भैरहवा । प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा संघीय निर्वाचन लक्षित चुनाव प्रचार–प्रसार कार्यालय शुभारम्भ गरेको छ ।
भैरहवाको लुम्बिनीरोडमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवारद्वय रबिना भण्डारी र बिमला बिकको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ३ का इन्चार्जसमेत रहनुभएका उम्मेदवारद्वय बिक र भण्डारीले संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश विज्ञ परिषद् सदस्य मुरारीलाल अग्रवाल प्रमुख अतिथि तथा रुपन्देही जिल्ला सचिव समीर चापागाईं विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथि अग्रवालले रिबन काटेर कार्यालयको औपचारिक शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा वक्ताहरूले आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह आँखामा मतदान गर्न मतदातालाई आग्रह गरेका थिए । साथै उम्मेदवारद्वय बिमला बिक र रबिना भण्डारीलाई विजयी बनाउन घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पार्टीका सिद्धार्थनगर नगर अध्यक्ष परिषद् सदस्य एन्जिला केसी, दिलकुमारी लगायतका नेताहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी अतिथिहरू तथा कार्यकर्ताहरूलाई स्वागत तथा कार्यक्रमको सञ्चालन शोभाकान्त नेपालले गर्नुभएको थियो ।









