएछ र बिना तयारी आइएछ भन्ने कुरा हामी सबैलाई महसुस भयो । उज्यालो भयो, के गर्ने कसो गर्ने अलमलमा परियो । पिउनका लागि तातो पानी थिएन । अगाडिको खाङ्सार होम रेष्टुरेण्टमा श्री रायमाझी, मोहन र म गर्यौं । औषधी खानु छ भनेर एक–एक कप पानी माग्यौं । कालो चिया अर्डर गर्याैं । रेष्टुरेण्टमा भीड थियो, हामीले पानी खाएका कपभित्र लगेर नधोइ चिया हालिन्, मैले देखें । साथीहरुलाई बताएँ पनि । हाम्रा कप साटिएका थिए । मलाई जुठो खान सिक सिक लाग्यो, नखाइ पनि भएन । यहाँको चलन यस्तै रहेछ भन्ने बुझियो ।
फोटो खिच्दा र फोन सम्पर्क गर्दा मोबाईलको चार्ज सकियो । स्थानीय मासु व्यवसायीले फ्रिज चलाउन सानो जेनेरेटर चलाएका थिए, उनलाई अनुरोध गरेपछि मोबाईल चार्ज गर्न दिए । म मोबाईल चार्जतिर लागें साथीहरु खाजातिर । पछि मैले पनि खाजा खाएँ । हुन त अघिल्लो रात गुम्बामा चिया र फ्राई राईस खान बोलाएका थिए । तर, हामी गएनौं । सिडियो सापलाई मैले फोन गरें, जेसीभी हिउँ सोहोर्न हिंडिसकेको र आफूहरु पनि आइरहेको बताउनुभयो । हिजोको चाल हुन्छ कि भनेर हामीले हिंड्ने निधो गर्यौं । लगाएकाबाहेक अरु ओभाना कपडा थिएनन् । चिसा कपडासहितको झोला गाडीमा छाड्यौं । चालक भाइ शिरिर गाडी कुरेर बसे, उनलाई मोहनले साथ दिने भए । ६ जनाको टोलीको हिउँमा पदयात्रा सुरु भयो । हामीले गाडी हिंड्ने बाटो छोडेर पदयात्राको बाटो रोज्यौं, जुन अलि छोटो थियो । तर, हिउँले जुत्ता मोजा भिजे । मोजा लगाएपछि प्लाष्टिकले बेरेर जुत्ता लगाएका थियौं, यद्यपि हिउँमा भसकभसक टेक्दा खुट्टा गड्ने नै भए । यतिखेर चरक्क घाम लागेको र हिउँ पग्लिन सुरु भइसकेको थियो । घाम लागेपछि हिउँ टल्किएर खाली आँखाले हेर्नै नसकिने हुँदो रहेछ । त्यसैकारण पनि हिमाल चढ्दा कालो चश्मा अनिवार्य हुँदो रहेछ । लड्दै उठ्दै, फोटो खिच्दै रमाउँदै करिब तीनघण्टा जति हिंडेपछि हामी मोटरबाटोमा झर्यौं । बाटोमा अगाडि बढिरहेका थियौं, बाटो सोहोर्दै जेसीभी आइपुग्यो । लगत्तै सिडियो पौड्यालको नेतृत्वमा चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर घलेसहित सशस्त्र प्रहरी प्रमुखसहितको टोली उद्वारका लागि खाङ्सारतिर आउँदै हुनुहुन्थ्यो, हामीलाई देखेर गाडी रोक्नुभयो । प्रजिअ पौड्याल र चामेका अध्यक्ष घलेको हिमपातमा फसेका पर्यटकको उद्वार पहलका विषयमा अन्तर्वार्ता लिइयो, फोटो खिचाइयो । प्रजिअले हामीलाई एक–दुई घण्टाभित्रै बाटो सफा भई अड्किएका गाडी निस्कने भएकाले केही पर रहेको होटलमा बस्न सुझाव दिनुभयो ।
हामी हिमालपारीको क्याफे नामको रेष्टुरेण्ट पुग्यौं । चिसो भएकाले सुप मगायौं, भेज फ्राइ राईस अर्डर गर्यौं । हिमाली क्षेत्रमा लेक लाग्नबाट बच्न सुप खाइरहनु पर्नेरेहछ । त्यही क्याफेमा मोबाईल पनि चार्ज गर्यौं । क्याफे नजिकै मनमोहक ताल रहेछ । हिमालको काखमा रहेको त्यो तालमा पुग्न आधा घण्टाभन्दा बढी लाग्ने भएकाले खासै जाँगर चलेन । खाना तयार नहुँदै गाडी आइपुग्यो । पछाडिको एउटा टायर पञ्चर रहेछ, फेर्न लगायौं । झोला मिलाइयो । खाना खाएपछि गाडीमा बस्यौं । ३२ घण्टादेखि हिउँसँगको पौठेजोरीपछि सुरु भएको यात्रासँगै खुशीको सीमा रहेन । मौसम विज्ञान विभागले मोन्था आँधीका कारण हिमपात र वर्षाको चेतावनी दिइसकेको थियो । जसले गर्दा बाटोमा रोक्ने, किनमेल गर्ने वा चिया खाजा खाने केही गरिएन, सबैलाई कतिखेर सुरक्षित ठाउँमा पुगौंला भएको थियो । प्रजिअ पौड्याललाई धन्यवाद र तिलिचो लक्ष्य फेरी पुरा गर्ने वाचासहित हिउँ र पानीले बिगारेको चिफ्लो बाटोमा झ्याक्किदै रातको ९ः३० मा बेशीशहर पुगियो ।
मनाङ जानुपूर्व बेशीशहरमा खाना खाएकै होटलमा अर्डर गरिसकेका थियौं । टीमका मोटरसाईकलयात्री विक्रम थापा जाने क्रममै माथिल्लो मनाङमा लेक लागेपछि फर्किएकाले अजय सुवेदी एक घण्टाअघि नै बेशीशहर पुगिसक्नुभएको थियो । हामी पुगेपछि सँगै खाना खायौं । मस्र्याङ्दी नदीका तिख्खर माछाको झोल, कोइरालो र सिमलीगानको अचार । जाँदा खेरि खाएको जस्तो स्वाद त थिएन यसपटक । मनाङबाट उद्वारपछि फर्किएका पदयात्रीले खचाखच भएर होला, खानाको गुणस्तर केही खस्किएको । बेशीशहरमा बस्न कोठा थिएनन् । जहाँ पुगिन्छ, त्यहिसम्म जाने भनेर हिंडेका हामीहरु चालक शिशिरलाई निद्रा लाग्ने रोक्ने, चिया, कफी, आइसक्रिम जे–जे खान मन लाग्छ खाने गरी चलाउन भन्यौ । उनले रातभरी गाडी चलाएर बिहान घरमै पुर्याए । हिजोसाँझ आज त बेशीशहरमै बसिन्छ होला भनेर घरमा खबर गरेका थियौं, अकस्मात घरै झुल्किंदा सपना जस्तै लागेछ श्रीमतीजीलाई ।


हाम्रो यात्रा कार्तिक ९ गते आइतबार विहान ४ बजे भैरहवाबाट सुरु भएको थियो । पाल्पाको पिपलडाँडामा खाजा खाएर कालीगण्डकी कोरिडोरको बाटो हानिएका थियौं । निर्मल र पवित्र कालीगण्डकीको किनारैकिनार कोरिडोरको बाटो, लटरम्म फलेका धान खेत, आँगनैभरी फूलेका सयपत्री र आसपासका वस्ती लोभलाग्दा थिए । भर्खरै तिहार पर्व भएकाले घरमा टाँगिएका झिलीमिली, चिटिक्क सिंगारिएका घरबस्ती । तर, पहाडका बस्ती रित्तिदै गर्दा कोरिडोरको बाटो र पूर्वाधार विकास भएकोले सुविधाअनुसारको घना वस्ती भने थिएन । रामपुर, बेझाड, भीमाद हुँदै पृथ्वी राजमार्गमा निस्कियौं । भिमादमा चिया खाएका थियौं । दिउँसो १ बजेतिर बेशीशहर पुगियो । खानापहिले नै अर्डर गरिएकाले खाइवरी आवश्यक अन्य सामान किनेर दिउँसो ३ बजेतिर चामेका लागि उकालो यात्रा सुरु भयो । बाटोमा हामखोला झरनामा रोकेर मनोरञ्जन लियौं । मस्याङ्दी नदीको किनारैकिनार, बीचबीचमा बस्ती, झरनाहरु, निर्माणाधिन जलविद्युत परियोजनाहरु रमाइलो थियो । एक–दुई ठाउँमाबाहेक बाटो सोेंचेभन्दा सहज रहेछ । चर्चित अक्टोपस झरनामा भने हामी फर्किंदा रमाउने भनेर रोकिएनौं । फर्किदा राती भएकाले त्यसलाई नजिकबाट नियाल्ने रहर अधुरै रह्यो ।
साँझको ७ बजेतिर चामे पुगियो । प्रवेशद्वार नजिकै गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर घलेको होटल घले दरबारमा कोठा बुक गरिएको थियो । मोटरसाईकलमा गएका अजय र विक्रमलाई भने त्यहाँ बस्न कोठा पाइएन, अरु होटल खोज्नुपर्यो । चिसो मौसम, तातो र स्वादिष्ट खाना मज्जाले खाइयो । त्यही होटलमै प्रजिअ नवराज पौड्यालसँग भेट भयो ।
सिद्धार्थनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका मिलनसार पौडेलसँग भेटघाट र गफगाफपछि सुत्न कोठातर्फ लाग्यौं । बिहान ६ बजे नै निस्कने भएकाले खाजा अर्डर गर्यौं । निर्धारित समयमै सबैजना उठियो । अत्यधिक चिसो पानी भएकाले बिहानका नित्य कर्म पुरा गरेर रेष्टुरेण्टतिर लाग्यौं । अध्यक्ष घले व्यक्तिगत कामले चितवनतिर लाग्नुभएको रहेछ । केही वर्षअघि आएको बाढीले होटल, घर सबै बगाइदिएपछि घले दरबार नामको नयाँ होटल बनाउनुभएको रहेछ । अध्यक्षकै श्रीमती आफै फापरको रोटी र तरकारी बनाउन आफै किचनमा व्यस्त हुनुहुन्थ्यो । मैले अनुमति लिएर एक क्लीप फोटो खिचें ।
चामेदेखि अगाडि मनाङका प्राकृतिक सुन्दरता, स्याउ बगैचा, च्यांग्राको बथान, बस्तीलगायत सुन्दर दृश्यावलोकन गर्दै हाम्रो यात्रा जारी रह्यो । बाटोमा पदयात्रामा रहेका पर्यटकको ताती थियो । स्याउबारी, चिटिक्क परेका घर, अनकन्टार भीर, टुप्पोमा हिउँको टोपी लगाएका काला पहाड रोमाञ्चक थियो ठाउँ । हुम्डे ईलाका प्रहरी कार्यालय कटेपछि निलो ताल (ब्लु लेक) मा पुगियो । त्यहाँ घुम्ने र फोटो खिच्ने पर्यटकको भीड थियो । केहीबेर रमाएर हाम्रो यात्रा जारी रह्यो । अब खाङ्सार पुगेपछि मात्र गाडी रोक्ने गरी हिंड्यौं । १० बजेतिर खाङ्सार पुगेपछि गाडी पार्किङ्गमा राख्यौं । चालक शिशिर पनि पदयात्रामा जाने भए । उनले गाडी पार्किङ्गमा राखे । ९ जनाको टीम आ(आफ्ना पोका पन्तुरा बोकेर उकालियौं ।
करिब दुई घण्टापछि तल्लो श्रीखर्क पुगियो । बाटैभरी चकलेट, चुइगम, पानी, कोक खाँदै हाँसो ठट्टा, फर्किनेसँग वार्तालाप गर्दै आएका थियौं । श्रीखर्कको रेष्टुरेण्टमा खानाको असाध्यै भीड थियो । एक दिनमा पाँचसय जतिले खाना खान्छन् भन्थे कर्मचारीहरु । हामीले पनि त्यही खाना खायौं । खाना खाएर एकछिन आराम गर्यौं । चामेमा मेरो ज्याकेटको चेन बिग्रिएर तनाव भएको थियो । त्यही आराम गरेका बेला किचनबाट छुरी मागेर बनाएँ, धन्न काम चल्ने भयो । यहाँको होटलले एक वर्षमा १३ करोड नाफा गरेको कुरा पनि कर्मचारीबाट थाहा पायौं । हामी लुम्बिनीबाट आएका हौं, लुम्बिनी आउनु भएको छ कि छैन भनेर नजिकिन खोज्यौं, उद्देश्य तातो पानी माग्नुथियो । यहाँ प्रायः बुद्ध धर्मावलम्बीहरु छन् । लुम्बिनी भनेपछि मात्रै किचनबाट तातो पानी पायौं, लुम्बिनीको नाम बिक्यो, हामी पनि खुशी भयौं । अब भने यात्रा सुरु भयो । एक घण्टापछि उपल्लो श्रीखर्क पुगियो । त्यहाँ भने हामी रोकिएनौं । एकछिन हिडेपछि स्याँस्याँ हुने, तातो पानी, कोक, चकलेट, चुइगम जस्ता पदार्थ चपाउँदै यात्रा जारी रह्यो । त्यसको एक घण्टापछि टी हाउस भन्ने ठाउँमा पुगियो, जहाँ एउटा मात्र चिया पसल थियो । हामीले अदुवा, मह हालेको चिया अर्डर गर्यौं । ३ सय रुपैयाँ कपको चिया खासै मीठो थिएन । मैले झोलाबाट दुई दाना कागती निकालेर चियामा निचोर्न लगाएको थिएँ । सञ्चालकले पाउडर हालिसकेको बताए । उनले कागती मागेर गोजीमा राखे ।
टी हाउस पुग्ने बेलामा बाटो अफ्ठयारो र जोखिमपूर्ण थियो । त्यसपछि पनि बाटो अफ्ठेरै रहेछ । ढुंगा खसिरहने डरलाग्दो क्षेत्र हामीले पार गर्नुपर्ने थियो । माथि भिरमा नाउर चरिरहेका थिए । घोडा र पैदलयात्रीले जाम लाग्ने ठाउँ थियो यो । विस्तारैविस्तारै झोलाका खाद्यपदार्थ चपाउँदै यात्रा जारी रह्यो । करिब दुई घण्टापछि पाँच बजेतिर बेसक्याम्प नजिक पुगियो । बेस क्याम्पमा थेगिनसक्नु पर्यटक थिए । विदेशी पर्यटकहरु पहिल्यै होटल बुक गरेर पुगेकाले उनीहरुलाई समस्या थिएन । आन्तरिक पर्यटकहरु भने त्यही पुगेर कोठा खोज्ने हुँदा समस्या पर्दो रहेछ । हामीले मुन लेक होटलमा दुईवटा कोठा बुक गरेका थियौं । तीन–तीन बेडका दुई कोठामध्ये एउटामा दुई बेड जोडेर तीन जना सुत्ने भए भने शिशिर र अजयले अर्को होटल खोजे ।
सुत्ने व्यवस्था भएपछि हामी स्वास्थ्य चौकी पुग्यौं । खाङ्सारमा पनि स्वास्थ्य परीक्षण गरिएको थियो । लेक नलाग्ने औषधि चामेबाटै सुरु गरेका थियौं । दुवै ठाउँमा प्रेसर १४०(१०० देखियो । अक्सिजन लेवल र मुटुको धड्कन ठीक देखियो । अभाव र समस्यामा पनि राम्रैसँग पालनपोषण गरी हुर्काउनु भएकोले स्वास्थ्य अवस्था राम्रो देखिएकोमा बैकुण्ठबासी आमालाई नमन गरें । घुँडाको लिगामेन्ट च्यातिएको हुँदा हिंड्दा समस्या भएको थियो । बाजुरा घर भएका हेल्थ असिस्टेण्टले गरम पट्टी दिए । अत्याधिक टाउको दुखेकाले ब्रुफिन र सिटामोल लिएँ । अरु साथीहरुको पनि स्वास्थ्य अवस्था राम्रो देखियो । तिलिचो पुगिनेमा ढुक्क भयौं । यतिखेरै प्रजिअ पौड्यालले फोन गरेर हिमपातको जोखिम छ माथि जान त के हुन्छ खोई, सूचना जारी गर्न लागेको छु भनेर जानकारी गराएपछि भने मनमा चिसो पस्यो ।
होटलहरु सबै खचाखच छन् । कोठा नपाउनेहरु डाइनिङ्ग टेबुलमा सुत्ने व्यवस्था मिलाएका छन् । हामीले खाना खायौं र कोठातिर लाग्यौं । साँझ ७ बजेतिर फुसफुस हिउँका कण देखिए । ला ! अब के हुने हो भन्ने भयो । बिहान ३ बजे उठेर पदयात्रा सुरु गर्ने तयारीका साथ दिनभरीको थकाइले चाँडै सुत्यौ ।









